माओवादीबाट विभाजित भएकाहरुलाई ल्याउने प्रयास भइरहेको छ : महरा – Nepal Press

माओवादीबाट विभाजित भएकाहरुलाई ल्याउने प्रयास भइरहेको छ : महरा

रुपन्देही । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले पूर्वमाओवादीबाट छुट्टिएका दलहरूलाई एकजुट बनाउने प्रयास भइरहेको बताएका छन् ।

अहिले देशलाई नयाँ ऊर्जा र सन्देश दिने समय आएको भन्दै माओवादी विभाजित नभई माओवादीबाट फुटेर गएका बाबुराम भट्टराई, विप्लवलगायतका नेताहरूसँग सहकार्य र एकताको लागि छलफल भइरहेको बताएका हुन् ।

शनिबार रुपन्देहीको सिद्धार्थनगरको नगर अधिवेशनमा बेल्दै नेता महराले माओवादी केन्द्रमा ८ लाख पार्टी सदस्य रहेको दाबी गर्दै तिनै सदस्यहरूको जगमा उभिएर देशभरका पालिकामा पार्टीले अधिवेशन गरिरहेको बताए ।

उनले विदेशी शक्तिहरू अहिलेको सरकारमा सहभागी दलहरूको गठबन्धनलाई फुटाउन लागिपरेको आरोप लगाएका छन् ।

एमालेप्रति संकेत गर्दै उनले संविधानलाई कुल्चिएर जानेहरूले विदेशी शक्तिको प्रयोग गरेर संविधान निमोठ्न र सत्ता गठबन्धन फुटाउन खोजिरहे पनि त्यो सफल नहुने ठोकुवा गरे ।

सत्ता गठबन्धनबाट धेरै कुरा प्राप्त हुन्छ भन्ने अपेक्षा गर्न नसकिए पनि संविधानलाई सही ट्रयाकमा ल्याउन बनेको गठबन्धनलाई टिकाइ राख्नुपर्ने उनको भनाइ थियो ।

महराले अहिले नेपालका राजनीतिक दलहरू दुई ध्रुवमा विभाजित भएको बताउँदै भने ‘एउटा समूह संविधानले प्रदान गरेका उपलब्धिहरू जोगाउने पक्षमा लागेको छ भने अर्को ध्रुव राजतन्त्र ल्याउने र संविधानले प्रदान गरेका उपलब्धिलाई उल्टाउने अभियानमा लागेको छ ।’

रुपन्देहीका सबै पालिकामा अधिवेशन सकियो

रुपन्देहीमा नेकपा माओवादी केन्द्रको पालिकास्तरीय अधिवेशन सम्पन्न भएको छ ।

मंसिर ११ गते सबै पालिकामा अधिवेशन भएपनि रुपन्देहीमा माओवादी नेता रामप्रसाद बन्जाडे टंकमणिको दुर्घटनाबाट मृत्यु भएपछि सारिएको जिल्ला संयोजक निर्मलकुमार जिसीले बताए ।

सबै पालिकामा अधिवेशन सकिएको तर सबैको नेतृत्व नटुंगिएको उनले बताए ।

माओवादी केन्द्रको २५ मंसिरमा सातै प्रदेशमा अधिवेशन हुनेछ । आयोगले प्रदेशमा ७ सदस्यीय र पालिकामा ५ सदस्यीय निर्वाचन समिति गठन गरेको छ ।

प्रदेशको सम्मेलनपछि आगामी ११ देखि १३ पुसमा पार्टीको राष्ट्रिय सम्मेलन हुने पार्टीका प्रवक्ता समेत रहेका महराले जानकारी दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर