पत्रकार महासंघको जिम्मेवारीमा नरहने केन्द्रीय उपाध्यक्ष अधिकारीको घोषणा
काठमाडौं । पत्रकार महासंघकी केन्द्रीय उपाध्यक्ष बाला अधिकारीले पत्रकार महासंघको जिम्मेवारीमा नरहने घोषणा गरेकी छन् । आफ्नो गन्तव्य पार्टी राजनीतितर्फ भएको उल्लेख गर्दै उनले महासंघको जिम्मेवारीमा नरहने बताएकी हुन् ।
‘म नेपाल पत्रकार महासङ्घको केन्द्रीय उपाध्यक्ष भएको नाताले नेपाल पत्रकार महांसघको विधान आचार संहिताका पालना गर्नु मेरो प्रमुख कर्तव्य रहेको कुरा मलाई हेक्का छ ’ उनले सामाजिक सञ्चालनमा लेखेकी छन् ‘अब मेरो गन्तव्य पार्टी राजनीति तिर । ’
उनले आफूलाई महासंघमा निर्वाचित गराउने सबैलाई सामाजिक सञ्जाल मार्फत धन्यवाद समेत दिएकी छन् ।
सामाजिक सञ्जाल मार्फत जिम्मेवारीमा नरहने स्पष्ट पारे पनि महासंघमा अहिलेसम्म उनको आधिकारिक राजीनामा पत्र पुगेको छैन ।
‘अहिले सम्म औपचारिक रूपमा राजीनामा बुझाउनु भएको छैन ’ पत्रकार महासङ्घका केन्द्रीय महासचिव रोशन पुरीले भने, ‘नेपाली काँग्रेसको केन्द्रीय हुने अवस्थामा उहाँले राजीनामा दिनुपर्छ र दिन्छु पनि भन्नुभएको छ ।’
अधिकारीले भने आफू केन्द्रीय सदस्यमा उम्मेदवारी दिने दिनमै राजीनामा दिने बताइन् ।
‘म अब राजनीतिमा लाग्ने हो । यस्तो अवस्थामा महासंघमा रहन्न भन्ने कुरा हो’, उनले भनिन्, ‘अहिले सामाजिक सञ्जालमा लेखेर जानकारी गराए । केही दिनमा उम्मेदवारी दिन्छु त्यही दिन महासंघको पदबाट पनि राजीनामा दिन्छु ।’