लुम्बिनी कांग्रेस सभापतिका लागि भरत शाह र अमर पुन भिड्ने – Nepal Press

लुम्बिनी कांग्रेस सभापतिका लागि भरत शाह र अमर पुन भिड्ने

रुपन्देही । नेपाली कांग्रेसको संस्थापन समूहबाट लुम्बिनी प्रदेश सभापतिमा भरतकुमार शाहले उम्मेदारी घोषणा गरेका छन् । संस्थापन इतरबाट यसअघि नै अमर पुनले दावेदारी पेश गरिसकेका छन् ।

कांग्रेस रुपन्देही सभापति रामकृष्ण खाँणले संंस्थापन समूहबाट शाहको उम्मेदारी रहने सहमति भएको बताए । रुपन्देहीको क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सांसद रहेका शाह संघीय लेखा समितिका सभापतिसमेत हुन् ।

मंसीर २४–२६ सम्म नेपाली कांग्रेसको १४औं महाधिवेशन हुँदैछ । त्यसका लागि मंसीर १८ मा सातै प्रदेशमा अधिवेशन हुँदैछ । मंसिर १७ मा प्रदेश सभापतिका लागि उम्मेदवारी मनोनयन दर्ता गर्ने निर्वाचन कार्यतालिका छ ।

प्रदेश अधिवेशनमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षले प्यानलसहित उम्मदेवारी दिने तयारी गरेको बताइन्छ ।

संस्थापन इतरबाट उम्मेदवारी दिने बताएका नेता पुनले आफ्नो समूहबाट धेरै पहिले नै सर्वसम्मतरुपमा आफ्नो उम्मेदारी घोषणा गरेको र जितसमेत सुनिश्चित रहेको बताए ।

लुम्बिनी प्रदेशमा निर्वाचित महाधिवेशन प्रतिनिधि करिब ६५ प्रतिशत आफ्नो समूहका रहेको उनको दावी छ । महामन्त्रीका लागि यो समूहबाट ५ जना आकांक्षी रहेका छन् । नेता पुनले सुरेन्द्रराज आचार्य, शंकर गिरी, विक्रम खनाल, विष्णु मुस्कान र भुवन श्रेष्ठले महामन्त्रीमा आकांक्षा राखेको र उनीहरुमध्येबाट २ जनालाई सर्वसम्मत रुपमा टुंगो लगाउने बताए ।

संस्थापन समूहबाट भने अहिलेसम्म महामन्त्रीको उम्मेदार फाइनल गरिएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर