मुडे-चरिकोट सडकको ठेक्का तोडिँदै, ठेकेदारलाई कालोसूचीमा राखेर नयाँ टेण्डर गर्ने सचिवको आश्वासन – Nepal Press

मुडे-चरिकोट सडकको ठेक्का तोडिँदै, ठेकेदारलाई कालोसूचीमा राखेर नयाँ टेण्डर गर्ने सचिवको आश्वासन

काठमाडौं । सरकारले मुडे-चरिकोट सडक विस्तार तथा कालोपत्रेको काम अलपत्र पार्ने ठेकेदारसँगको सम्झौता तोड्ने भएको छ । सो सडकको दुरावस्थाको विरुद्ध दोलखाका पत्रकारको अगुवाइमा गठित संघर्ष समितिसँगको छलफलमा भौतिक पूर्वाधार मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले यसै साता ठेकेदारलाई कालोसूचीमा राखेर ठेक्का तोड्ने बताए ।

सचिव श्रेष्ठले भने, ‘यो सडक अलपत्र पारेर जनतालाई सास्ती दिने कामबारे मन्त्रीज्यू पनि गम्भीर हुनुहुन्छ । ठेक्का तोड्न तलबाट प्रक्रिया पूरा भइसकेको छ । यसै साता कालोसूचीमा राखेर ठेक्का तोड्छौं र नयाँ टेण्डर आह्वान हुन्छ ।’

खाडीचौर-मुडे हुँदै चरिकोटसम्मको ५५ किलोमिटर सडक विस्तारको काम अलग अलग ठेकेदारले पाएका थिए । मुरे-चरिकोटको काम शंकर माली निर्माण सेवाले गरिरहेको थियो । तर, ठेकेदार मिटरब्याजको फन्दामा परेपछि काम अलपत्र भएको बताइएको छ ।

शंकरमाली-सुनौला खिम्ती र भारतको सकिल हैदर जेभीले २०७२ मा सडक विस्तारको ठेक्का पाएका थिए ।

२०७४ भित्र सम्पन्न हुनुपर्ने काम चार वर्ष ढिला भएपछि सडक डिभिजन कार्यालयले ठेकेदारलाई दैनिक ४ लाखका दरले हर्जनासमेत तिराएको छ । ठेकेदार समस्यामा परेपछि सडकको काम अलपत्र भएको हो ।

सडक विस्तारको काम सकिए पनि कालोपत्रे नहुँदा चरिकोट जानका लागि रामेछापको मन्थली हुँदै यात्रा गर्नुपर्छ । यो सडकको दुरावस्थाविरुद्ध दोलखाका पत्रकारले पटक-पटक आन्दोलनसमेत गरिसकेका छन् ।

संघर्ष समिति र सचिवबीचको छलफलमा जिल्लास्थित राजनीतिक दलका नेताहरू पनि सहभागी भएका थिए । संघर्ष समितिले सिंहदरबार र सडक विभागको कार्यालयमा धर्ना दिने बताएको छ । भारतीय एक्जिम बैंको एक अर्ब २४ करोड ऋण सहयोगमा सडक विस्तार भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर