क्लिनफिड- अपेक्षा र उपलब्धी – Nepal Press

क्लिनफिड- अपेक्षा र उपलब्धी

नेपालमा क्लिनफिड लागू हुनपर्छ भनेर विशेषगरी विज्ञापन व्यावसायीहरुले लामो समयदेखि उठाउँदै आएको माग सरकारले पूरा गरिदिएको छ । नेपालमा प्रसारण हुने भारतीय टेलिभिजन च्यानलहरु क्लिनफिडमा सञ्चालन भएपछि यसले नेपाली विज्ञापन बजार विस्तार हुने र विस्तार भएको विज्ञापन बजार नेपाली मिडियामा आउने हुँदा नेपाली मिडियाहरुको विकासमार्फत रोजगारी वृद्विका साथै चलचित्रदेखि पर्यटन र खेल क्षेत्रमा क्लिनफिडले योगदान गर्ने, खेल क्षेत्रसमेत क्लिनफिडको अवसरबाट लाभान्वित हुने र यसका साथै श्रमजिवी पत्रकार र कर्मचारीहरुलाई न्यूनतम पारिश्रमिक उपलब्ध गर्न सहज हुने भएकोले यसले नेपालमा गरिबी घटाउने राष्ट्रिय लक्ष्यमा केही भएपनि योगदान दिँदै समग्र अर्थतन्त्रमा केही हिस्सा योगदान दिने अपेक्षा गरिएको थियो ।

तर उक्त अपेक्षा तुषारापात हुने देखिएको छ । किनकी क्लिनफिडका करिब एक दिने अवधि अर्थात् हनिमुन पिरियडले यसको खुट्टी कमजोर देखिएको र यसको दीर्घकालीन यात्राप्रति थुप्रै आशंकाहरु जन्माएको देखिन्छ । क्लिनफिडबाट के अपेक्षा गरिएको तर उपलब्धि के देखियो भन्ने बारे चर्चा गरौं

साँस्कृतिक अतिक्रमणबाट मुक्तिको अपेक्षा

मुलुकलाई साँस्कृतिक अतिक्रमणबाट स्वतन्त्र बनाउन क्लिनफिड अति नै आवश्यक भइसकेको थियो । देश राजनीतिक रुपले स्वतन्त्र छ । तर आर्थिक रुपले धेरै नै पराधीन छ । साँस्कृतिक अतिक्रमणको अवस्थाबाट अहिले पनि स्वतन्त्र हुन सकेको देखिँदैन ।

साँस्कृतिक अतिक्रअमणबाट स्वतन्त्र हुनका लागि भारतीय च्यानलमा क्लिनफिड आवश्यक थियो । मुलुकको सार्वभौमसत्ताका लागि पनि क्लिनफिडको व्यवस्था आवश्यक पर्ने देखिन्छ । क्लिन फिड लागू नभए नेपालमाथि अहिले भइरहेको साँस्कृतिक अतिक्रमणले निरन्तरता पाउने अवस्था थियो ।

हाल पनि हामी सारा भारत वर्ष भनेको हालको इण्डिया मात्रै बुझ्दै आएका थियौं, जुन भारतीय मिडियाको कुप्रचारको सिकार भइरहनुपरेको अवस्था थियो । हामी भारतीय सफाइ अभियानका विज्ञापन हेरिरहेका छौं । भारतीय संस्कृति हेरिरहेका छौं ।

नेपालमा प्रसारण हुने टेलिभिजनमा नेपाली सफाइ अभियानबारे विज्ञापन बज्नुपर्छ । त्यसका लागि क्लिनफिड आवश्यक परेको थियो । क्लिन फिड लागू नहुने हो भने नेपालका प्रधानमन्त्री को हो भन्दा अर्को देशको प्रधानमन्त्रीको नाम भन्ने अवस्था आउनसक्ने अवस्था पनि थियो । हाल पनि गुगलमा सर्च गर्दा सगरमाथा चीनमा परेको हामीले देखेकै हो । बुद्व भारतमा जन्मेको भन्दा हामिले मन अमिलो पारेर स्वीकार गर्ने अवस्था आइसकेको थियो ।

विज्ञापन बजार विस्तार

विदेशी विज्ञापनलाई नेपालका सञ्चारमाध्यमले प्रसारण गर्दा ‘डबिङ’ गरी प्रसारण गर्न नपाइने व्यवस्थाका कारण विदेशी च्यानलमा विज्ञापन बन्द हुने मात्रै होइन, नेपाली च्यानलमा समेत ‘डबिङ’ गरिएका विज्ञापन प्रसारण हुने छैनन् ।

नेपालमा प्रसारण हुने विदेशी च्यानलमध्ये अधिकांश भारतीय छन् । त्यसमा पनि नेपाली केबल टेलिभिजन सेवा प्रदायक कम्पनीले ‘डाइरेक्ट अपलिंक’ गर्ने भएकाले भारतीय च्यानलहरु ‘रियल टाइम’ मै नेपालमा पनि प्रसारण भइरहेका छन् । यसरी रियल टाइममै विदेशी च्यानल प्रसारण हुने व्यवस्था अन्य मुलुकमा छैन ।

‘रियल टाइम’मै सोझै ‘अपलिंक’ हुने भएकाले ती च्यानलमा प्रसारित विज्ञापन पनि निर्बाधरुपमा नेपाली दर्शकसम्म आइपुग्छ । त्यसैले विदेशी कम्पनीहरू नेपालका लागि छुट्टै विज्ञापन बनाउन आवश्यक ठान्दैनन् । खासगरी भारतीय टेलिभिजनका लागि बनाएका विज्ञापनले नै नेपाली बजार पनि ‘धान्ने’ भएकोले थुप्रै कम्पनीले थप रकम खर्चिनु पर्दैन ।

यसबाट नेपालको विज्ञापन बजारले कुनै लाभ पाइरहेको छैन । राज्यले अर्बौंको राजस्व गुमाइरहेको छ । ‘क्लिन फिड’को नीति लागू भएपछि भने बहुर्राष्ट्रिय कम्पनीका विज्ञापन नेपालमै निर्माण गर्नुपर्ने हुन्छ । यसबाट नेपाली कलाकार, स्रोतसाधन र सीपको प्रयोग हुन्छ ।

विश्वबजारमा नेपाली मौलिकता र कलाकारको ‘ब्राण्डिङ’ समेत गर्नेछ । क्लिनफिडको व्यवस्थाले करीब ६ अर्बको विज्ञापन बजार दोब्बर बढी गुणाले बढ्ने मात्रै नभएर, नेपाली विज्ञापन व्यवसायी, नेपाली कलाकार र सञ्चार माध्यमले प्रत्यक्ष लाभ लिनेछन्– विशेषगरी टेलिभिजनले ।

‘क्लिन फिड’ लागू हुँदा नेपाली व्यवसायी र राज्य दुवैलाई फाइदा हुने देखिन्छ । क्लिन फिड लागू भए विज्ञापन बनाउन स्वदेशी साधन–स्रोत, सीप तथा कलाकारको प्रयोग हुन्छ र देशको आम्दानी बढ्छ । यसले राजस्वमा उल्लेख्य योगदान पुर्याउँछ ।

भर्ती केन्द्र बन्दै विज्ञापन बोर्ड

विज्ञापन नियमन गर्ने ऐन, २०७६ को दफा १४ मा विज्ञापन बोर्डको गठनसम्बन्धी व्यवस्था छ । बोर्डमा विज्ञापनसँग सम्बन्धित विज्ञ र लामो समय विज्ञापन क्षेत्रमा काम गरेका व्यक्तिलाई नियुक्त गर्नु पर्ने ठाउँमा मन्त्रालयले पार्टीनिकटका व्यक्तिहरुलाई मात्रै नियुक्ति गरेको भनेर सार्वजनिक रुपमा आलोचना हुँदै अहिले मिडियामा छरपष्ट भएको सर्वविदित नै देखिन्छ ।

क्लिनफिड आफैमा प्राविधिक विषय हो तर विज्ञापन बोर्डको पदाधिकारी र प्रशासनिक संगठन संरचना हेर्दा यसमा कुनै पनि पदाधिकारी प्राविधिक क्षेत्रका विज्ञ देखिँदैनन । उनीहरु नेपालको विज्ञापन बजारमा लामो अनुभव र दख्खल भएका पनि काविल व्यक्तिहरु पनि होइनन तर पनि सरकारी दलको कार्यकर्ता र योगदान भएकै आधारमा नियुक्ति पाएको देखिन्छ ।

बोर्डमा जाने कर्मचारी नेतृत्वदेखि सहायक कर्मचारीसमेत सरकारवादी दलनिकट नेपाल निजामति कर्मचारी संगठनप्रति आस्था राख्नेहरुको हालिमुहाली रहेको देखिन्छ ।

विभागीय कार्यसमितिमा रहेका, संगठनका सक्रिय सदस्यता लिएका, चन्दा दिएका प्रशासनिक कर्मचारीलाई मात्रै पठाइएको देखिन्छ । जसमा केहीलाई दोहोरो जिम्मेवारी दिएको देखिन्छ ।

हाल विज्ञापन बोर्डका पदाधिकारीहरु र कर्मचारीहरु कागजी घोडा दौडाउँदै टेबुल वर्कमा मात्रै सीमित भएका छन् । उनीहरुमा क्लिनफिडको प्राविधिक त परको कुरा आधारभूत ज्ञानको समेत कमी देखिन्छ । यसले पनि क्लिनफिडलाई सफल बनाउने भन्दा विज्ञापन बोर्ड भर्तीकेन्द्र बन्दै गएको देखिन्छ ।

विगतमा एउटा सरकारले गरेको नियुक्ति र खटनपटन हाल सरकार परिवर्तन भएसँगै नयाँ सरकारलाई बाटो खोली काम गर्न विकल्प दिनुपर्नेमा सो हुन त परको कुरा नयाँ सरकार रिझाउने र पदमा रहेको कागजी घोडा दौडाउँदै बेतुकका उपलब्धीका पुलिन्दा पस्किने प्रवृति विकसित देखिन्छ ।

पेलानमा केबल व्यवसायी

सरकारले क्लिनफिड लागू गरे पनि यसको लागि दीर्घकालीन रणनीति लागू नगरेको देखिन्छ । विगतमा पनि एनालग केबललाई विस्थापन गरी अनिवार्य डिजिटलमा रुपान्तरण गर्नुपर्ने अबस्थाका कारण केबल व्यवसायीहरुले ठूलो लगानी गरेर डिजिटलमा वामे सर्दै गरेको अबस्थामा पुन च्यानलहरु एचडी फर्मेटमा सञ्चालित हुनपर्यो र स्टुडियो मापदण्ड लागू गर्ने बाध्यकारी व्यवस्था लागू गरियो ।

हाल पनि क्लिनफिडमा केबल व्यवसायीहरु, जो सरकारलाई अर्बौ रकम राजस्व तिर्दा पनि पेलानमा छन् । नेपालमा त परको कुरा विश्वमा कहीँ पनि वैधानिकता नपाएका ओटिटी एप्सहरु नेपालमा लाखौं डलर विदेश पठाउने– त्यो पनि अवैध बाटोबाट । यस्तोलाई नियन्त्रण गर्नुपर्छ भन्दा सरकारले अभिव्यक्ति स्वतन्त्रता र निरशंकुता लाद्न लागेको भनेर विधेयक फिर्ता गर्नुपरेको अबस्था देखिन्छ । जसले राजस्व र रोयल्टी तिर्दै वैधानिक बाटोबाट व्यावसाय गरेका छन्, जो सोझा छन्, तिनीहरुलाई नै हम्मर ठोक्ने र आरा चलाउने नीति लिएको देखिन्छ ।

अर्कोतिर नेपालमा क्लिनफिड भएपछि विज्ञापन बजार विस्तार हुन्छ भनेर जुँगामा ताउ लगाउँदै बसेका विज्ञापन व्यवसायीहरुले हालका दिनमा विज्ञापन बजार बढाउन के कति पहल गरे ? भारतीय कम्पनीले नेपाली कलकार र नेपाली भाषामा विज्ञापन सुटिङ गरेर कति विज्ञापन बढ्यो ? यो हिसाब सार्वजनिक गर्न सकेका छैनन् ।

हाल उनीहरु विज्ञापन बजार वढाउने भन्दा केबल र च्यानल वितरकहरुलाई तह लगायौं भनेर मख्ख छन् । अर्कोतिर विज्ञापन बोर्डले आफ्नो महासंघलाई स्वीकार गर्नुपर्ने भनेर उफ्रिँदै गर्दा मन्त्रालयले उनीहरुलाई लोप्पा खुवाइदिएको देखिन्छ ।

(पुस्तक ‘क्लिनफिड र संचार’बाट)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *