जब वीपी कोइरालाले नारा लगाए – वीर गणेशमान जिन्दावाद ! – Nepal Press
कांग्रेस : ऐतिहासिक प्रसंग (१)

जब वीपी कोइरालाले नारा लगाए – वीर गणेशमान जिन्दावाद !

शेरबहादुर देउवाले ‘वीर रामचन्द्र पौडेल जिन्दावाद’ भन्लान् ?

रामचन्द्र पौडेलले ‘वीर शेरबहादुर देउवा जिन्दावाद’ भन्लान् ?

बेलाबेला सार्वजनिक कार्यक्रममा यी दुई नेताहरुले गर्ने आक्रोशित संवाद हेरेका जोकोहीको जवाफ हुन्छ– भन्दैनन् ।

‘जिन्दावाद’ त परै जाओस्, ‘वीर’ भनेर एक अर्काको तारिफ गर्ने सम्भावना पनि कम्तिमा अहिलेको अवस्थामा चाहिँ नभएकै अनुमान जो कोहीले गर्न सक्छ ।

देउवा र पौडेल त विम्ब मात्रै हुन् । एकै पुस्ताका अरु कांग्रेस नेताहरुले पनि एक अर्कालाई ‘वीर’ भन्दै ‘जिन्दावाद’को नारा लाउने सम्भावना छैन् । अझ ‘देवत्व’को विपक्षमा उभिएको दावी गर्दै आएका ‘आलोचनात्मक चेत’ का भएिकाहरुले यस्तो भन्ने झनै सम्भावना छैन ।

तर, वीपी कोइरालाले आफ्ना राजनीति प्रतिस्पर्धी गणेशमान सिंहलाई ‘वीर गणेशमान सिंह जिन्दावाद’ भनेर नारै घन्काएका थिए । त्यो पनि विशाल जनताको भिडमा । गणेशमान सिंहले वीपीको मन जितेपछि वीपीले खुलेर तारिफ गर्दै यस्तो भनेका थिए ।

यस्तो थियो जिन्दावादको पृष्ठभुमि

राणा शासनबाट भूमिकाको हिसाबले बन्दी जस्तै भएका राजा त्रिभुवन २००७ कात्तिक २१ (सन १९५० नोभेम्बर ६) मा दरबार छोडेर भारतीय दूतावास छिरे । दूतावास छिरेको पाँच दिनमा उनी भारतीय शरणमै दिल्ली उडे ।

एकातिर नागरिकले देउता झै मान्ने राजाले देश छोडे । अर्कोतर्फ वीरगञ्ज, बिराटनगर, भैरहवा लगायत देशका विभिन्न क्षेत्रहरुबाट नेपाली कांग्रेसको सशस्त्र दस्ता मुक्तिसेनाले राणा सत्तालाई तनाव दियो । भारतले कांग्रेस र राजा त्रिभुवनकै साथ दियो । बिलखबन्दमा परे राणा प्रधानमन्त्री मोहनशमशेर । अन्ततः उनी सम्झौता गर्न बाध्य भए । र, भयो दिल्ली सम्झौता ।

नेपालको कूटनीतिक विषयमा विद्यावारिधि गरेका भारतीय प्राध्यायक एसडी मुनिको पुस्तक ‘फरेन फोलिसी अफ नेपाल’का अनुसार दिल्ली सम्झौता पटकपटकको छलफलपछि २००७ पुष १७ (१९५१ जनवरी १) मा भएको थियो । सम्झौताका मुख्य बुँदा यस्ता थिएः

१. जतिसक्दो चाँडो संविधानसभाको चुनाव गरेर संविधान जारी गर्ने ।

२. कांग्रेसले हतियार बिसाउने । सरकारले राजनीतिक मुद्दा फिर्ता लिने । सहभागितामुलक राणा–कांग्रेस सरकार बनाउने ।

३. त्रिभुवनलाई नेपालको राजाको रुपमा स्वीकार गर्ने ।

दुई बुँदा त राम्रोसँग बुझिन्छ । तेश्रो बुँदा रोचक छ । त्रिभुवनले भारतीय दुतावासमा शरण लिएलगत्तै भोलिपल्ट उनलाई राणा सरकारले ‘राजा’ बाट अपदस्थ गर्यो । सपरिवार दुतावासको शरणमा जान छुटेका नाबालक ज्ञानेन्द्रलाई राजा बनाइयो । ज्ञानेन्द्रलाई राजाबाट हटाएर त्रिभुवनलाई नै औपचारिक रुपमा राजा बनाउने बुँदा हो, तेश्रो बुँदा ।

उता दिल्ली सम्झौता भएको डेढ महिना हुँदासम्म यता नेपालको जेलमै थिए गणेशमान सिंह । उनी २००७ फागुन २ गते मात्रै जेलबाट छुटेका थिए । काठमाडौंमा ठुलो ‘एक्सन’ गर्न आएर सिंह मिसनमा असफल भएर भारत फर्किन लाग्दा वीरगञ्ज नजिकैको नेपाल–भारत सीमाक्षेत्र ठोरीबाट पक्राउ परेका थिए ।

उसो त विक्रम संवत् १९९७ मा शहिद गंगालाल श्रेष्ठसँगै पक्राउ परेका थिए सिंह । तर, २००१ मा भद्रगोल जेलको पर्खाल नाघेर भागेका थिए । पहिलोपटक प्रजापरिषदको सामान्य कार्यकर्ताको रुपमा पक्राउ परेका सिंह दोश्रोपटक भने नेपाली कांग्रेसका संस्थापक र सिनियर नेताको रुपमा पक्राउ परेका थिए ।

गणेशमान सिंह छुटेको दुई दिनपछि फागुन ४ मा राजा त्रिभुवनदेखि नेपाली कांग्रेसका मात्रिका, वीपी, सुवर्ण शमशेर जस्ता नेताहरु लगायत मुक्तिसेनाका कमान्डरहरु नेपाल ओर्लिए ।

दुई दिन अगाडि मात्रै जेलबाट छुटेका सिंह प्रजातन्त्र घोषणा गर्नेगरी आउन लागेका राजा र कांग्रेस नेताहरुलाई स्वागत गर्न तयार भए ।

२००७ साल फागुन ७ गते प्रजातन्त्र घोषणा गर्न र राणा–कांग्रेस सरकार निर्माणको काम गर्न त्रिभुवन फागुन ४ गते दिँउसो नेपाल ओर्ले । डाक्टर बद्रीनारायण गौतमले लेखेको पुस्तक ‘गणेशमान सिंह र नेपालको प्रजातान्त्रिक आन्दोलन’ का अनुसार राजा फागुन ४ गते दिउँसो २ बजे त्यो बेला गौचरन भनेर चिनिने विमानस्थल ओर्ले । राजाको स्वागतमा अन्तिम राणा प्रधानमन्त्री मोहन शमशेर, भारतिय राजदुत चन्द्रेश्वरप्रसाद नारायण सिंह र गणेशमान सिंह क्रमशः उभिए ।

राजा नेपाल ओर्लेर आफ्नो दरबार प्रस्थान गरेको केही समयलगत्तै नेपाली कांग्रेसका नेता तथा मुक्तिसेनाका योद्धाहरु बोकेका दुई जहाज गौचरण विमानस्थलमा अवतरण भए । जसै विमान अवतरण भयो, चारतारे झण्डा बोकेको भिडले नारा लाउन थाल्यो– वीर विश्वेश्वर जिन्दावाद ।

जहाजबाट ओर्लेर आफ्नो जिन्दावाद गर्ने भीडमा गणेशमान देखे वीपीले । वीपी गणेशमान नजिकै पुगेर नारा घन्काए– वीर गणेशमान जिन्दावाद ।

यो नारा घन्काएको प्रत्यक्षदर्शी हुन् डायमन शमशेर राणा । उनी त्यही भिडमा थिए । घनेन्द्र पुरुष ढकाल र रेवतीरमण सुवेदीले प्रस्तुत गरेको पुस्तक ‘इतिहास पुरुषहरुको दृष्टिमा गणेशमान सिंह’ मा राणाले भनेका छन, ‘वीर गणेशमान भनेर पहिलो उच्चारण गर्ने व्यक्ति वीपी हुुनुन्थ्यो ।’

वीपीले गणेशमान सिंह जिन्दावाद भनेको प्रसंगलाई व्याख्या गर्दै राणाले भनेका छन्, ‘त्यहाँ वीर विश्वेश्वरको नारा गुञ्जिरहेको थियो । म गणेशमानजीका छेउमै थिएँ । गणेशमानजीलाई देखेपछि वीपी हतार गर्दै छेउमा आउनु भयो र वीर गणेशमान जिन्दावादको नारा लागाएर अँगालो मार्नुभयो । त्यसपछि हामी सबैले वीर गणेशमान जिन्दावादको नारा लगाउन थाल्यौँ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर