प्रचण्डका कारण अख्तियारको प्रमुख बन्न पाएनन्, कांग्रेसको रेकर्डमै गडबडपछि केन्द्रीय सदस्यबाट पनि बन्चित – Nepal Press

प्रचण्डका कारण अख्तियारको प्रमुख बन्न पाएनन्, कांग्रेसको रेकर्डमै गडबडपछि केन्द्रीय सदस्यबाट पनि बन्चित

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस भएर पनि माओवादी अध्यक्ष प्रचण्डका कारण नियुक्त हुन नसकेका पूर्व सचिव बाबुराम आचार्य कांग्रेस केन्द्रीय सदस्यको उम्मेदवार बन्नबाट पनि बन्चित भएका छन् ।

कास्कीबाट दोस्रोपटक महाधिवेशन प्रतिनिधि निर्वाचित भएका आचार्य संस्थापनइतर पक्षबाट उम्मेदवार बन्न लागेका थिए । तर विहीवार केन्द्रीय कार्यालयमा प्रतिनिधि प्रवेशपत्र लिन जाँदा उनको सदस्यताको ५ वर्षको रेकर्ड नै नभेटिएकाे हो ।

आचार्य महामन्त्री शशांक कोइराला निकट मानिन्छन् । उनी सुशील कोइराला प्रधानमन्त्री भएका बेला प्रशासनिक सल्लाहकार थिए ।

आचार्यले २०६७ सालमा कांग्रसेसको क्रियाशील सदस्यता लिएका थिए । उनी २०७२ सालको १३ औं महाधिवेशनमा महासमिति सदस्य निर्वाचित भएका थिए ।

यसपटक केन्द्रीय सदस्यको तयारी गरिरहेका आचार्य केन्द्रीय कार्यालयमा पुगेर कम्प्युटरको रेकर्डमा हेर्दा २०७२ को क्रियाशील सदस्य देखिएपछि उम्मेदवार बन्नबाट बन्चित हुने अवस्था आएको छ ।

२०७२ को क्रियाशील सदस्य कसरी त्यही वर्ष महासमिति सदस्य हुन पाए ? यो प्रश्नको जवाफ दिने फुर्सद अहिले कांग्रेसमा कसैलाई छैन ।

आचार्यलाई २०६७ सालमा तत्कालीन एमाले र कांग्रेसको संयुक्त सरकारको बेला कांग्रेस कोटाबाट अख्तियारको प्रमुख आयुक्तमा सिफारिस गरिएको थियो । त्यसबेला माधव नेपाल प्रधानमन्त्री थिए भने विपक्षी दलको नेता माओवादी अध्यक्ष प्रचण्ड थिए ।

प्रचण्डले माधव नेपाल कठपुतली सरकारको प्रधानमन्त्री भएको भन्दै बहिस्कार गरेका बेला बसेको संवैधानिक परिषदको बैठकले गरेको सिफारिसविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । त्यसपछि सो निर्णय निष्क्रिय भएको थियो र २०७० मा लोकमान सिंह कार्की प्रमुख आयुक्त नियुक्त भएका थिए ।

प्रशासनिक जीवनमा आर्थिक रुपमा स्वच्छ छविका प्रशासक मानिएका आचार्यले श्रम तथा यातायात, भूमिसुधार तथा व्यवस्था लगायतका मन्त्रालयको नेतृत्व गरेका थिए । उनी प्रधानमन्त्री कार्यालयको सचिव र क्षेत्रीय प्रशासक पनि भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर