राष्ट्रकवि घिमिरेको सम्मानमा हुलाक टिकट प्रकाशन (भिडिओ)
काठमाडौं । सरकारले राष्ट्रकवि स्व.माधवप्रसाद घिमिरेको सम्मानमा हुलाक टिकट प्रकाशन गरेको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा राष्ट्रकविको सम्मानस्वरुप हुलाक टिकट प्रकाशन गरिएको हो ।
कार्यक्रममा बोल्दै नेपाल सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्वर्गारोहणपछि पनि राष्ट्रकवि घिमिरे सबैको प्रेरणाको श्रोत रहेको बताएका छन् । मन्त्री कार्कीले राष्ट्रकवि घिमिरेको योगदानलाई ताजा गराउन हुलाक टिकट प्रकाशन गरिएको र यो नेपालीहरुको लागि गौरवको विषय भएको बताए ।
मन्त्री कार्कीले भने,‘उहाँको स्वर्गारोहणपछि पनि उहाँ हामी सबैको प्रेरणाको श्रोत हुनुहुन्छ । उहाँ कालजयी हुनुहुन्छ । उहाँले रचना गरेका सम्पत्ति नेपालीहरुलाई छोडेर जानुभएको छ । यो सदा उच्च सम्मानका साथ नेपालीहरुले यसलाई आत्मसाथ गर्नेछन् । यो धर्ती रहुन्जेल नेपाल रहन्छ, नेपाल रहुन्जेल नेपालीहरु रहन्छन् र नेपालीहरु रहुन्जेल राष्ट्रकवि माधवप्रसाद घिमिरे सदैव पुस्तौँपुस्तासम्म उहाँको संस्मरण रहिरनेछ । त्यसलाई अझ ताजा स्मरण गराउन हामीले हुलाक टिकट प्रकाशन गरेका छौँ । यो सबैका निमित्त सन्तोष र गौरवको विषय हो ।’
कार्यक्रममा राष्ट्रकवि घिमिरेकी छोरी डा.किरण रेग्मीले मृत्युपछि पाएको हुलाक टिकटको सम्मान हरेक नागरिकका घरमा पुग्ने बताइन् । उनले मानिसहरुले देहावसानपछि बिस्तारै बिर्सिंदै जाने भनेपनि उनका गीत र कविताहरुले कहिल्यै बिर्सिन नसकिने बताइन् । डा. रेग्मीले गाउँछ गीत नेपाली भन्ने गीत राष्ट्रगानबाट हटाएकोप्रति चिन्ता व्यक्त गरिन् ।
डा. रेग्मीले भनिन्, ‘बुबाले मृत्युपश्चात् जुन यो मानसम्मान पाउनुभएको छ, यो घरघरमा जान्छ । पहिलाको सम्मानहरु कोठामा हुन्थे, विद्यार्थी, शोधकर्ताहरुका लागि मात्रै हुन्थे । मान्छे मरेपछि बिर्सिंदै जान्छ भन्छन् तर उहाँका कविता, गीतहरुले अझै भावुक बनाउँछ । राष्ट्रगानमा देशको सीमा, दलित, जनजाती सबैलाई छोएको गीत गाउँछ गीत नेपाली भन्ने थियो, अब हुन पाएन, केही कारणले होला, समयले होला । त्यो गीतले शरीर नै तात्थ्यो ।’