रोल्पाली अमरसिंहको काँधमा लुम्बिनी कांग्रेस हाँक्ने जिम्मेवारी
रुपन्देही । माओवादी सशस्त्र द्वन्द्वको उद्गमस्थल रोल्पामा नेपाली कांग्रेसको नीति तथा कार्यक्रम कार्यान्वयनमा निरन्तर लागि परेको ५१ वर्षीय अमरसिंह पुन लुम्बिनीको सभापतिमा निर्वाचित हुन सफल भए ।
१२ जिल्ला रहेको लुम्बिनीमा सबैभन्दा विकट जिल्लाबाट मुख्य राजनीतिक दलको नेतृत्वमा आउन खोज्नु नै उनको साहस थियो । सशस्त्र द्वन्द्वको समयमा उनकै जिल्लामा १ सय २० भन्दा धेरै कांग्रेस कार्यकर्ता मारिँदा धेरैले ज्यान जोगाउन राजनीति मात्रै होइन, भूगोल नै छाड्नु परेको थियो ।
द्वन्द्वको पीडा भोगेका पुन अहिले नेपाली कांग्रेसको लुम्बिनी सभापतिमा विजयी भएर चर्चा बटुलेका छन् । पार्टीको संस्थापन समूह अर्थात् पार्टीभित्रकै प्रभावशाली मानिएका गृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँणेल, पूर्व गृहमन्त्री स्व. खुमबहादुर खड्काको समूहसहितका प्रभावशाली नेताहरुको समर्थन लिएर उठेका भरतकुमार शाहलाई पराजित गर्नु पुनका लागि ठूलो सफलता हो ।
पुनले ७–८ महिनाअघि प्रदेश सभापतिको उम्मेदवार भनेर सार्वजनिक हुँदा धेरैलाई पत्यार लागेको थिएन । पार्टी संस्थापन समूहबाट केन्द्रीय राजनीतिमा बलियो सम्बन्ध बनाएर प्रदेशमा झरेका रुपन्देहीका भरतकुमार शाहलाई मात्र पुनले हराएका छैनन्, देउवापछिको शक्तिशाली बन्दै गएका गृहमन्त्री बालकृष्ण खाँणको आगामी राजनीतिमाथि नै प्रश्न ठडिएको छ ।
पुन निकटकै नेताहरु भन्थे– चुनाव जित्न सकसै होलाजस्तो छ । तर रोल्पामा माओवादीसँग लडेर कांग्रेसको राजनीतिमा अडिएका पुनले संस्थापन समूहको अन्तरविरोधमा खेल्नसके र रुपन्देहीबाट लगातार तीनपटक निर्वाचन जितेका राजनीतिक खेलाडी शाहलाई हराएर गृहमन्त्री खाँणलाई निरीह बनाएका छन् ।
पार्टी र सरकारको शक्तिमा रहेका गृहमन्त्री खाँण पार्टीको प्रदेश निर्वाचन प्रमुख नै थिए । गृहजिल्ला रुपन्देहीमा शुक्रबार अधिवेशन उद्घाटनको प्रमुख अतिथि बनेका खाँणले मन्चबाटै शाहको पक्षमा मत मागेपछि धेरैलाई लागेको थियो– पुनले चुनाव जित्ने छैनन् ।
पुन निकटकै नेताहरु भन्थे– चुनाव जित्न सकसै होलाजस्तो छ । तर रोल्पामा माओवादीसँग लडेर कांग्रेसको राजनीतिमा अडिएका पुनले संस्थापन समूहको अन्तरविरोधमा खेल्नसके र रुपन्देहीबाट लगातार तीनपटक निर्वाचन जितेका राजनीतिक खेलाडी शाहलाई हराएर गृहमन्त्री खाँणलाई निरीह बनाएका छन् । यद्यपि खाँणको भूमिका शाहलाई जिताउने नारा देखावटी थियो भन्ने पनि बहस शुरु भएको छ ।
कांग्रेस पूर्वसभापति स्व. शुशील कोइरालाको पारिवारिक सदस्यजस्तै नजिक रहेका पुनले पार्टीभित्रको संस्थापनइतर समूहका नेताहरु चन्द्र भण्डारी, दीपक गिरी, सन्जय गौतमको मन जितर बसेका थिए, पहिलेदेखि नै । तीनै नेताहरुले पुनको नेतृत्वमा जाने टुंगो लगाएको थियो । उनी शुरूदेखि नै संस्थापनइतर समूहबाट प्रदेश सभापतिका साझा उम्मेदवार बन्नका लागि धेरै भूमिका खेल्न सकेका थिए ।
उक्त समूहबाट सभापतिमा कसैको दाबी सार्वजनिक हुन नदिनु नै उनले धेरै पहिले शुरु गरेको सक्रियतामा निर्भर थियो । लुम्बिनी प्रदेशमा सहरी क्षेत्र र कांग्रेसको बलियो प्रभाव भएका जिल्लाहरु छन् । त्यत्तिकै संख्यामा केन्द्रमा पहुँच राख्ने नेताहरु पनि छन् । तर तुलनात्मक रुपमा विकट र पार्टीको संगठन कमजोर भएको जिल्ला रोल्पाबाट राजनीतिमा होमिएका पुनको नेतृत्वले ओझेलमा रहेका कांग्रेस कार्यकर्ताले न्याय पाउने दाबी पुनको छ ।
निर्माण व्यवसायसँगै राजनीति गर्ने पुनलाई माओवादी कार्यकर्ताले दिएको पीडा धेरै छ । निर्माण सामग्रीहरू माओवादीले जलाइदिएपछि पुन रोल्पाबाट विस्थापित भएर कहिले काठमाडौं त, कहिले नेपालगञ्ज बसेर पार्टीको राजनीतिलाई निरन्तरता दिएका थिए उनले ।
निर्वाचनपछि नेपाल प्रेससँग कुरा गर्दै पुनले भनेका छन्– मैले विगत भुलेको छैन, पार्टीको नीति र विधानभित्र रहेर सबैलाई पार्टीको अपनत्व हुनेगरी काम गर्नेछु । निर्वाचनमा समूहगत उम्मेदवारी भएपनि अब सबै कांग्रेस बराबर हो, लुम्बिनीमा पार्टीलाई बलियो बनाएर स्थानीय, प्रदेश र संघीय निर्वाचनमा कांग्रेसलाई सबै क्षेत्रमा जिताउने मुख्य उद्देश्य हुनेछ ।’
पुनले कांग्रेसलाई गोलबन्द गर्दै आफू अगाडि बढ्ने बताए । पार्टीको नीति कार्यक्रम र विचार बृहत विमर्श गर्न प्रदेश नीति अधिवेशन आयोजना र पार्टी स्कूल आफूले सञ्चालन गर्ने योजना अगाडि बढाउने पुनको योजना छ ।
पुनको राजनीतिक इतिहास
२०२७ सालमा रोल्पाको गंगादेव गाउँपालिका वडा नम्बर ७ राँक गाउँमा जन्मिएका अमरसिंह पुन २०४८ सालदेखि कांग्रेसको राजनीतिमा लागेका हुन् । तर उनले राजनीति सुरु गरेको केही वर्षमा नै रोल्पाको राजनीतिले फरक मोड लियो । रोल्पामा माओवादीको सशस्त्र द्वन्द्वकालमा सक्रिय राजनीति गरेका पुन कांग्रेस नेता स्व. सुशील कोइरालाको पारिवारिक सदस्यकै रुपमा रहेर काम गरेका हुन् ।
निर्माण व्यवसायसँगै राजनीति गर्ने पुनलाई माओवादी कार्यकर्ताले दिएको पीडा धेरै छ । निर्माण सामग्रीहरू माओवादीले जलाइदिएपछि पुन रोल्पाबाट विस्थापित भएर कहिले काठमाडौं त, कहिले नेपालगञ्ज बसेर पार्टीको राजनीतिलाई निरन्तरता दिएका थिए उनले ।
शान्ति सम्झौतापछि पुनः गृहजिल्ला फर्किएर कांग्रेसको सक्रिय राजनीतिमा होमिएका पुन २०६७ मा रोल्पा कांग्रेसको पार्टी सभापतिमा प्रतिस्पर्धा गरेका थिए । त्यो समय कृष्ण घर्तीसँग पराजित भएका उनी २०७० मा समानुपातिकबाट संविधानसभा सदस्य भएर सांसद छिरे र सिँचाइ राज्यमन्त्री भए । पुनले कांग्रेस विधान मस्यौदा समितिको सदस्य बनेर काम गरेका थिए ।
२०७२ मा सालमा मानबहादुर खत्रीलाई पराजित गर्दै रोल्पा कांग्रेस सभापतिका पुन २०७४ मा संघीय संसदको निर्वाचन लडेपनि माओवादी नेता वर्षमान पुनसँग पराजित भए ।
कांग्रेस नेता पुनले लुम्बिनी प्रदेश विभाजनविरूद्धको अखण्ड लुम्बिनी प्रदेश आन्दोलनमा सक्रिय रहेर धेरैको मन जित्नसकेका थिए । बुटवलमा भएको सभामा पुनले भनेका थिए, ‘मेरो पार्टीको ह्वीपविरुद्ध मैले अखण्ड लुम्बिनी प्रदेशकै पक्षमा मतदान गर्छु । मेरो सांसद पद गए जाओस् । कांग्रेसको भोटर मात्र बनेर बस्न तयार छु ।’
उनको उक्त भाषण निकै चर्चित भएको थियो त्यतिबेला । धेरैले त्यही सभाबाट उनलाई चिनेका हुन् । त्यो आन्दोलनको बलमा संविधान संशोधनको प्रस्तावबाट सरकारपछि हटेपछि उनको उचाइ बढेको थियो अर्थात् उनी सफल मानिएका थिए ।
नेता पुनको सक्रियतामा पार्टीको १४ औं महाधिवेशनअन्तर्गत रोल्पाका वडा, पालिका र क्षेत्रका सबै तहमा सर्वसम्मत रूपमा नेतृत्व टुंगाएका कारण पनि उनले धेरैको मन जित्न सकेका थिए ।