राजनीतिमा होमिए चर्चित लोकगायक क्षेत्री, कांग्रेस केन्द्रीय सदस्यमा उठ्दै – Nepal Press

राजनीतिमा होमिए चर्चित लोकगायक क्षेत्री, कांग्रेस केन्द्रीय सदस्यमा उठ्दै

काठमाडौं । चर्चित गायक विमलराज क्षेत्री राजनीतिमा होमिएका छन् । लामो समय लोकगायनको क्षेत्रमा क्रियाशील क्षेत्री १४ औं महाधिवेशनमा नेपाली कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दैछन् ।

पर्वतबाट खुल्ला महाधिवेशन प्रतिनिधिमा निर्वाचित क्षेत्रीले लोकसांस्कृतिक क्षेत्रको सम्मान र प्रतिनिधित्वका लागि आफू केन्द्रीय सदस्यको उम्मेदवार रहेको बताए ।

२०५० सालमा पर्वतको श्री शारदा माविबाट नेपाल विद्यार्थी संघको राजनीतिमा प्रवेश गरेका क्षेत्री नेपाल ट्रेड युनियन कांग्रेसको पूर्व केन्द्रीय सदस्य समेत हुन् । २०५६ सालबाट औपचारिक गायन यात्रा सुरु गरेका क्षेत्रीको बल्लै भो भेट, जापान टोकियो , सुपारी चाम्रो, बुट्टे रुमाल, मधुवनैमा, रानीघाटैमा, हिमाल सेतै छ, औठी कुसैकोलगायतका गीतहरु चर्चित छन् ।

उनले नेविसंघ, ट्रेड युनियन कांग्रेस र नेपाली कांग्रेस सम्बन्धी गीतहरु पनि गाएका छन् । सुन सुन साथी, वीपी सम्झेर , कांग्रेसको सिपाही लगायतका पार्टी गीतहरु क्षेत्रीले गाएका छन् । लोकतान्त्रिक पार्टीमा आवद्ध भएर कलाकर्मीले पनि राजनीतिक योगदान दिनुपर्ने क्षेत्रीको भनाई छ ।

‘म गायनमा आउनुअघि नै नेविसंघको राजनीतिमा सक्रिय थिएँ । लामो समय विभिन्न फोरममा बसेर लोकतन्त्र र कांग्रेसका लागि काम गरियो । अब केन्द्रीय समितिमै पुगेर काम गर्न चाहेको छु’, क्षेत्रीले भने ।

उनले कांग्रेसलाई सबै क्षेत्र र पेशामा आवद्ध नेपालीहरुको आकर्षणको केन्द्र बनाउन आवश्यक रहेकोले कलाकर्मीलाई पनि उपयुक्त भूमिका दिन जरुरी रहेको बताए । ‘हरेक राजनीतिक आन्दोलन होस वा कार्यक्रम कलाकर्मीले योगदान गरेकै छन् । अब आमसभामा मान्छे बटुल्न मात्रै होइन राजनीतिक नेतृत्वमा समेत कलाकारलाई भूमिका दिनुपर्छ’, क्षेत्रीले भने ।

क्षेत्री लोकतान्त्रिक लोकदोहोरी संघको संस्थापक अध्यक्षसमेत हुन् ।

यस्तो छ क्षेत्रीको राजनीतिक करिअर–

सचिव, नेविसंघ शारदा मावि पर्वत – २०५०
सचिव, नेविसंघ, पर्वत बहुमुखी क्याम्पस – २०५३
केन्द्रीय सदस्य, जयनेपाल सांस्कृतिक प्रतिष्ठान– २०५६
उपमहासचिव, नेपाल कलाकर्मी संघ– २०६८
केन्द्रीय सदस्य, नेपाल ट्रेड युनियन कांग्रेस – २०७०
संस्थापक सभापति, लोकतान्त्रिक लोकदोहोरी संघ– २०७४
नेपाली कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि – २०७८


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर