माधव नेपाल शनिबार बुटवल आउने – Nepal Press

माधव नेपाल शनिबार बुटवल आउने

रुपन्देही । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल शनिबार बुटवल पुग्ने भएका छन् ।

नेकपा एकीकृत समाजवादी रुपन्देहीले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण एवम् प्रदेश र जिल्ला कमिटी कार्यालय उद्घाटन कार्यक्रममा सहभागी हुन अध्यक्ष नेपाल बुटवल आउने भएका हुन् ।

नेकपा एकीकृत समाजवादी रुपन्देहीले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरी अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण एवम् प्रदेश र जिल्ला कमिटी कार्यालय उद्घाटनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

शनिबार विहान ११ बजे बुटववल ८ सुख्खानगरस्थित लुम्बिनी प्रदेश र रुपन्देही पार्टी कार्यालय उद्घाटन गर्ने र त्यसलगत्तै योगिकुटीस्थित होटल पौवामा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम शुरु गरिने जनाइएको छ ।

पत्रकार सम्मेलनमा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज डा. बालकृष्ण चापागाईले केपि ओलीको स्वेच्छाचारी र निरकुंश कार्यशैलीका कारण विद्रोह गरेर पार्टी पुर्नगठनमा लाग्नुपरेको बताए ।

उनले आफूहरु बाध्य भएर विद्रोहमा उत्रनुपरेको बताउँदै देशभर छोटो अवधिमा संगठन विस्तार तिव्र रुपमा अघि बढेको बताए ।

नेकपा एकीकृत समाजवादी रुपन्देहीका अध्यक्ष राजु गुरुङले डिलमा पुगेको कम्युनिष्ट आन्दोलनलाई माधवकुमार नेपालले बचाएको बताए ।

उनले ओलीकै कारण संविधान र कम्युनिष्ट आन्दोलन नै सकिने अवस्थामा पुगेकाले त्यसलाई बचाउनका लागि दर्ताका हिसाबले नयाँ पार्टी गठन गरेर अघि बढेको बताए । रुपन्देहीमा करिव ३५ सय सदस्यता वितरण भएको बताउँदै ८ हजार सदस्य बनाउने अध्यक्ष गुरुङले बताए ।

रुपन्देहीमा बुटवल उपमहानगरसहित ५ नगरपालिका र अधिकांश स्थानीय तहहरुमा कमिटि गठन भइसकेको केन्द्रीय सदस्य तथा रुपन्देही सहइन्चार्ज सिद्धिचरण भट्टराईले बताए ।

कार्यक्रममा पार्टीका उपमहाचिव डा. विजय पौडेल, सचिव एवम् लुम्बिनी प्रदेश इन्चार्ज भागवत विश्वासी, पोलिटब्यूरो सदस्य तथा लुम्बिनी प्रदेश कमिटी अध्यक्ष मेटमणी चौधरीलगायतका नेताहरुको आउने प्रचार विभाग प्रमुख सरिता श्रीसले जानकारी दिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर