युवा संघ भक्तपुरका सदस्य राजन श्रेष्ठकाे कुटपिटबाट हत्या – Nepal Press

युवा संघ भक्तपुरका सदस्य राजन श्रेष्ठकाे कुटपिटबाट हत्या

काठमाडौं । राष्ट्रिय युवा संघ नेपाल भक्तपुर जिल्ला कमिटी सदस्य राजन श्रेष्ठको कुटपिटबाट हत्या भएको छ ।

भक्तपुरको सूर्यविनायक नगरपालिका-२ बालकोटको सिमाना हनुमन्ते खोला किनारामा गम्भीर घाइते अवस्थामा उनलाई भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक एवं सूचना अधिकारी लोकबहादुर जिसिले नेपाल प्रेसलाई बताए ।

प्रहरीको टोलीले श्रेष्ठलाई उपचारको लागि थिमीस्थित मध्यपुर अस्पतालमा पुयाएको थियो । उपचारको क्रममा रातिनै उनको मृत्यु भएको प्रहरीले बताएको छ । उनको शव हाल अस्पतालमा नै रहेको छ ।

‘करिब पौने १० बजे गठ्ठाघरमा आफ्नो गाडी पार्किङ गरी घर जाने क्रममा हनुमन्ते खोलाको फलामे पुल काटे लगत्तै खाली जग्गामा अज्ञात व्यक्तिहरुले कुटपिट गरी भागेका रहेछन् । कुटपिट गरिरहेको स्थानीय मजदुरले देखेपछि हामीलाई खबर गरेका थिए ।’ उनले भने ।

हत्या के कारणले भएको हो भन्ने अझै खुल्न नसकेको प्रहरी निरीक्षक जिसीले बताए । मृतक श्रेष्ठको मुख र निधारमा गहिरो चोट रहेको र कुटपिटबाट तथा हतियार प्रयोग गरेको हुनसक्ने प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत थिमीबाट प्रहरी नायव उपरिक्षक नरहरी रेग्मीको कमाण्डमा अनुसन्धान अधिकृतसहितको प्रहरी टोलीले अनुसन्धान शुरु गरेको छ ।

हत्यामा सलंग्न भएको आशंकामा केही शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने क्रम जारी रहेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *