३४ हजार किसान लाभान्वित हुने गरी ‘सिसा’को नयाँ कार्यक्रम लागू – Nepal Press

३४ हजार किसान लाभान्वित हुने गरी ‘सिसा’को नयाँ कार्यक्रम लागू

कैलाली । कैलाली र कञ्चनपुर लगायत सात जिल्लामा ३४ हजार किसान लाभान्वित हुने गरी ‘सिसा’ परियोजनाले नयाँ कार्यक्रम सुरु गरेको छ ।

२ वर्षसम्म सञ्चालन हुने परियोजनाले कैलाली, कञ्चनपुर बर्दिया, बाँके, सुर्खेत दाङ र कपिलवस्तुमा ३४ हजार बढी किसान र लघु, साना तथा मझौला उद्योगीहरूलाई सहज हुने अपेक्षा गरिएको छ ।

बिहीबार कञ्चनपुरमा आयोजना गरिएको कार्यक्रममा परियोजनाको प्रभावकारिता बारे जानकारी गराइएको थियो । कैलाली कञ्चनपुर लगायतका जिल्लाहरू कृषि भूमिको रूपमा परिचित छ ।

किसान र साना तथा मझौला उद्योगीहरूलाई थुप्रै समस्या रहेको भन्दै उनीहरूको सहजताको लागि नयाँ परियोजना लागू गरिएको खड्गजंग गुरुङले बताए ।

‘यी क्षेत्रका कृषिको ठुलो सम्भावना छ’ उनले भने, ‘सम्भावना भित्र समस्या पनि उस्तै छ हामी ती समस्या हल गर्ने प्रयास गिर्ने छौँ ।’

किसानले उत्पादन गरेको वस्तुले बजार नपाउने गरेको गुनासो पनि व्याप्त रहेकाले उत्पादनलाई भण्डारण गर्ने र ती उत्पादनबाट अन्य वस्तु तयार गर्न समेत मद्दत गर्ने योजना रहेको उनले बताए ।

उनले भने – कोरोनाका कारण धेरै किसानका उत्पादन खेतमै खेरका गएका थिए । अब त्यस्तो नहोस् भन्नका लागि हामीले त्यसलाई अन्य ढङ्गबाट पनि प्रयोग गर्ने प्रविधिबारे पनि जानकारी गराउने छौँ ।

किसानहरूलाई लघु, साना तथा मझौला उद्योग सञ्चालन गर्न आवश्यक पर्ने कर्जाका लागि बैङ्कहरूसँग समन्वय गर्ने काम पनि परियोजनाले गर्नेछ ।

किसानको उत्पादनलाई बजारीकरण गर्न मात्र नभई किसानलाई आवश्यक पर्ने उपकरण तथा अन्य मल, खाद र बिउँ बिजनको लागि पनि सहजता सृजना गर्ने योजना रहेको सिसा परियोजनाका क्षेत्रीय प्रमुख लोकेन्द्र खड्काले जानकारी दिए ।

‘किसानको उत्पादन बढाउन उनीहरूले समयमै बिउ बिजन तथा मल खाद पाउन आवश्यक छ । त्यसको लागि यहाँ रहेका एग्रोभेटहरुलाई बैङ्क प्रक्रियामा सहजता सृजना गर्ने पनि हाम्रो नीति रहेको छ’, उनले भने ।

नयाँ परियोजनाले कोरोनाबाट प्रभावित भएका किसान महिला तथा विपन्न वर्गमा नागरिकहरूलाई प्राथमिकता दिने जनाएको छ । सात जिल्लामा ७५० लघु तथा साना तथा मझौला उद्योगहरूलाई सहयोग गर्ने लक्ष्य रहेको उनले बताए ।

‘हामीले पुजी, प्राविधिक ज्ञान, सिप र बजारीकरणको व्यवस्थापनमा समन्वय गर्छाै’, उनले भने ‘बिना धितो सहुलियत पूर्ण कर्जा उपलब्ध गराउन पनि पहल भइरहेको छ ।’

उनका अनुसार कृषिमा आधारित व्यवसाय सञ्चालन गर्न १० देखी १५ लाख सम्मको लागि बिना धितो सहुलियत पूर्ण कर्जा उपलब्ध गराउन परियोजनाले मद्दत गर्ने छ ।

कार्यक्रममा सहभागी किसान र कृषिसँग सम्बन्धित व्यक्तिहरूले सिसिका यस अघिका कार्यक्रमहरूबाट लाभान्वित भएको भन्दै नयाँ कार्यक्रम पनि प्रभावकारी बन्नेमा विश्वास व्यक्त गरेका थिए ।

सहभागीहरूले उठाएका विषयहरूमा अष्ट प्रजापति र खड्गजंग गुरुङले प्रस्ट पारेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *