चरा पच्छयाउँदै ‘उडिरहेका’ सञ्जय, जसको लेन्सले ६०१ प्रजातिका चरा खिचिसके – Nepal Press

चरा पच्छयाउँदै ‘उडिरहेका’ सञ्जय, जसको लेन्सले ६०१ प्रजातिका चरा खिचिसके

कैलाली । गत मंगलबार सञ्जय श्रेष्ठलाई डीआर चौधरीको फोन आयो । घोडाघोडी ताल तथा पर्यटन विकास बोर्डको उपाध्यक्ष चौधरीले सञ्जयलाई बिहीबार घोडाघोडीमा हुने चरा फोटोग्राफीमा अतिथिका रुपमा निम्तो गरे । त्यसअघि एकपल्ट मात्रै सुदूरपश्चिम टेकेका श्रेष्ठ घोडाघोडी आउने निम्तोबाट उत्साहित भए र आउने वचन दिए । चरा फाटोग्राफीका सौखिन श्रेष्ठ घोडाघोडी आए ।

नेपालमा अहिलेसम्म ८८४ प्रजातिका चरा पाइन्छन् । चार प्रजातिका चरा थप गर्ने तयारी भइरहेको छ । ८८८ प्रजातिका चरामध्ये श्रेष्ठले आफ्नै क्यामेरामा करिब ६०१ प्रजातिका चराहरू कैद गरेका छन् ।

पहिलोपटक घोडाघोडीमा पुग्न पाउँदा नयाँ चराहरू देख्न पाइने तथा त्यसलाई क्यामेरामा कैद गर्न पाइने भएपछि उनी थप उत्साहित भए ।

चरा खोज्न भन्दै उनी अन्नपूर्ण बेस क्याम्प, गोसाईंकुण्ड, इलामको सन्डकपुरदेखि अन्तुडाँडासम्म पुगिसकेका छन् । काठमाडौंका कुनै पनि टापु बाँकी छैनन्, जहाँ उनी चरा पच्छाउँदै दौडिएका नहोउन् ।

हेलम्बुमा दर्जनौंपटक पुग्दा पनि त्यहाँ छिटपुट मात्र पाइने क्रसबिल खिच्न पाएका थिएनन् । क्रसबिलकै लागि भन्दै करिब चार वर्षमा उनी कयौँ पल्ट त्यहाँ पुगे । केही समयअघि मात्रै उनले चाहेको क्रसबिलको फोटो खिच्न सके ।

‘वर्षाैको प्रतीक्षापछि फोटो खिच्न पाउँदा छुट्टै आनन्द महसुस भएको थियो ’ उनी भन्छन् ‘तर त्योभन्दा पनि अझै राम्रो खिच्न सकिन्छ कि भन्ने मनमा लागिनै रहेको थियो । ’

साथी राम श्रेष्ठले फाइटल माइजेनिस देखाइदिएपछि उनी थप उत्साहित भए । फाइटल माइजेनिसको फोटो पनि लिए । त्यो तस्बिर अहिलेसम्मकै उत्कृष्ट मध्य लाग्छ उनलाई । फाइटल माइजेनिसको तस्बिर नेपालमा पनि केहीले मात्रै खिच्न सकेको उनको दाबी छ ।

फिसिङ क्याट नेपालमा बाघभन्दा पनि लोपोन्मुख छ । करिब ३ सयको हाराहारीमा रहेको फिसिङ क्याटको तस्बिर पनि उनले लिएका छन् ।

विश्वमा करिब ११ हजार प्रजातिको चराहरू पाइन्छ । तीमध्ये ८ प्रतिशत चरा नेपालमा पाइने उनको दाबी छ ।

‘विश्वका ८ प्रतिशत चरा रहेको देशमा हामी छौं ’ उनले भने, ‘हाम्रो देश सानो भएर पनि यति धेरै चरा पाइन्छ भनेर विश्वलाई देखाउने मेरो ठूलो सपना छ । ’

विश्वमै लोपोन्मुखमध्ये ४० प्रजातिका चरा नेपालमा पाइन्छ । तीमध्ये ३० प्रजातिका चराको फोटो उनले खिचिसकेका छन् । विश्वबाटै हराएको काँडे भ्याकुर नेपालमा मात्रै पाइन्छ । नगरकोटमा उनले काँडे भ्याकुरको पनि फोटो लिएका छन् ।

१४ सयदेखि १८ सय मिटरमा पाइने काँडे भ्याकुर उनले ककनीमा पनि फेला पारेका थिए ।

‘नेपालको चरा विश्वले हेरुन्’ उनी भन्छन् ‘त्यहीं चरा हेर्न विश्वभरबाट मानिस नेपाल आउन् । मेरो चाहना त्यही हो । ’

एउटा चराको फोटो खिच्न करिब ७ घण्टासम्म बसेको याद छ, उनलाई । कहिलेकाहीं त दिनभरि क्यामेरा बोकेर कुर्दा पनि आफूले चाहेको चरा नआएपछि निराश भएर फर्किनु परेको बताउँछन् उनी । यस्तो बेला कहिले गैँडाले लखेटेको छ, कहिले सर्पको टोकाइबाट जोगिएका छन् ।

‘डाँडामा चरा कुर्दै बसेको थिएँ, घण्टौँसम्म निदाएछु’, उनले भने ‘झन्डै भिरबाट लडेको । यी कुराले श्रेष्ठलाई थप ऊर्जा मिल्छ ।’

गृष्मकालमा भेटिने आगन्तुक ठूलो पानीगौथली चरा ३८ वर्षपछि काठमाडौँ उपत्यकामा श्रेष्ठले खिचेका थिए । सुदूरपश्चिममा पाइने हिउँदे आगन्तुक र अन्यत्र कमै देखिने कालो सारौ पनि उनले काठमाडौँमै खिचे ।

काठमाडौं उपत्यकामा बिरलै हिउँदे आगन्तुक कालोटाउके बगेडी ५१ वर्षपछि देखिएको थियो । त्यसको तस्बिर पनि उनले खिच्न भ्याए । सन् १९६९ मा उपत्यकामा भेटिएयता हालसम्म यस प्रजातिको कुनै चहलपहल थिएन ।

प्रचुर हिउँदे आगन्तुक तथा वटुवा लालकण्ठे चुइयाँ २८ वर्षपछि उपत्यकामा देखियो । ‘मिनी कोसी’को उपमा दिएको मनोहरा खोला परिसरमा सन् १९९२पश्चात् हाल भेटिएको उक्त चराको पनि श्रेष्ठले तस्बिर लिएका छन् ।

चराबाटै विश्वमा नेपाललाई चिनाउने अठोट गरेका श्रेष्ठले आफ्नै घरमा पालेको परेवाको फोटो खिचेरै वन्यजन्तु फोटोग्राफरको दुनियाँमा छिरेका हुन् ।

‘मैले सुरुमा खिचेको फोटो नै सबैले गज्जब छ भनिदिए, त्यसपछि मैले चराहरूकै फोटो खिच्नुपर्छ भनेर हिँड्न थालें’, उनले भने । उनको साथमा अहिले करिब १० लाख पर्ने दुईवटा क्यामेरा छन् ।

चरा खोज्दै पहिलोपटक धरान हिँडेका उनी चराको राजधानीको रूपमा कोसिटप्पुलाई बुझेपछि त्यहीं रोकिए । अहिले उनले कोसीटप्पुमा बर्ड वाचिङ क्याम्प पनि सञ्चालन गरिरहेका छन् ।

‘एउटा चरा देख्दा आनन्द आउँछ तर त्यो खिच्न नपाउँदा अपसोच हुन्छ’, उनी भन्छन्, ‘त्यही भएर कहिले महिना, कहिले वर्ष दिनसम्म त्यहीं चराको पछि दौडिरहेका हुन्छौँ । ’

उनी घोडाघोडीमा थप तीन प्रजातिको चारा खिच्न पाएकोमा खुसी छन् । एलोक्राउन्ड उटपेकर, इन्डेन स्पटबिल र बारउइन स्ट्राइक फलाइकेचर देखेपछि उनी थप उत्साहित भए । आफूले अहिलेसम्म ७१५ प्रजातिको चरा देखेको र तीमध्ये ५९७ प्रजातिका चरा क्यामेरामा कैद गरेको बताए ।

२२ सय प्रजातिका चराहरूले चिसो मौसममा बासस्थल सार्ने गरेको तथ्य श्रेष्ठले सुनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर