ज्यान मार्ने मुद्दाका अभियुक्त मेयर यादव धरौटीमा छुटे – Nepal Press

ज्यान मार्ने मुद्दाका अभियुक्त मेयर यादव धरौटीमा छुटे

जनकपुरधाम । ज्यान मार्ने उद्योग मुद्दाका अभियुक्त सिरहाको मिर्चैया नगरपालिकाका मेयर श्रवण यादव जिल्ला अदालत सिरहामा धरौटी बुझाएर रिहा भएका छन् ।

मेयर यादव ३० हजार धरौटीमा रिहा भएको जिल्ला अदालत सिरहाका श्रेस्तेदार जगदिश्वर भट्टराईले जानकारी दिए ।

उनका अनुसार जुन घटनामा मेयरमाथि मुद्दा चलेको छ यसअघि त्यही घटनाका एक अभियुक्त ३० हजार धरौटीमा रिहा भएका थिए । एउटै घटना भएकाले मेयर यादवलाई पनि त्यति नै धरौटी लिएर छाडिएको उनले बताए ।

राहत वितरणको विषयमा भएको विवादमा मेयर यादवसहितका व्यक्तिले ज्यान मार्ने उदेश्यले आक्रमण गरेको भन्दै आमोद भनिने विजय कुमार यादवले उनीहरुमाथि ज्यान मार्ने उद्योग मुद्दा दर्ता गराएका थिए ।

जिल्ला सरकारी वकिल कार्यालय सिरहाले मेयर यादवमाथि मुद्दा नचल्ने निर्णय गरेको थियो । तर मंसीर ३ मा उच्च सरकारी वकिल कार्यालय राजविराजले मुद्दा चलाउन आदेश जारी गरेको थियो ।

त्यसपछि मंसीर ८ मा जिल्ला सरकारी वकिल कार्यालयले मेयर यादवलाई हाजिर हुन र हाजिर नभए पक्राउ गरी पेश गर्न ईलाका प्रहरी कार्यालय मिर्चैयालाई पत्राचार गरेको थियो ।

ईलाका प्रहरी कार्यालयले भने मेयर यादवलाई पक्राउ गरेन । आज आफ्नो कानून व्यवसायी लिएर मेयर यादव जिल्ला अदालतमा हाजिर भए । अदालतले मागेको ३० हजार रुपैयाँ धरौटी तत्कालै बुझाएर मेयर रिहा भएका छन् । उनी रिहा भएपछि माओवादी केन्द्रका कार्यकर्ताहरुले अविर दलेर खुशीयाली मनाएका छन् ।

धरौटी बुझाएर रिहा भएका मेयर यादवले आफू सामान्य तारिखमा रिहा भएको प्रतिक्रिया दिएका छन् । उनले भने, ‘मुद्दामा दम नै थिएन । लगभग क्लियर नै भयो । अदालतमा एकपटक पुनः आउनुपर्छ भनेर मात्र भनेछ ।’

यता, जनता समाजवादी पार्टीले मेयर यादवलाई पक्राउ गरी सम्पत्ति छानविन गर्न र पक्राउ पूर्जी जारी गरेको ज्यान मार्ने उद्योग मुद्दामा कारबाही गर्न मिर्चैयामा प्रदर्शन गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर