कूल आचार्य पक्षले चुनावमा भाग नलिने, आज मतदाताको अन्तिम नामावली सार्वजनिक हुँदै – Nepal Press
एनआरएनए चुनाव

कूल आचार्य पक्षले चुनावमा भाग नलिने, आज मतदाताको अन्तिम नामावली सार्वजनिक हुँदै

काठमाडौं । आगामी पुस ११ र १२ गते घोषित गैरआवासीय नेपाली संघ (एनआरएनए)को चुनाबमा अध्यक्षका प्रत्यासी कूल आचार्य पक्षले भाग नलिने भएको छ ।

शुक्रबार बिहान आयोजित आफू निकट राष्ट्रिय अध्यक्षहरुको भर्चुअल छलफलमा आचार्यले यथास्थितीमा चुनावमा भाग नलिने बताएका हुन् । ‘हाम्रो सहमती बिना घोषणा गरिएको निर्वाचनमा भाग लिनुको अर्थ छैन’ उनले भने ।

आफूहरुको सहमती बिना कुमार पन्त नेतृत्वको कार्यसमितिले एकपक्षीयरुपमा चुनावको मिति घोषणा गरेको र मतदाता नामावली सार्वजनिक गरेको बताउँदै आचार्यले चुनावमा भाग नलिने बताएका हुन् ।

‘एकलौटी चुनाव गराउने कुरा हामीलाई कदापी मान्य हुनेछैन’ उनले भने, ‘संस्थामा संकट निम्त्याउने प्रयास गरिएको छ । समस्या समाधान गर्नेभन्दा पनि एकपक्षीयरुपमा चुनाव घोषणा गर्ने र नेमलिस्ट घोषणा गर्ने काम भयो ।’

बेलायत, अमेरिका र अष्ट्रेलियाका एनसीसीलाई पेल्ने काम भएको बताउँदै उनले यसमा संस्थापन पक्षको गलत नियत लुकेको आरोप लगाए । ‘धेरै सदस्य बनाउने देश र जुन देशबाट एनआरएनए अभियान सुरु भयो । त्यस्तो देशको डेलिगेट्सबाट नाम हटाउनुभित्र बदनियत छ’ उनले भने ।

‘१८ वर्षसम्म एनआरएनएलाई अदालतमा लैजाने काम भएको थिएन । यसले काम गर्ने साथीहरुलाई कुठाराघात भएको छ’ आचार्यले भने । उनले चुनाव मात्र सबथोक नभएको समेत बताए ।

पन्त नेतृत्वको कार्यसमितिले मंसिर २१ गते मतदाता नामावाली सार्वजनिक गर्दै चुनावी कार्यतालिका पनि सार्वजनिक गरिसकेको छ । आज शुक्रबार मतदाताको अन्तिम नामावाली प्रकाशन हुँदैछ । शनिबार उम्मेदबारको मनोनयन पत्र दर्ता हुँदैछ ।

मंसिर २६ गते उम्मेदबारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ । तर, अध्यक्ष कुमार पन्तले चाहिँ पाटन उच्च अदालतको आदेश बमोजिम वर्तमान कार्यसमितिले नै चुनाव गराउने बताएका छन् । अदालतले परराष्ट्र मन्त्रालयको निर्देशनलाई कार्यान्वयन नगर्न अन्तरिम आदेश दिँदै वर्तमान कार्यसमितिलाई नै चुनाव गराउन बाटो खुलाएको थियो ।

परराष्ट्रले गत महिना एनआरएनएलाई पत्र लेख्दै तत्कालिन कार्यसमितिलाई काम नगर्न र संरक्षक समितिलाई चुनाव गराउने जिम्मा दिएको थियो । परराष्ट्रको निर्देशनलाई चुनौति दिँदै पन्त अदालत गएका थिए ।

अध्यक्षका प्रत्यासी आचार्य पक्षले चुनावमा भाग नलिने बताएपछि एनआरएनए संकट झनै गहिरिने संकेत देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर