पीडा भुलाउने कपुचेको सौन्दर्य – Nepal Press
ट्राभल ब्लग

पीडा भुलाउने कपुचेको सौन्दर्य

घुमफिरमा सौखिन म । नयाँ ठाउँ घुम्दा देखिने दृश्य मात्रै होइन, भेटिएका पात्र र परिवेशले धेरै कुरा सिकाउँछ । कतिपय यात्रा कष्टप्रद पनि हुन्छ, तर ती कष्टले सुन्दर शिक्षा दिन्छन् ।

हो, घुम्ने रहर पूरा गर्न हामीले दसैं बिदालाई सदुपयोग गर्ने योजना बनायौं । मन मिल्ने सातजनाको समूह दसैंको टीका लगाएर ९ दिनका लागि कोरीको यात्रामा निस्कियौं ।

काठमाडौं र अन्य भूगोलबाट आएका सबै साथीको भेट पोखरामा भयो । हामी एक दिन पोखरा कोरी यात्राका लागि निस्कियौं । मौसम बिग्रिएको थियो । मौसमका कारण यात्रा खलबलिने खतराबीच हामी बिहान सात बजे पोखराको सिर्जना चोकबाट जिप चढेर काउखोला र विजय खोला हुँदै सिक्लेसतिर लाग्यौं ।

पहाडको भिरालो अनि कच्ची सडक । अलिअलि डरबीच साथीभाइसँग हाँसखेल, ठट्टा, मजाक गर्दै यात्रा गर्नुको आनन्द बेग्लै थियो ।

६ घण्टाको यात्रापछि सिक्लेस पुग्यौं । सिक्लेसपछिको हाम्रो यात्रा पैदल थियो । मौसममा आएको खराबी हाम्रो चिन्ताको विषय थियो ।

एकजना स्थानीयले हामीलाई ताङतिङहुँदै कोरी जान छिटो र सहज हुने सुझाव दिए । तर एकजना साथीले कोरी जान मौसमले साथ नदिने खतरा भएकाले कपुचे जाने योजना सुनाए । मौसममा सुधार आए फेरि फर्किएर कोरी जान सकिने उनको तर्क थियो ।

त्यसैअनुसार हामी कपुचेका लागि अघि बढ्यौं । सिक्लेसबाट उता मोबाइलको नेटवर्क नटिप्ने रहेछ । हामी सबैले घरमा फोन गरेर स्थितिको बारेमा बतायौं । र, लाग्यौं, कपुचेतिर ।

पानी परिरहेको छ । सबैले प्लास्टिक आडेका छौं । बाटो चिप्लो छ । जुका लागिरहेछ, उतिकै । तर त्यसबीच पनि हरियाली जंगल, छङछङ झरेका झरना, चराको चिरबिरले अफ्ठेरो यात्रा पनि रोमाञ्चक लागिरहेको थियो ।

बाटोमा कपुचे पुगेर फर्केकाहरु भेटिन्थे । उनीहरु भन्थे– बाटो एकदमै अफ्ठेरो छ । हुगुमा नपुगी बास बस्ने ठाउँ छैन । हुगुमा पनि बास बस्नका लागि एउटा गोठ मात्रै छ । त्यहाँ बास मागेर बस्न सकिन्छ ।

हिँडिरहेका छौं, निरन्तर । पानी रोकिने छाँट छैन । रै त पनि भाइरल गीत ‘मे पानी पानी होगयी’ गाउँदै हिँडिरह्यौं । करिब तीन घण्टाको हिँडाइपछि हामीले बास बस्ने गोठ देख्यौं, र गयौं गोठसम्म ।

त्यहाँ हामीभन्दा अघि नै अरु दुईजनाले बास मागिसक्नु भएको छ । अब उक्त गोठमा बस्ने नौजना हुने भयौं । नौजनाका लागि ठाउँ नपुग्ने बताए, गोठधनीले । हामीले निकै आग्रह गरेपछि जसोतसो त्यहीं बास बस्ने निधो भयो ।

घना जंगलबीचको गोठ । जुका आतंक उतिकै । निथ्रुक्क भिजेको शरीर । जे भए पनि हामी त्यसभित्रै आनन्द खोजिरहेका थियौं । खुसी कसैले दिँदैन, आफैंले लिनुपर्छ भन्ने मान्यताका साथ हामी जस्तो छ, त्यस्तै वातावरणमा घुलमिल हुने प्रयास गरिरहेका थियौं ।

अँगेनुमा आगो ताप्दै गर्दा थाहा भयो, ती दुईजना साथी छुटेर उक्त गोठमा बसेका रहेछन् । उनीहरु चिन्तित थिए । उनीहरुलाई हामीले सान्तोना दियौं । उनीहरुबाट छुटेको साथी केटी रहिछन् । यस्तो घना जंगलको बाटोमा एउटी केटी एक्लै कसरी हिँडिरहेकी होलिन् ? भन्ने चिन्ता हामीलाई पनि भयो ।

गोठमा शौचालय थिएन । बाहिर निस्कनेबित्तिकै जुकाले आक्रमण गर्ने निश्चित थियो । कम्तिमा दिशापिसाब नलागोस् भन्ने कामना गर्दै बस्यौं । ग

गोठका दाइले हामीलाई दाल, भात र लेकाली सीमीको तरकार बनाएर खुवाउनु भयो । खाना खान पाइन्छ भन्ने आशै नगरेका हामी खान पाउँदा निकै खुसी भयौं । दाइ अत्यन्तै दयालु र मिजासिलो हुनुहुँदो रहेछ ।

तातो खाना खाएर हामी खर र म्याट विच्छ्याएर ढल्यौं । निद्राभन्दा डर बढी लागिरहेको थियो ।

एकबेला झुपुक्क निदाएछौं । बिहानीपख चिसो सिरेटोले हामीलाई ब्युझायो । फेरि अँगेनातिर आगो ताप्न थाल्यौं । गोठका दाइले चिया पकाउनु भयो । चिया पिएर ती दाइप्रति आभार प्रकट गर्दै हामी कपुचेको यात्रामा निस्कियौं ।

पानी पर्न रोकिएको थियो । मौसम खुल्दै थियो । हामी थोरै भए पनि खुसी भयौं । तर बाटोको चिप्लोपन घटेको थिएन । तर सुन्दर प्राकृतिक छँटाको दृश्यावलोकनले कठिन यात्रा पनि रोचक थियो । यस्तो लाग्थ्यो, प्राकिृतक सुन्दरता फोटोमा हेर्नु र आफैंले अनुभव गर्नुमा आकाश पातालको फरक हुने रहेछ । त्यसैले त भन्ने गरिन्छ, ‘घुमेका दुई खुट्टाले सयौँ किताब पढेका आँखालाई हराइदिन्छ ।’

बाटो चिप्लो भनेर हुगुबाटै फर्किएका धेरै भेट्यौँ । मनमा एकतिर पुग्न सकिँदैन कि भन्ने पनि भयो तर जे होस् आधि बाटोबाट नफर्किने हाम्रो अठोट थियो । हामीले फर्किनेको हुलमा हाम्रो गोठमा बसेका अर्को टोलीको साथीलाई पनि भेट्यौँ । हामीले उसलाई फेरि आधि बाटोबाट फर्काएर कपुचेतिरै लिएर गयौँ । हुगु पुग्नै लाग्दा मौसम थोरै खुल्यो र अलिकति हिमाल देखियो । हामी कति खुसी भयौं, त्यो शब्दमा बयान गर्न कठिन छ ।

त्यहाँबाट करिब ५ घण्टा हिँडेर हुगु पुग्यौँ । मौसम बिग्रिने खुल्ने क्रम जारी थियो । चिसो मौसममा तातो खाना । अरुबेला खानेभन्दा दोब्बर खाएर हामी कपुचेमा बास बस्न पुग्ने योजनामा हिड्यौँ । हामी थकित भैसकेका थियौँ

फेरि पानी पर्यो । प्लास्किट आडयौं । करिब ३ घण्टा चिप्लो उकालो बाटो हिँडेपछि हामी कपुचे लेक नजिकै बस्ने ठाउँमा पुग्यौँ ।

इदीको गोठभन्दा व्यवस्थित थियो त्ययहाँ । ठूलो कुरा जुका लाग्दैन थियो । हामी फेरि चिसो लुगा फेरेर आगो भएतिरै लाग्यौँ । लगभग साँझ परेको थियो । होटलका दाइले चिया दिनुभयो । चिया खाँदै भिजेका जुत्ता, कपडा, झोला आगोमा सेकाउन थाल्यौँ ।

हामी कपुचे पुगेको रात पूर्णिमा थियो । आकाश अलि उघ्रिएको थियो । तारा देखिन थालेका थिया । पूर्णिमाको जुनको प्रकाश हिमालमा ठोक्किएको थियो । जुन दृश्य अवर्णनीय सुन्दर थियो । त्यसपछि हामी बाटोमा पाएका सबै दुख विर्सिएर नाच्न थाल्यौं ।

बाटोमा भेटिएका अर्को टोलीका तीनजना हाम्रो टोलीका सात जना । हामी इदी गोठबाट त्यहाँ पुग्दा एउटा परिवार जस्तै भएका थियौँ । खाना खाएर दुखेका खुट्टामा तेल लगाउँदै रमाइलो गफ गर्र्दै हामी आगो तापेर केहीबेर बस्यौँ । हामी त्यहाँपुग्दा कोरी नजानेनै भइसकेका थियौँ र अन्तिम गन्तव्य कपुचे हिमताललाई बनाइसकेका थियौँ ।

हामी बसेको ठाउँबाट कपुचे करिब पाँच मिनेटको दूरिमा थियो । बिहानै उठ्दा मौसम खुलेको थियो । हिमाल छर्लङ्ग देखिएको थियो तर हिँउ थिएन । मौसम जतिबेला पनि बिग्रिन सक्थ्यो । हतार हतार उठेर हामी कोही नेपालको झण्डा बोकेर, कोही सारी र गाउन बोकेर कपुचेतिर लाग्यौँ । सारी, गाउन लगाएर फोटो खिच्ने हाम्रो टोलीका केही साथीको रहर थियो । केहीको झण्डा फरफराएर फोटो खिच्ने रहर ।

हामी गन्तव्यमा पुग्यौं । नीलो ताल हेर्ने हाम्रो रहर चाहिँ पूरा हुन सकेन । किनकि लगातार पानि परेकाले ताल धमिलो भएको थियो । तर त्यहाँ पुग्दा तालको पानी जति धमिलो भएपनि यात्राको थकान मेटिने आनन्द मिलेको थियो । हामी असाध्यै रमायौँ । फोटो खिच्यौँ, अहिलेको ट्रेन्ड टिकटक बनाउनै पर्यो ।

हामी पुगेको १०–१५ मिनेट खुलेको मौसम फेरि हिमालमा बादल लागेर बिग्रिन थाल्यो । १५ मिनेट भएपनि मज्जाले त्यहाँ बसेर आनन्द लियौँ र हामी ‘बाईबाई’ कपुचे भन्दै होटल फर्कियौँ ।

बाटोमा पाएको दुख सबै मेटिइसकेको थियो । हामी होटलमा चिया खएर फेरि हुगुतिर झर्यौँ । चिप्लो ओरालो बाटो, धन्न पानी परेको थिएन । बाटो आसपासका बिरुवा समात्दै र लठ्ठी टेक्दै, कहिँकतै लड्दै हामी हुगु पुग्यौँ । त्यहाँ खाना खाएर फेरि हामी सिकलेसतिर अघि बड्यौँ ।

फकिँदै गर्दा मनमा छुट्टै आनन्द थियो । हाम्रो हिँड्ने गति अलि कम भएको थियो । किनकि, हामी सबै थाकेका थियौँ ।

फर्कँदा पनि हामीले इदि गोठका दाइलाई ‘धन्यवाद’ भन्यौं । झरी रोकिएको थिएन । प्लास्टिक ओडेरै रातको आठ बजेतिर सिकलेस पुग्यौँ ।तीन दिनदेखि अफ भएको मोबाइल अन गरेर सबैले घरमा फोन गर्यौं । त्यो रात सिकलेस नै बसेर हामी भोलिपल्ट जिपमार्फत् पोखरा आयौं ।
लगातारको झरीले बाटोमा पहिरो खसेको रहेछ । दुईओटा गाडी फेरेर पोखरा पुग्यौँ । त्यसपछि हामी आ–आफ्नो घरतर्फ लाग्यौं । म काठमाडौं आएँ ।

कपुचेसम्मको त्यो यात्रा जिन्दगीभर स्मरणीय हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *