पतञ्जलिलाई नेपाली जडिबुटीको ढुकुटी दान, योभन्दा राष्ट्रघात के होला ? – Nepal Press
नेपाल चिन्तन

पतञ्जलिलाई नेपाली जडिबुटीको ढुकुटी दान, योभन्दा राष्ट्रघात के होला ?

केही साताअघि भारतीय योग गुरु रामदेवले कानूनअनुसार दर्ता नै नगरेको टेलिभिजन च्यानलको नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभयो । रामदेवले सञ्चालन गरेको जडीबुटी कम्पनी पतञ्जलिलाई प्रधानमन्त्री देउवाले उद्योगका लागि निःशुल्क जग्गा दिनेसम्म घोषणा गर्नुभयो । प्रधानमन्त्री देउवाका साथमा उहाँका सत्ता साझेदार दलका अध्यक्षहरु पुष्पकमल दाहाल, माधवकुमार नेपाल ताँती लगाएर रामदेवको चाकरी गर्न पुग्नुभयो । अझ माओवादीका अध्यक्ष दाहालले त रामदेव आफूजस्तै क्रान्तिकारी रहेको वताउनुभयो ।

हैसियतअनुसार सबैजसो नेताहरुले सो समारोहमा कसैले रामदेवसँग अंकमाल गरे, कसैले जम्लाहात गरे । यी सबै क्रियाकलापको एउटै जोड थियो– रामदेवजी, नेपालको जडिबुटीमा तपाईंको असिमित हक छ, जे मन लाग्छ गर्नुस् ।

मल्टिनेशनल कम्पनी पतञ्जलिलाई नेपालमा भित्र्याउन नेपाल सरकारले कार्यक्रम नै आयोजना गरेपछि यस विषयमा बहस सुरु भएको छ । विश्वका धनी व्यक्तिमध्ये एक मल्टिनेशनल कम्पनी पतञ्जलिका मालिकलाई नेपालमा जडिबुटी कम्पनी खोल्न जग्गा नै उपलब्ध गराएर नेपालमा भित्र्याउनुलाई धेरैले ग्लोबलाइजेशन र उदारवादकोे हवाला दिंदै नेपाललाई फाइदै फाइदाको रुपमा प्रचार गरिरहेका छन् । त्यसैले आज मल्टिनेशनल कम्पनी र उदारवादलाई केन्द्रमा राखेर यो आलेख तयार गरिएको छ ।

के हो उदारवाद ?

उदारवाद अर्थात उदारीकरण अंग्रेजी शब्द लिबराइजेशनको नेपालीकरण हो । उदारीकरण भनेको आर्थिक निजीकरण र विश्वव्यापीकरण गर्नु हो । समाजमा निजी क्षेत्रको भूमिका बढाउन सरकारी खर्च कटौती गरिएको स्वतन्त्र बजार र खुला अर्थतन्त्रको अवधारणालाई उदारीकरण भनिएको छ ।

कोकाकोला, युनिलिभर, डाबर, सूर्य टोब्याको नेपालमा भएका मल्टिनेसनल कम्पनी हुन् । पतञ्जलि भित्रिन खोजेको अर्को मल्टिनेशनल कम्पनी हो । पतञ्जलिका विषयमा जानुअघि नेपालमा उदारीकरणसँगै यसअघि भित्र्याइएका मल्टिनेशनल कम्पनी आएर के गरे, त्यो हेरौं ।

नेपालमा आएका मल्टिनेशनल कम्पनीले के गरे ?

जनकपुर चुरोट कारखाना २०२१ सालमा नेपालमा स्थापना भएको थियो । सो कारखानाले याक, गैँडा, लालीगुराँस, र देउराली नामका चुरोट उत्पादन गथ्र्यो । यसले त्यसबेला पनि वार्षिक दुई अर्ब खिल्ली चुरोट निर्माण गथ्र्यो । हजारौहजारलाई रोजगार दिएको थियो । गाँजालाई औषधीय गुणको रुपमा प्रयोग गर्ने नेपालमा थोरै मात्र चुरोटका अम्मली थिए । त्यसैले उत्पादित चुरोट नेपालले विभिन्न देशमा निर्यात गर्दथ्यो ।

आफ्ना उत्पादनलाई विदेश पठाउने यस्तो उन्नत अवस्थामा थियौं हामी । तर उदारीकरणको नाममा चुरोट कारखाना चलेको १८ वर्ष पनि पुग्न नपाउँदै २०३९ सालमा निजी बनाउँदै उत्पादन बन्द गराएर विदेशी जनकपुर चुरोट कारखाना सूर्य टाेबाकोलाई जिम्मा लगाइयो ।

जब मल्टिनेशनल कम्पनी सूर्य टोबाकोले नेपालमा चुरोट बनाउने स्वामित्व पायो तब यसले विज्ञापनमार्फत हामी पाखे, हाम्रा संस्कृति दुर्बल भएको र चुरोट खाने चाहिँ उच्च कोटीको मान्छे भन्ने मनोविज्ञान विस्तार गर्‍याे । धूमपान मद्यपान गर्न हुन्न भनेर आमाबुवाको अघि चुरोट पिउन नसक्ने हाम्रा युवाहरु आमाबाको के कुरा, स्कूलमा चुरोट तान्ने लतमा आए ।

हामी बाल्यकालमा हुँदा खोकी लाग्दा, टाउको दुख्दा, पिनास हुँदा हाम्रा हजुरबुवा हजुरआमाले गाँजा, भाङ, जेठीमधु, दालचिनी, तेजपत्ता, जस्ता वनस्पतीलाई माडेर चिलिम्मा राखेर खाने गरेको देखेका थियौं । यस्तो खाएपछि एकैपटकमा सन्चो भएको उहाँहरु सुनाउनुहुन्थ्यो । यसलाई लतको रुपमा लिनु हुन्न भन्थे बुढापाका ।

शिवरात्रीलगायत मौकामा खाने भएकाले त्यो बेला हामी पनि अलिअलि खान्थ्यौं । यस्तो औषधियुक्त चिलिमले कति रोग सन्चो गर्छ ? कसरी खाने भनेर महर्षि चरकले लामो व्याख्या गरेका छन् (चरक संहिता, सूत्रस्थान पाँचाैं अध्याय) ।

तर आज चुरोट अधिकले पिउँछन् । विश्व स्वाथ्य संगठनको टोब्याको शाखाको तथ्यांक हेर्न सकिन्छ कि वर्षेनी चुरोटका कारण आठ लाख मान्छे मर्छन् । जो हाम्रो जस्तै गरिब देशका मान्छेहरु हुन् । पिउने मात्र हैन उनीहरुले निकालेको चुरोटको धुवाँका कारण उनीहरुका छेउमा बस्ने १.२ लाख मानिस बर्सेनि मर्छन् । तर पनि विश्वका १.३ विलियन मान्छे चुरोट पिउँछन् र हरेक वर्ष चुरोट खाएर बन्ने ३० लाख रोगी थपिन्छन् ( https://www.who.int/news-room/fact-sheets/detail/tobacco­ ) ।

संयुक्त राष्ट्रसंघका अनुसार एक दिनमा १८ अर्ब (विलियन) र वर्षमा ६.५ खर्ब(ट्रिलियन) चुरोट बिक्री हुन्छ । विश्वमा हरेक एकदिनमा १३÷१४ वर्ष उमेरका एक लाख हरदिन चुरोट पिउने युवा बढिरहेका छन् । सोचौं त चुरोटमा के छ त्यस्तो, खाँदा स्वस्थ्य हुने, उमेर बढ्ने र अरुको सेवा हुने ? तर खाने त घट्नुको साटो बढिरहेका छन् ।

त्यसमाथि चुरोट तीन रुपैयाँमा तयार हुन्छ र त्यसको बजार मूल्य १५ रुपैयाँ छ । यो लुट रोक्ने कुनै गरिब मुलुकको हैसियत छैन । किनकि उसले यस्तै विष बेचेर नै संसारभर साम्राज्य खडा गरेको छ ।

चुरोटको विज्ञापन पनि यसरी तयार गरिन्छ कि केटाले केटीसँग सम्बन्ध बढाउने कुरा गर्दा या साहसको काम गर्दा रक्सी चुरोट खाएर मात्र गरेको दृश्य तयार गरिदिएको हुन्छ । चुरोट पिएर साहसी काममा सफलता प्राप्त गरेको देखाइन्छ । फिल्म हेरर बाहिर निस्कँदा निस्कँदै ती युवाहरु फिल्ममा जस्तै साहसको परीक्षण आफूमा गर्छन् र सधैंका लागि लतमा जान्छन् । यसरी तयार गरिन्छ चुरोट खाने मान्छे । जसले गर्दा यो खाए क्यान्सर हुन्छ भन्ने जान्दाजान्दै पनि मान्छे पिउँन छोड्दैन ।

मल्टिनेशनल कम्पनीका विज्ञापनका आधारमा हामी आफ्नो शरीरमा विष भरिरहेका छौं । हामीले फ्रिजको मन्द विष, चुरोटको विषदेखि उत्पादन बढाउने नाममा तरकारीमा विष हालेर आफैंलाई मारिरहेका छौं । विष पनि अलिअलि हो र ? विश्वका सयकडा असी मान्छे यस्तो विष शरीरमा लिएर हिँडिरहेका छन् ।

आमाको दूधमा नै आठ सय प्रतिशत मेलाथिन प्याराथिन नामको विष पाइएको छ । यसरी अहिलेका आमाहरु दूध होइन विष पिलाउँछन् बच्चालाई । बाँच्नको लागि खाएको खानेकुराकै कारण बर्सेनि दुई लाख मान्छे मरिरहेका छन् । यो कुरा चार वर्षअघि युएनको तथ्याङ्कको हवाला दिंदै अल्जजिराले मार्च २०१७ मा एउटा लामो लेख प्रकाशित गरेको छ (www.aljazeera.com/2017/3/8  ) ।

नेपालमा उदारीकरणलाई लिएर आएको अर्को कम्पनी हो कोकाकोला । यो कम्पनीले पनि विषाक्त पानी बेच्छ, तर उ नै संसारभर फैलिएको छ । कोकाकोलामा के छ भन्नेबारे यसअघि मंसिर २ गते नेपाल प्रेसमा आलेख प्रकाशित थियो । (महीमाथि सामन्तवादीे आरोप, कोकको साम्रज्य विस्तार ) जहाँ कसरी कोकले हाम्रा औषधीय गुणले भरिपूर्ण दूध, लस्सी, मोही, नरिवलका जुसदेखि स्थानीय पेय पदार्थलाई दर्दनाक विस्थापन गर्दै उसको साम्राज्य विस्तार गरेको छ भन्ने कुरा उल्लेख छ ।

कतिले भ्रमपूर्ण तर्क गरिरहेका हुन्छन् कि कोकाकोला कम्पनीले हजारौंलाई रोजगारी दिएको छ भनेर । तर कोकाकोला कम्पनी आएपछि लस्सी, सर्वत, मही र जुसहरुको व्यापार गर्नेको व्यापार चौपट भएको हेक्का छ कि छैन ? अनि त्योसँगै हाम्रो सामूहिकतामा आएको फाटो र मान्छेमा पलाएको नैराश्यको पूर्ति कुनै मोलले चुकाउन सक्छ ?

कोकाकोला २०२९ सालमा दर्ता भएर २०३६ सालबाट नेपालमा बोटलिङ सुरु भएको हो । २०३१ सालमा राजा वीरेन्द्रको शुभराज्यभिषेकमा १०० केस कोक भारतबाट निःशुल्क ल्याइएको थियो । तर त्यसभन्दा तीन वर्षअघिबाटै नेपालमा कोक आयात गरेर बेचिन्थ्यो । यस कम्पनीको ०७५/०७६ सालमा मात्र १३ अर्ब ७३ करोडको कारोबार गरेको जनाएको छ ।

कोकाकोलाको लागि प्लास्टिकको बोतल किन्न मात्र साढे दुई अर्ब खर्चेको जनाएको छ । ती प्लाष्टिकका बोतल हाम्रा सबै गाउँ शहर कुरुप बनाउने चिज हुन् । उदारीकरणको हवला दिएर यसले फाइदा पुगेको बताउनेलाई एउटा प्रश्नः वातावराण प्रदूषणको कुरा छोडौं, विष बेचेर अर्बौं डलर लैजाने, तर करसम्म नतिर्ने मल्टिनेशनल कम्पनीलाई देशको स्रोतसाधन चलाउन दिने हाम्रा लागि के फाइदा छ ? यहाँसम्म कि कोक बनाउन चाहिने रसायन, चिनीदेखि प्याक गर्ने प्लास्टिकसम्म आयात गर्छ कोकाकोला कम्पनीले ।

अझ मेरो कारणले कसैको रोजगारी गुम्ने छैन, कतै फोहोर हुने छैन, यहाँको एक लिटर पानी प्रयोग गर्न चार लिटर पानी उत्पादन गर्ने स्रोत तयार गर्छु जस्ता कुरा यसले गरेका सम्झौतामा उल्लेख छन् । तर सबैभन्दा धेरै फोहोर गर्ने, बिष बेचेर यहाँबाट अर्बौं डलर बनाएर निचोरेर लैजाने अनि करसम्म नतिर्ने यस्ता कम्पनी हाम्रो विकासमा होइन विनाशका लागि आएका हुन् । यो सबै तथ्य हेरेपछि पतञ्जलि या जनुसुकै मल्टिनेसनल कम्पनी किन घातक हुन् भन्न अरु के तथ्य आवश्यक पर्छ ?

पतञ्जलि यिनै बहुराष्ट्रिय कम्पनी जस्तै हो । हदै भए यसबाट नेताका आफन्तले जागिर पाउलान् । उसले संसारभर आफ्नो संजाल फैलाएर बसेको छ । हाम्रा जडिबुटीको स्रोत नै कब्जा गरेर यहाँबाट जडिबुटी लैजाने मात्र होइन, ती जडिबुटीको पेटेन्ट भारतका नाममा गराएर संसारमा हाईहाई हुनेछ । यसप्रति के नेपाल सरकार जानकार छैन ? भारतले अर्थात् पतञ्जलिले भारतमा नभएका र नेपालमा पाइने कति धेरै जडिबुटीको पेटेन्ट उसको नाममा पारेको छ । यति कुरा जान्दाजान्दै बाँकी रहेको जडिबुटी पनि बेचेर त्यसको पेटेन्ट पनि उनीहरुको नाममा पारेर नेपाललाई सिक्रो बनाउनु हामी उकासिनु हो कि पतन हुनु हो ?

मल्टिनेशनल कम्पनीले हामीजस्ता गरिब देशहरुलाई बिषाक्त पानी बेचेर लगेको पैसाको हिसाब गर्न सकिएला, तर त्यस्तो बिषाक्त पानीले त्यहाँको स्थानीय पेय पदार्थको विस्थापन, त्यस्तो पेय पदार्थले बनेका घरैपिच्छेका रोगी र त्यसले त्यो समाजमा सदियौंसम्म पर्ने असरको हिसाब छ ? उसले कति चुरोट बेच्यो र पैसा कति लग्यो भन्न त सकिएला तर त्यसले हामीमा कति मानसिक रोगी बनायो र त्यसले पार्ने असरको हिसाब छ ? रामदेवले उठाएर लगेको जडिबुटीको त हिसाब होला तर संसारमै जडिबुटीको खानी भनेर चिनिने नेपालले जडिबुटी प्याकेजिङ गर्न पनि अर्को देशलाई दिएको भन्दा त्यो देशको अक्षमतामा लाग्ने दागको मोल कति हुन्छ ? नेपाल सरकारलाई नै एउटा मल्टिनेशनल कम्पनीले चलाउने स्वाभिमानको मोल कति हुन्छ ? यो अहिले सामान्य लाग्ला तर आउँदो तीन पुस्तापछि जब पतञ्जलिले निचोरेर सकाउँछ, तब हामीबाट निस्कने चित्कार मात्र हो । यसको मोल केले पूर्ति गर्छाैं हामी ?

यसरी संसारभर बाँडिएको पैसा र सीप धनीहरुको हातमा मात्र लैजाने र व्यापारीमार्फत संसार चलाउने अभियानको नाम हो उदारवाद । अब उदारवाद आउनुअघिको हाम्रो समाजको चित्र यहाँ राख्न उचित ठान्छु ।

टाढा नजाऔं, यहीँ काठमाडौं र यस वरिपरिको कुरा गरौं । काठमाडौंका हरेक मान्छेको सिप राज्यले सुरक्षित गरेको थियो । आफ्नो सानो लगानीमा पनि उसले उसको सीप प्रयोग गरेर जीवनयापन गर्न सक्थ्यो । तेल उत्पादन गर्ने साल्मी वा तेली, फलाम बनाउने कौवा, कामी वा लोहार, कपाल काट्ने नाउ वा हजाम, जुत्ता सिलाउने सार्की, तरकारी उत्पादन गर्ने ज्यापु, औषधिमा काम गर्ने वैद्य, यहाँसम्म कि नङ काट्ने नङिनी, परालको काम गर्ने बासुकला जस्ता सीपको आधारमा जाति विभाजन गरिएको थियो । समाजमा सीपको कदर थियो ।

उसको सीपको संरक्षण गर्न एकले अर्काको सीप गर्न नपाउने गरिएको थियो । जसले गर्दा सबैलाई समानरुपमा बाँच्ने आधार तयार थियो । तर पछि यस्तो संस्कृतिमा फाटो ल्याइयो । आज जो धनी छ, उसले देश नै कब्जा गरेर व्यापार गर्यो अनि ती पुस्तौनी सीप भएकाहरु बेरोजगार मात्र भएनन्, उनीहरुको सभ्यता नै बिलाएर गयो ।

आज त अचार बनाउने पनि अन्तर्राष्ट्रिय कम्पनी भित्र्याइएको छ । तरकारी उत्पादन गर्न, जडिबुटी संकलन गर्न पनि पनि अन्तर्राष्ट्रिय कम्पनीलाई जिम्मा लागाइँदैछ । यसरी विस्तारै हाम्रा सीप बिर्साएर, यसैलाई विभेद भनेर आन्दोलन गराउने र यहाँका स्रोतहरुमा यी नै मल्टिनेशनल कम्पनीहरुलाई जिम्मा दिएर नेपाललाई विदेशी व्यापारीको कोलोनी बनाउने तयारी छ । त्यसैले उदारीकरण हाम्रो लागि घात हो ।

कसैलाई लागेको होला, नेपालमा पतञ्जलि मल्टिनेशनल कम्पनी आयो, अब जडिबुटी विक्री गरेर नेपाल धनी हुने भयो भनेर । तर आजसम्म कुनै मल्टिनेशनल कम्पनी आएर कुनै ऊखु किसान धनी भएको छ ? चुरोट कारखाना बनेर कुनै सुर्ती उत्पादन गर्ने किसान धनी भएको छ ? नेपाल धनी भएको छ ? यहाँको प्रयोग गर्ने त सित्तैमा हो । कोकाकोला कम्पनीले कसको चिनी किनीदिएर कुन नेपाली किसान धनी भएको छ ? चिनी त ऊ बाहिरबाट ल्याउँछ । चाहिने भाँडा उतैबाट ल्याउँछ । अनि नेपालले के पायो ?

यति नभुलौं कि अंग्रेजकै जस्तो आर्थिक र संस्कृतिक साम्राज्यवाद कायम गर्न मल्टिनेशनल कम्पनीहरु नेपाल पसेका हुन् । त्यति मात्र हैन, जडिबुटीमाथि बाहिरी लगानी हुनै नहुने हो । अन्य उत्पादनको तुलनामा जडिबुटी फरक कुरा हो । यहाँ काम गर्ने कुनै कम्पनी नभएर हो मल्टिनेशनल कम्पनीलाई दिएको ? सरकारले नै चलाइरहेको वैद्यखाना छ । निजी क्षेत्रबाट चलेका हर्बो लगायतका अनगिन्ती जडिबुटी उत्पादक कम्पनीहरु छन् । वैद्यखानाले बजार अत्यधिक माग भएको च्यावनप्रास पनि बजार पुर्याउन नसकिरहेको अवस्था छ ।

आफ्नो उत्पादन बढाउन, हजारौं वर्षदेखि पुस्तैनी पेसाको रुपमा मान्छेको सेवा गर्दै आएका सबै वैद्यहरुको सीपलाई पुस्तान्तरण गर्नु, जडिबुटीको थप अनुसन्धान गर्न सबैभन्दा धेरै लगानी गरेर संरक्षण र प्रमुख आयस्रोत बनाउनु पर्ने जडीबुटीलाई विदेशीको हातमा सुम्पदा पनि उल्सव मनाउने कति मुर्ख हामी ?

यहीँका परियोजना उत्कृष्ट बनाउन नसक्ने अनि मल्टिनेशनल कम्पनी डाबर, युनिलिभरले नपुगेर पतञ्जलि भित्राउने ? वैद्यखाना सुुकाएर पतञ्जलि मोटाउँदा कसलाई फाइदा हुन्छ ? नेपालका जडिबुटी उत्पादकलाई उत्पादक नै बन्न नदिने अनि विदेशीलाई जग्गा दिइदिइ भित्र्याउनु हदैसम्मको राष्ट्रघाती काम हो । यहाँ त मकै बेचेर पपकन, दूध बेचेर कोक, आलु बेचेर चिप्स, आँगनको अपामार्ग छोडेर कोलगेट, तुलसीको बोट फ्याँकेर क्रिसमस ट्रि भित्र्याउन आएका मल्टिनेशनल कम्पनीलाई तामझामपूर्वक स्वागत गरिन्छ । प्रविधि भित्र्याउँछ मल्टिनेशनल कम्पनीले भनिन्छ । के दन्त मञ्जन बनाउनु, अचार प्याक गर्नु, आलुको चिप्स बनाउनु, मकै फुलाउनु र प्याक गर्नु त्यति ठूलो प्रविधि हो ?

अहिल्यै भारतले नेपालमा जे पनि लिएर आउन पाउने, तर नेपालले चीन या अन्य देशबाट भारतमा लगेर सामान बेच्न पाउँदैन । यहाँसम्म कि नेपालकै सामान भारत लगेर बेच्न स्तरीय नभएको भन्दै लिइँदैन । तर उसको कुहिएको, विषले भरिएका तरकारी नेपाल ठेलिरहन्छ । एक देशले उसका सबैथोक थोपर्ने तर अर्को देशको जान नदिने पनि उदारीकरण हुन्छ ? गुलाम मानसिकता भएका हाम्राले यति प्रश्न गरिदिउन् कि हाम्रा सामान गतिलो नहुने भारतलाई हाम्रा जडिबुटीका स्रोत कसरी स्तरीय बने ?

यसरी आफ्नै स्रोत मासेर त्यसका ठाउँमा धनी देशका सामान बिक्री गर्ने बजारको ग्राहक विस्तारको प्रक्रिया हो नवउदारवाद । तर हाम्रो मन नै गुलाम बनाएर हामीलाई लुटिरहेको छ उदारीकरणले ।

उदारीकरण कति घातक छ भन्ने कुरा हामी मात्र हैन अहिले संसारले महसुस गरिरहेको छ र पश्चिममा अहिले उदारीकरण उखेलेर नफ्याँकी हामी चुप बस्दैनौं भन्ने अभियान चलेको छ । पश्चिममा उदारीकरणको कसरी विरोध हुँदैछ थाहा पाउन क्यानेडियन लेखक सिमोन स्प्रिंगरको चर्चित आलेख ‘फक लिबराइजेसन हेरे पुग्छ ( https://www.acme-journal.org/index.php/acme/article/view/1342 ) ।

यसमा उनले लेखेका छन्ः धनीलाई अतिधनी मात्र हैन धनी देशले सबै गरिब देशलाई नियन्त्रणमा राख्ने औजार हो उदारवाद । व्यापारको माध्यमबाट संसारका गरिब देशबाट पैसा केन्द्रित गर्ने चाललाई उदारवाद भनेको भन्दै उदारवादलाई जुन कोणबाट हेरे पनि थुक्न लायकको भएको उल्लेख गरेका छन् ।

यस्ता व्यापारीहरुको विस्तारवाद कति घातक छ भनेर जान्न टाढा जानु पर्दैन । व्यापारको नाममा आएको इष्टइण्डिया कम्पनीले भारतमा के गर्यो त्यो मात्र हेरे पुग्छ । व्यापार गर्न भनेर आएको इष्ट इण्डिया कम्पनीले तीनसय वर्ष शासन गर्दा अर्थ मात्र लुटेर लगेन, त्यहाँको शिक्षा, भाषा, संस्कृति सबै मासेर उसको संस्कृति लादेर गयो । जुन पीडा अंग्रेज भारतबाट गएको ८० वर्ष पुग्न लाग्दा पनि कायम छ ।

त्यसैले राष्ट्रव्यापी रुपमा उदारीकरण विकासको नाममा आउने गरिबलाई झनै गरिब बनाउने र धनी देशहरुमा पैसा केन्द्रित गर्ने विनाशकारी योजना हो भनेर धेरै लेखकहरुले लेखिरहेका छन् । यसबारे एउटा आलेख दि गार्जीयनमा छापिएको छ । जर्ज मन्बिओटले लेख्नु भएको ‘न्युलिवरिजम– द आइडोलोजी एट दि रुट अफ अल प्रोब्लम’, अर्थात् ‘नवउदारवादः सबै समस्याको प्रमुख कारक’ हो । २०१६ अप्रिल १५ मा छापिएको सो आलेख पनि धनी देशहरुले जे गर्यो त्यो नै अकाट्य भन्ने मान्ने उदारवादका अन्धभक्त हामीलाई आँखा खोलिदिने खालको छ । https://www.theguardian.com/books/2016/apr/15/neoliberalism-ideology-problem-george-monbiot

कतिले हामीले नै उत्पादन गरौं, हामी नै प्रयोग गरौं बाहिरको रोक्ने काम मात्र गर्न सके हामी धेरै अघि बढ्न सक्छौं भन्दा राष्ट्रियताको खोक्रो आडम्बर भन्नुहुन्छ । सरकारले कम्पनी चलाएर सम्भव हुन्छ ? भन्ने उही विदेशीको प्रश्न गर्नुहुन्छ । निजीकरण हुनबाट जोगिएको तारागाउँ रिसोर्ट अहिले सरकारलाई सबैभन्दा धेरै कर तिर्नेमा छ । एउटा हुन सक्छ भने अर्को हुन सक्दैन ? आफ्नोमा गर्व गरौं अनि मात्र विकास हुन सक्छ । संसारका धनी देशहरुमा हामी अमेरिका, फ्रान्स, चीन, जापानको नाम लिन्छौं । ती सबै देशहरु राष्ट्रियताको नाराबाटै माथि उठेका छन् । यसबारे अर्को आलेखमा कुरा गरौंला ।

उदारीकरणले कुन गरिब देश धनी भए ? बरु धनी देशहरुले गरिव देशमा व्यापारका नाममा तिनै गरिव देशबाट अरवौं अरव निचोरेर लगिरहेका छन् । उनीहरुको व्यापार विस्तारले हामी हाम्रो आर्थिक निरर्भरता उसैमा केन्द्रित गरिरहेका छौं । यतिमात्र होइन, एकअर्काको साथमा समूहमा काम गर्ने हाम्रो संस्कृति टुटेर हामी छिन्नभिन्न समाजमा परिणत भएका छाैं । यो सबै तथ्य हेरेपछि भन्न सकिन्छ धनी राष्ट्रले उत्पादन गरेका सामान उपभोग गर्ने गरिव देशहरुको उपभोक्ता बजारको नाम हो उदारीकरण ।


प्रतिक्रिया

10 thoughts on “पतञ्जलिलाई नेपाली जडिबुटीको ढुकुटी दान, योभन्दा राष्ट्रघात के होला ?

  1. समसामयिक र उचित बिचार सहितको लेखको निम्ति बहिनी विनु पोखरेललाई धेरै धेरै धन्यवाद । आशा छ यस बिषयमा सम्वन्धित निकायले राष्टहितलाई सर्वाैपरि ध्यानमा राख्दै समयमै गम्भिर रुपमा छलफल गरी उचित निर्णय लिनेनै छ ।

  2. देश डुबाउने भष्मासुरहरू विरुद्ध बेजोड आलेख । लेखिकालाई साधुवाद !

  3. पतञ्जलिको बिरोध आखिर किन?
    १.पतञ्जलिले नेपाल बाट १ रुपियाँ पनि नलाने घोषणा गरेको छ,यो नेपालमा गैर नाफामुलक संस्था को रूपमा आएको छ
    २.पतञ्जलिले इन्डियामा अन्य कम्पनी(डाबर,वैद्यनाथ,हिमालय)भन्दा आधा मूल्यमा गुणस्तरिय औषधि उत्पादन र बिक्री गर्दछ,यी औषधि आयात गर्दा नेपालको ठुलो राशिको व्यापार घाटा छ,
    ३. इंडिया र नेपालका कम्पनीले पतञ्जलीको रिसर्चपेपरको चोरी गरी आफ्ना उत्पादन बिक्री गर्दछन,
    ४.पतञ्जलिले इंडिया आत्म निर्र्भर्ताको बृहत आन्दोलन चलाई capital flight लाई तिब्र रुपमा रोकेका छन,जसको उदाहरण बालकृष्ण आफै billionarion हुन भने उनै बालकृष्ण आफ्नो जन्मभूमिमा केही गर्न चाहन्छन्,
    ७.यदि पतञ्जलिको लगानी नचाहिँने हो भने NRN लाई हारगुहार किन?
    ८.स्वदेशी आयुर्वेदिक लगानी धोस्त हुने डर हो भने chinese hongshi सिमेन्ट उद्योग नेपालमा किन ?
    ९.फेरि नेपाल आयुर्वेदिक उत्पादनको उच्च संभावना भएको मुलुक होइन?,यहाँ ठुलो franchaise को लगानी आवश्यक छैन?बिना प्रविधि research &devlopment हुने भए विदेशी वस्तु उपयोग किन गरेको,
    चुरोट र कोक जस्ता विश व्यापारको तुलना प्राकृतिक उत्पादन वैकल्पिक औषधि संघ गरेर तपाईंले पत्रकारीता क्षेत्रमा कार्यरत पत्रकार कै स्तरमाथी खिल्ली उडाउनु भयो कि

    1. प्रकाश सुबेदी जी, यहाको कमेन्ट मा केहि कमजोरी भेटियो जस्तो लायो , यहाको प्रश्नको जवाफ बुदा गत रुपमा:

      १) पतंजली अरबपति कम्पनि हो र यहानिरा यो नाफारहित भन्नु नै गलत हो! यो भारतीय बहुरास्त्रिया कम्पनि हो!
      २) मुख्य प्रशं हामीले हाम्रो स्थानीय उत्पादन र उधोय्गलाइ प्रोतहन्स दिएर अन्तरास्ट्रिय कारण गर्ने, कि बिदेशी कम्पनि भित्राएर यहाको मौलिक उद्योग बन्द गराउने हो? यसमा अवश्य समय लाग्छ, तर हाम्रो लक्ष्य निसन्देह त्यो हुन् अ पर्छ! पतंजली आफैले भारत कै स्थानीय श्रोत बाट आफुलाई यो तह सम्म ल्यायो, भारतीय उधोग लै बढावा दिने भनेर बिदेशी लगानी ल्यायन नि होइन र? सरकार ले त नेपालमै रिसर्च, अनि व्यापार मा पो लगानी गर्ने हो! नेपालको स्वास्थ्य मन्त्रालयको भन्दा बढि बार्षिक आम्दानी गर्ने बिदेशी कम्पनि लाइ सित्तै मा जग्गा दाङ गर्ने होइन नि!

      ३) अर्को कुरा, बालकृष्ण नेपालमा जन्मिय मात्र, हाललाई उनि भारतीय नागरिक हुन्! उनि नेपालमा जन्मिएथे भनेर भावनात्मक सम्बन्ध छ होला तर अहिले उनको हर्कत हेर्दा सन्तोष जनक छैन! हजारौ बर्ह्स देखिका सानो तिनो जडिबुटि को कारोबार गरेर बस्ने हरु टाट पल्टिनु पर्ने हो र कसैको लागि? अनि नेपालले आफ्नै जडिबुटि उधोय्ग कहिले खोल्ने? यो कुनै व्यक्ति को कुरा होइन! देशको योजना कता छ भन्ने कुरा हो! भारत आफु सबल हुन खोज्छ, नेपाल परतन्त्र मुखी हुन खोज्छ, फरक तेती हो!
      ४) एन. आर. यन. र पतंजली कसरि एउटै तुला मा दज्नुभायो? छक्क लायो! येन आर येन. कुनै हद को नेपाली नागरिक मान्छ कानुनले, तर पतंजली बिसुद्दा भरतिउय कम्पनि हो!
      ५) नेपालको जडिबुटिको अंतरास्र्तियाकरण पो गर्ने हो! यो र बिदेशी जडिबुटि उधोय्ग्लाई नेपालमा फ़्र्यनकाइज गराउनु एउटै हो र?

      मुख्य कुरा हाम्रो योजना के हो? हामि आफु सबल हुन जोड दिने हो कि होइन भन्ने हो!

      1. धेरै हदसम्म लेख सान्दर्भिक छ।डाबर र काेकाकाेला जस्तो मल्टिनेसनल कम्पनीले तल्लोस्तरका श्रमिकलाई राेजगारी दिएपनि विद्वततहमा विदेशी नै राखेको छ। देशकाे कच्चापदार्थको शाेषण कति कति। देशभित्र केमिस्ट, रिसर्चर ,वैद्य तथा हरेक क्षेत्रमा बिशेषग्यता हासिल गरेका व्यक्तिले काम पाइरहेका छैनन् र विदेशपलायन भैरहेका छन् नेताहरुको देश बनाउने याेजना यस्तो नालायक छ।

    2. U are right ! We cant put all multinationals in same page. Nepal needs expertise , research , development and investments .especially in the field of agriculture , herbs and medicines.

    3. प्रकाशजी रिसर्च पेपर र त्यसको नक्कल/चोरीको कुरा गर्नु भयो यसको प्रमाणदिनु होला । कुन कुन नेपाली कम्पनीले सो काम गरेका छन् ?? अलि स्पष्ट पार्नुहोला अन्यथा कसैको संरक्षणको नाउमा अर्कोलाई हिलो छ्याप्नेकाम नगर्नुहोस् ।

    4. पतन्जलि ले १ रुपैयाँ पनि नलैजाने??? पतन्जलि ले भन्याे तपाईंले पत्याउनु भयाे!?

  4. अनुसन्धानमुलक, शिक्षामुलक र समाजहितको यात्रामा पुर्णबिराम लागे जस्तो लाग्थ्यो तर जिबितनै रहेछ। लेखिका बहिनिलाई धन्यबाद।

  5. आलेख एकदम मन प-यो, लेखिकालाई साधुवाद , नेपालको श्रोत र साधन सिध्याउन लागी परेका बहुराष्ट्रिय कम्पनी मा एउटा थप भएको छ, लेख महत्वपूर्ण लाग्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *