जब जीवनले आफ्नै आँगनमा मदन भण्डारी भेटे (भिडिओसहित)
‘सर एकैछिन यता आउनुहोस् त, कुरा गर्नु छ’ मधुसुधनले जीवनलाई बोलाए ।
‘के कुरा हो भन्नुहोस् न’
‘माओत्से तुङका बारेमा तपाईंसँग पुस्तक छ रे, मलाई दिनुस् न’
आफूसँग भएका केही पुस्तक जीवन राईले मधुसुधनलाई बुझाए ।
‘योबारेमा तपाईंसँग थप छलफल गर्नु छ’ मधुसुदनले फेरि जीवनसँग भने ।
‘गरौंला नि !’ जीवनको जवाफ ।
आफ्नो संक्षिप्त जवाफले मधुसुधनको मनमा ठेस लागेको जस्तो आभास भयो जीवनलाई ।
‘तपाईंभन्दा अलि बढी बुझेका मान्छेलाई ल्याउनुहोस् न, म बुझाउँछु नि !’
जीवनले मधुसुधनलाई सार बुझाउन नसक्ने भएपछि केही बुझेको मान्छेलाई बुझाउने र उसले मधुसुधनलाई बुझाउने योजना बनाए ।
‘हुन्छ म एक जना कमरेडलाई तपाईंसँग भेटाउँछु’ मधुसुदन फर्किए ।
केही दिनपछि ढाकाको कालो टोपी र हाफ पाइन्ट लगाएका एक व्यक्ति जीवनको घरमा पुगे । जीवनको मुटुमा चिसो पस्यो ।
उनले आफूले लगाएको कालो ढाकाको टोपी देखाउँदै भने ‘यस्तै कालो टोपी थियो ट्याकसँगले लगाएको जुँगा पाल्नु भएको, प्रहरीको हल्दार, सइ जस्तो, खरदार बैदार हो कि जस्तो । चट्ट हाफ पाइन्ट लगाउनु भएको थियो । पछि थाहा भयो उहाँ त मदन भण्डारी हुनुहुँदो रहेछ ।’
मधुसुदनले एक जना अलि कम्युनिस्ट बुझेको व्यक्ति लिएर आउँछु भनेका थिए । उनले जीवनको घरमा त मदन भण्डारीले लिएर पुगेछन् ।
२०३३ साल असारमा पहिलोपटक मदनसँग मदुमल्लामा जीवनको भेट भयो ।
उनीहरू बीच लामो वैचारिक संवाद चल्यो । दर्शनशास्त्रका विषयमा विश्लेषण भए । नयाँ क्रान्तिका विषयमा छलफल भयो ।
‘नौलो जनवादी क्रान्तिबारेमा हाम्रो छलफल भएको थियो’ जीवनले त्यतिबेलाको क्षण सम्झँदै भने, ‘म उहाँदेखि निकै प्रभावित भएँ, उहाँ मदेखि प्रभावित भएँ भन्नुहुन्थ्यो ।’
त्यहाँ मदनलाई खतरा हुने देखेर जीवनले धर्म केसीको घरमा आउन भने र पूरै एक रात राजनीतिक छलफलमा बिताए ।
‘नेपालमा क्रान्तिकारी एकता कमिटी (कोर्डिनेसन केन्द्र) गठन भएको छ । हामीले मोरङमा पनि त्यो गठन गर्नुपर्छ उहाँ(मदन भण्डारी)ले भन्नुभयो उनले भने, ‘तर मैले यो किन गठन गर्ने भन्ने विषयमा अन्योलता प्रकट गरें । ’
जीवनले त्यो बेलामा कोर्डिनेसन केन्द्र गठन गर्ने विषयमा सकारात्मक प्रतिक्रिया दिए पनि त्यसबारे उनलाई त्यति धेरै जानकारी भने थिएन ।
‘सुरुमा मैले पनि हुन्छ भनें । तर, क्रान्तिकारी एकता केन्द्र किन गठन गर्ने भन्ने जानकारी थिएन’ उनले भने ‘मैले किन गठन गर्ने भन्नेबारे पनि उहाँलाई सोधें । ’
मदन भण्डारीले ‘मुक्ति केन्द्रको मुक्ति मोर्चा’ भन्ने एउटा किताब उनलाई दिए । झापाको वर्गसंघर्ष समेटिएको ‘लालटिन’ पनि थपिदिए । त्यो पढेपछि जीवनलाई कोर्डिनेसन केन्द्रको शाखा खोल्न उपयुक्त लाग्यो । जीवन शाखा खोल्न तयार भए । त्यसको जिम्मा भण्डारीले राईलाई दिए ।
मलुमल्लाबाट राई, इटहरीबाट भण्डारी, कुमार निरौला मधुसुदन न्यौपाने लगायतले २०३४ साल भदौ ४ गते मोरङ जिल्ला एकता केन्द्र गठन गरे । त्यो बेला महासचिव सिपी मैनाली थिए ।
२०३५ सालमा मोरङमा एकता केन्द्रले संगठन विस्तारलाई तीव्रता दियो । मोरङमा तत्कालीन अवस्थामा ४८ जना भूमिगत कार्यकर्ता थिए ।
‘हामी भूमिगत थियौं । त्यसको लागि सेल्टर बनायौं । भुवनसिंह राईले ठूलो घर बनाउनु भयो । त्यहीं बस्यौं’, उनले भने, ‘पुस ११ गते मोरङमा मालेको प्रथम सम्मेलन भयो ।’
राई मोरङमा गुरिल्ला सर्कल कमन्डर थिए । उनले सुरक्षा कमान्डको जिम्मेवारी पाएका थिए ।
त्यसपछि मदन भण्डारीसँग उनको भेट बढ्दै भयो । ‘त्यो बेला हामीले नयाँ जनवादी क्रान्ति गर्नुपर्छ भन्ने गरेका थियौं । कार्यकर्ताहरूलाई चेतना दिन थालेका थियौं ।’
पूर्वी नेपालमा कम्युनिस्टको गतिविधि बढिरहेको भए पनि पश्चिम नेपालमा भने शून्य थियो ।
दार्शनिक चेतना भएका कमरेडलाई पश्चिम पठाइदिन केन्द्रीय कमिटीमा भएको छलफलबारे जीवनले थाहा पाए । त्यो बेला झलनाथ खनाल महासचिव थिए ।
केन्द्रीय कमिटीको निर्देशनपछि आफ्ना सन्तानहरूलाई मदन भण्डारीको साथमा छोडेर उनी २०३८ साल माघ १८ गते मोरङबाट सुर्खेत आए ।
पुष्पलालको पालाका बालाराम शर्मा लिलाधर गौतम, भक्तबहादुर केसीसँग जीवनले पार्टी विस्तारलाई अघि बढाए ।
सुर्खेतबाट २०४२ सालमा उनी कैलालीको फूलबारीमा पनि पार्टी विस्तारको लागि झरे । त्यसपछि उनी अछाम पुगे ।
‘त्यो बेला भीम रावल कहाँ हुनुहुन्थ्यो त ?’ अछाम भन्नासाथ भीम रावलको प्रशंग याद आयो ।
‘उहाँ काठमाडौँको घट्टेकुलोमा हुनुहुन्थ्यो । उहाँको युएनमा जागिर थियो’, उनले भने, ‘उहाँ त्योभन्दा पहिले नै राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । अनेरास्वयूको अध्यक्ष पनि हुनुहुन्थ्यो ।’
पश्चिममा गएपछि केन्द्रीय नेतृत्वसँग राईको भेटघाट कम भएको थियो । तर, भेट हुँदा बदलिँदो राजनैतिक विषयमा भन गम्भीर छलफल हुने गरेको थियो ।
‘मदन भण्डारी धनगढीको एउटा कार्यक्रममा आउनु भएको थियो, त्यतिबेला उहाँ जबज लेख्दै हुनुहुन्थ्यो’ उनले भने । मदन भण्डारीले जनताको बहुदलीय जनबादबारे लेख्दै गर्दा जीवनलाई सुनाएका थिए । उनले कुरा सुने तर, प्रस्ट भएनन् ।
‘उहाँले मलाई सुनाउनु भयो । मैले नौलो जनवादको कुरा लिएर जनतामा गइरहेका छौं । जहिले पनि नेपाली क्रान्तिमा कार्यनीतिको सवालले गर्दा पार्टी विभाजन भइरहेको छ । फेरी जबज लिएर जाँदा आघात पर्ने त होइन ? पार्टी फुटाउने त होइन !’ उनले मदनलाई प्रतिप्रश्न गरेका थिए ।
मदनको तर्कले जीवन पनि सन्तुष्ट भए । पाँचौं अधिवेशनले मदनको सिद्धान्त पारित गर्याे । मदन महासचिव भए । त्यसपछि उहाँको कहिल्यै मदन भण्डारीसँग भेट भएन ।
‘मदन भण्डारी भनेको सशक्त क्रान्तिकारी कम्युनिस्ट हुनुहुन्थ्यो । खास क्रान्तिकारीमा हुने गुण थियो उहाँमा’ उनले मदन सम्झँदै भने ‘मदन भण्डारीसँग जसले कुरा गर्थे, लट्ठ हुन्थे ।’
मदन भण्डारीसँग जनताको बहुदलीय जनवाद र जनताको नौलो जनवादका विषयमा छलफल गर्ने उनी २०२८ सालदेखि कम्युनिस्ट भएको बताउँछन् ।
पाको उमेरमा पनि उनी सक्रिय राजनीतिमा छन् । अहिले उनी राष्ट्रिय परिषद् सदस्य छन् । लामो राजनैतिक इतिहास भएर पनि उनले कुनै लाभको पद हासिल गरेनन् ।
तस्बिर र भिडिओ- उमेश कार्की/ नेपाल प्रेस