चोरीमा संलग्न पाँचजना नेपाली भारतमा पक्राउ
काठमाडौं । भारतको बैंग्लोरस्थित एक अपार्टमेन्टबाट नगद र गहना चोरीमा संलग्न पाँचजना नेपाली नागरिकलाई प्रहरीले आज पक्राउ गरेको छ ।
द इन्डियन एक्सप्रेसका अनुसार उनीहरुको साथबाट ९.३ लाख भारु र १९ लाख बराबरको सुन र चाँदी समेत बरामद गरिएको छ ।
पक्राउ पर्ने नेपालीहरुमा करण विष्ट, हिक्मत शाही, गोरख कालु, जीवन र राजु छन् । करण, जीवन र राजु बैंग्लोरमा सुरक्षा गार्डको रुपमा कार्यरत छन् भने गोरख र हिक्मत मुम्बइमा काम गर्छन् ।
प्रहरी स्रोतका अनुसार रामचन्द्र रेड्डीको अपार्टमेन्टबाट उनीहरुले अक्टोबर १४ देखि १६ भित्र उक्त चोरी गरेका थिए । प्रहरीले पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो ।
चोरी गरेर उनीहरुले नेपालतर्फ भाग्ने योजना बनाएको प्रहरीले जनाएको छ ।