जनकपुरमा सीता-राम स्वयंबर हेर्न उर्लिए लाखौं श्रद्धालु (तस्बिरहरु) – Nepal Press

जनकपुरमा सीता-राम स्वयंबर हेर्न उर्लिए लाखौं श्रद्धालु (तस्बिरहरु)

जनकपुरधाम । आज मंसिर शुक्ल पञ्चमी । आजकै दिन त्रेतायुगमा भगवान राम र सीता वैवाहिक बन्धनमा बाँधिएको जनविश्वास छ । उक्त सम्झनामा हरेक वर्षझैं यस वर्ष पनि जनकपुरधाममा धुमधामसँग वैदिक विधिअनुसार प्रतिकात्मक सीता-रामको विवाह गरिँदैछ ।

वैवाहिक कार्यक्रमअन्तर्गत ऐतिहासिक रंगभूमि मैदानमा आज स्वयंबर भएको छ । राम मन्दिरबाट बाजागाजा, झाँकीसहित रामको प्रतिमालाई विशेषरूपमा निर्मित डोला र जानकी मन्दिरबाट किशोरी (सीता)को विशेष सुसज्जित डोला रंगभूमि मैदान पुगेपछि स्वयम्बर कार्यक्रम सुरु भएको हो ।

सीता–रामको स्वयंवर विधि हेर्न रंगभूमि मैदानमा लाखौं श्रद्धालु उर्लिएका छन् । जानकी मन्दिरदेखि रंगभूमि मैदानसम्म श्रद्धालुको ठूलो लस्कर छ । स्वयम्बर सम्पन्न भएपछि सीता-रामलाई जानकी मन्दिरमा ल्याइन्छ । जानकी मन्दिरमा आज साँझ मिथिला संस्कृतिअनुसार सीता-रामको विवाह सम्पन्न हुन्छ ।

यसअघि नगर दर्शन, फूलबारी लीला, धनुष यज्ञ, तिलकोत्सव र मटकोर सम्पन्न भइसकेको छ । आज स्वयम्बर र विवाह सम्पन्न भएपछि भोलि जानकी मन्दिरमा रामकलेवा हुन्छ ।

भारतबाट जन्तीको रुपमा आएका साधुसन्त र महन्थहरुलाई ३६ व्यञ्जनको भोजन र दान दक्षिणासहित बिदाइ गर्ने चलन छ । यसलाई नै रामकलेवा भनिन्छ ।

कोरोना संक्रमणको जोखिम रहेकाले विवाह पञ्चमीमा सहभागीलाई सामाजिक संघसंस्था र सुरक्षाकर्मीले मास्क वितरण गर्न ठाउँठाउँमा हेल्थ डेस्क राखिएको छ ।

करिब ४ लाख श्रद्धालुलाई मास्क वितरणको व्यवस्था मिलाएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए । उनका अनुसार श्रद्धालुको सुरक्षार्थ करिब २७ सय सुरक्षाकर्मी परिचालन भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *