नयाँ भेरिएन्टको संक्रमणबारे सतर्क रहन नेपाललाई डब्लुएचओको आग्रह – Nepal Press

नयाँ भेरिएन्टको संक्रमणबारे सतर्क रहन नेपाललाई डब्लुएचओको आग्रह

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनलाई लिएर सतर्क रहन आह्वान गरेका छन् । डब्लुएचओकी दक्षिणपूर्वी एसियाकी क्षेत्रीय निर्देशक पूनम खेत्रपाल सिंहले विज्ञप्ति जारी गर्दै भारतमा नयाँ भेरिएन्ट भेटिनु अप्रत्याशित नरहेको बताइन् ।

उनले यसबारे भनिन्, ‘हामी बाँचिरहेको अन्तरसम्बन्धित विश्वलाई हेरेर आज डब्लुएचओको दक्षिण-पूर्वी एसिया क्षेत्रमा ओमिक्रोन भेरियन्टको पहिलो दुई केसहरु पुष्टि हुने कुरा अप्रत्याशित थिएन ।’

डब्लुएचओले यस क्षेत्रका सबै देशलाई निगरानी बढाउन, सतर्क रहन र तीव्ररुपमा संक्रमित पहिचान गर्ने कार्यलाई तीव्र तुल्याउन आवश्यक कदम चाल्नुपर्ने कुरामा जोड दिएको छ ।

‘सरकारहरूले व्यापक र अनुकूल जनस्वास्थ्य तथा सामाजिक उपायहरू र जनसमुदायबाट रोकथाम र सावधानीका उपायहरूको कडा पालना गरिनु आवश्यक छ’ विज्ञप्तिमा भनिएको छ ।

साथै डब्लुएचओले मास्क लगाउन, दूरी कायम गर्न, कम हावा चल्ने वा भीडभाड भएको ठाउँबाट टाढा रहन, र खोप लगाउनु आग्रह गरेको छ । खोप लगाएपछि पनि कोभिड संक्रमण रोकथामका नियमहरु पालना गर्न आग्रह गरिएको छ ।

ओमिक्रोन भेरियन्टमा धेरै संख्यामा उत्परिवर्तनहरू रहेको जनाउँदै डब्लुएचओले जसमध्ये केही चिन्ताजनक भएको जनाएको छ । विश्वभरका अनुसन्धानकर्ताले ओमिक्रोनको सार्नसक्ने गुण, गम्भीरता र प्रतिरक्षा क्षमताबारे अध्ययन गरिरहेको समेत उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *