को हुन् राप्रपा केन्द्रीय सदस्यमा सर्वाधिक लोकप्रिय मत पाउने कुन्ती ? – Nepal Press

को हुन् राप्रपा केन्द्रीय सदस्यमा सर्वाधिक लोकप्रिय मत पाउने कुन्ती ?

काठमाडौं । राप्रपा महाधिवेशनमा सर्वाधिक २०८० मत प्राप्त गरेर केन्द्रीय सदस्य निर्वाचित भएपछि कुन्ती पोख्रेलको चर्चा चुलिएको छ । सामाजिक सञ्जालमा सक्रिय कुन्तीले आफ्नो उम्मेदवारीबारे तडकभडकसहितको प्रचार-प्रसार पनि गरेकी थिइनन् । तर सर्वाधिक मत प्राप्त गरेर राप्रपाको केन्द्रीय नेतृत्वमा पुगिन् । काठमाडौंकी कुन्ती सामाजिक काममा सक्रिय युवा महिला हुन् ।

पोख्रेल राप्रपाको राजनीतिमा विगत १० वर्षदेखि सक्रिय छिन् । विशेष गरेर महिला हिंसाविरुद्ध आन्दोलनको नेतृत्व गर्दै तारामण्डल महिला सशक्तिकरण अभियान सञ्चालन गर्ने सञ्चालिका हुन् उनी ।

कुन्ती एक चिरपरिचित समाजसेवी हुन् । उनी राप्रपा निकट राष्ट्रिय गैरसरकारी संगठनको केन्द्रिय कोषाध्यक्ष हुन भने राष्ट्रिय गैरसरकारी संस्था समन्वय विभागको अध्यक्ष हुन् । उनले आफ्नो व्यवसाय सँगसँगै राजनीतिक यात्रा सुरु गरेकी थिइन् । हरेक राष्ट्रिय मामिलामा खुलेर प्रस्तुत हुने उनको स्वभावका कारण राप्रपा चाँडै नेतृत्व तहमा पुग्न सफल भएको नेताहरु बताउँछन् । उनी राजनीतिभन्दा पनि आम नागरिकका समस्यामा केन्द्रित हुने महिला नेतृ हुन् ।

उनी राप्रपा महाधिवेशनमा कमल थापाको प्यानलबाट महिला केन्द्रीय सदस्यको प्रतिस्पर्धामा थिइन् । थापा अध्यक्षमा पराजित भए पनि पदाधिकारीसहित केन्द्रीय सदस्यहरुको ठूलो हिस्सा थापा प्यानलबाट निर्वाचित भएका छन् । कुन्तीले कमल थापाको पराजयपछि नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई बधाइ दिएकी छन् ।

३५ वर्षीया कुन्तीले राजनीतिक कार्यथलो काठमाडौं क्षेत्र नम्बर ५ लाई बनाएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर