माधव नेपालले भने- राजाले व्यापार गरेर बसे हुन्छ (भिडिओ)
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रतिगामी तत्वहरूले फेरि शिर उठाउने दुस्साहस गरिरहेको बताएका छन् । उनले नदिको प्रवाह अगाडि बढिसकेको भन्दै फेरि पछाडि फर्किन नसक्ने टिप्पणी गरे ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशलाई सम्बोधन गर्दै नेपालले देशमा अब राजतन्त्रको कुनै भविष्य नरहेको बताए । आफूभन्दा अगाडि बोलेका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले राजसंस्था फर्काउनुपर्ने माग गरेका थिए । त्यसमा जवाफ दिँदै नेपालले अब बंशको शासन स्वीकार्य नहुने बताए ।
नेपालले भने, ‘म प्रतिगामी तत्वहरूलाई भन्न चाहन्छु, फेरि शीर उठाउने दुस्साहस नगर्नुस् । यदि त्यस्तो भयो भने नेपाली जनता फेरि ज्वालामुखी झैं विष्फोट हुनेछन् ।’
नेपालले पूर्वराजालाई नयाँ पार्टी खोल्न वा व्यापार गर्न सुझाव दिए ।
उनले भने, ‘राजाले पनि नयाँ पार्टी खोले हुन्छ । व्यापार गरेर बसे हुन्छ । नेपालको रक्षा हामी नेपाली जनताले गर्न सक्छौं ।’