छैटौं महाधिवेशनमा सुवर्णशमशेरको भाषणः त्रिभुवनको तारिफ, महेन्द्रसँग आश – Nepal Press
कांग्रेस महाधिवेशन

छैटौं महाधिवेशनमा सुवर्णशमशेरको भाषणः त्रिभुवनको तारिफ, महेन्द्रसँग आश

नेपाली कांग्रेसको छैटौं महाधिवेशन २०१२ माघ ९ गतेबाट वीरगञ्जमा भएको थियो, जसमा सुवर्णशम्शेर जबरा सभापति निर्वाचित भएका थिए । सुवर्णले २३६ मत ल्याएर जिते भने गणेशमान सिंहले १७२ मत ल्याएर हारे ।

उक्त चुनावमा वीपी कोइरालाको गोप्य समर्थन सुवर्णलाई थियो । नेपाली कांग्रेसको प्रजातान्त्रिक समाजवादको विचार पारित भएको सो महाधिवेशनपछि सुवर्ण शमशेरले लिखित भाषण गरेका थिए । कम बोल्ने स्वभावका सुवर्ण पत्रकार सम्मेलनमा समेत लिखित मन्तव्य दिने गर्थे ।

२०१२ माघ महिनाबाट ‘हालखबर दैनिक’ बाट पत्रकारिता सुरु गरेका पत्रकार भैरव रिसालले नेपाली कांग्रेसको छैटाै महाधिवेशनको रिपोर्टिङ गरेका थिए । सुवर्णको स्वभाव बारेमा पत्रकार भैरव रिसाल लेख्छन, ‘सुवर्णशमशेर राणा (ज.ब.रा.) ओठ फुटाउनै गाह्रो व्यक्तित्व । बल्लतल्ल ओठ फुटाउने वातावरण बनाउन सकिए बोली फुटाउन साह्रै गाह्रो,’ २०७४ साल कात्तिक २४ गते ललितपुरको मानभवनमा रहेको सुवर्शा स्मृति परिषद्ले प्रकाशन गरेको पुस्तक ‘सुवर्ण स्मृति ग्रन्थ’ मा रिसालले यस्तो लेखेका छन् । उनी थप्छन्, ‘यदाकदा पत्रकार सम्मेलन गरिहाल्नु भयो भने पनि लिखित वक्तव्य दिने, छोटो । अनि बोलाउन मुस्किल ।’

प्रजातन्त्रको घोषणाकै दिन २००७ फागुन ७ गते मोहनशमशेर नेतृत्वको राणा–कांग्रेस सरकार, २००८ मंसिर १ गते गठित मात्रिकाप्रसाद कोइराला नेतृत्वको कांग्रेस सरकारदेखि २०१६ जेठ १३ गते वीपी कोइराला नेतृत्वमा गठित नेपालको प्रथम जननिर्वाचित सरकारकासम्म उनी अर्थमन्त्री भए ।

२०१५ जेठ २ गते गठन गरिएको चुनावी सरकारका प्रधानमन्त्री भएका उनले तीन क्षेत्रबाट चुनाव जितेका थिए । उनले चुनाव क्षेत्र नम्बर ५२ बारा मध्यउत्तर, क्षेत्र नम्बर ५३ बारा पर्सा पूर्वान्त र क्षेत्र नम्बर ९१ गुल्मी दक्षिण–पश्चिमबाट चुनाव जितेका थिए । रोचक के भने चुनाव जितेकोमध्ये गुल्मी क्षेत्रमा त उनले पाइलै टेकेका थिएनन् । यस्ता लोकप्रिय सुवर्णशमशेर बोल्न भने त्यति रुचि नगर्ने भैरव रिसालको अनुभव छ ।

२०१२ को छैटौं महाधिवेशनपछि भने उनले लामो भाषण गरे । भाषणमा उनले देशको समसामयिक अवस्था र राजनीतिलाई लिएर आफ्ना सैद्धान्तिक अवधारणाहरु प्रस्तुत गरेका थिए । अहिलेका नेताहरुले जस्तो भाषणमा उनले कसैसँग आरोप–प्रत्यारोप गरेका छैनन् । राजा त्रिभुवनको उच्च प्रशंसा गरेका सुवर्णले त्यसबेला भर्खरै राजा भएका महेन्द्रप्रति भने संशयपूर्ण आशाको भाव व्यक्त गरेको पाइन्छ ।

हाल बन्द रहेको ‘पुनर्जागरण साप्ताहिक’ ले २०४१ सालमा प्रकाशन समेत गरेको उनको लिखित भाषण यस्तो थियोः

प्यारा साथीहरु,

तपाईहरुले मलाई यो महान संस्थाको सभापति चुनेर आभारी बनाउनु भएको छ । यो ठूलो भार बहन गर्न तपाईहरुको स्नेह र सहयोग सदा मागिरहने छु । हाम्रो लक्ष्य ठुलो छ । लक्ष्यमा पुग्न धेरै काम गर्नु छ । प्रत्येक पथमा काँध र कदम मिलाएर निःस्वार्थपूर्वक अगाडि बढ्यौं भने सफलता हाम्रो हुनेछ ।

सबभन्दा पहिले सहयोगको यो पुकार तपाईहरुसित गरेको छु । नेपालमा प्रजातान्त्रिक समाज निर्माण गराउन हामीलाई अग्रसर गराउने हाम्रा नेता साथी श्री विश्वेश्वरप्रसाद कोइरालाले वहन गर्नुभएको भार मेरो दुर्वल काँधमा आएको छ । तपाई सबै साथीहरुको सद्भावपूर्ण सहयोग विशेषगरी साथी श्री विश्वेश्वरप्रसाद कोइरालाको सहयोग र सल्लाहबाटै म पार्टीको भावि कार्यक्रमको निर्धारण गर्नेछु । साथी विश्वेश्वरप्रसादजीले आज मेरो हातमा त्यस्तो पार्टी दिनु भएको छ जसको संघर्षमय, क्रान्तिकारी र प्रजातान्त्रिक परम्परा केवल हाम्रो देशमा मात्रै विख्खात छैन, अपितु यसको कीर्ति गाथा डाँडा–काँडा नाघी सारा एसिया र विश्वका शेषभागमा पनि फैलिएको छ ।

हाम्रो देश आज इतिहासको दोभानमा छ । अनिश्चयताको वातावरणले नेपाली जनजीवनको वर्तमान तथा भविष्य ढाकिएको छ । राजनीतिक भनौं वा आर्थिक या सामाजिक भनौं सबै स्थितिले मोड लिन लागेको छ । जुन आदर्शबाट प्रेरित भएर प्रजातन्त्रको बेदीमा हाम्रा शहिदहरुले जीवन समर्पण गरे र जसको तपस्याले नेपालको ऐतिहासिक क्रान्ति सम्पन्न भयो, त्यो आदर्श र तपस्याको चित्रको रुपरेखासम्म पनि बन्न सकेको छैन ।

पश्चिमी साम्रज्यवादसँग मितेरी लगाएर निहीत स्वार्थ रक्षा गर्न एकतन्त्रीय राणाशाहीले एक शताब्दीसम्म नेपाल र नेपालीलाई जकड्याएर राख्यो । यसको प्रभावले हाम्रो गतिको बाटो अझ सीधा भएको छैन । व्यवस्थाहीन बेकार बन्यौं, अशिक्षित पछौटे रह्यौं र दरिद्र ज्यामीको पेशा गर्न बाध्य भयौं । जताततै जनशक्तिको सञ्चार भयो । तर हामी बन्दी गुलाम झैं राखियौं ।

दोश्रो विश्वयुद्धपछि एसियामा भएको महान परिवर्ततको प्रभाव रोक्न राणाशाहीले कम प्रयत्न गरेको होइन तर हामीमा चेतना आयो, जनजीवनको आदर्शले हामी जागृत भयौं । संकुचित व्यक्तिगत स्वार्थमा अन्धा भएर देश र देशवासीलाई दुःख दिने दानवीय एकतन्त्रीय जहानियाराजलाई अन्त्य गरेर मात्र नेपाल र नेपालीको प्रगति गर्न सक्छ भन्ने कुरा प्रादुर्भाव भयो ।

प्रजाको सुख र उन्नतिको तगारो भएको तत्कालीन शासनलाई अन्त्य गर्नु पहिलो काम थियो । साधन र मार्गको खोजमा व्यस्त थियौं । जनसंगठन र जनसम्पर्कको निमित्त सुद्ध प्रजातन्त्रवादी सिद्धान्तमा खडा भएको संस्थाको आवश्यकता अनुभव भयो । नेपाली कांग्रेसले यो आवश्यकता पूर्ति गर्यो ।

नेपाल राजतन्त्रीय देश हो । हामीले हाम्रो देशमा राजतन्त्र नै उपयुक्त छ भन्ने विश्वास गरेकोले यसलाई मन्यता दिएका छौं । नेपाललाई एउटा राष्ट्रमा गुँथेर वर्तमान नेपाल निर्माण गर्ने श्री ५ पृथ्वीनारायण शाह र प्रजातन्त्रका लागि जनताको साथ दिन ऐतिहासिक कदम उठाउने श्री ५ त्रिभुवन वीरविक्रम शाहदेवको कर्तव्यले गर्दा हामीलाई राजतन्त्र प्यारो वस्तु भएको छ । हामी प्यारो राजतन्त्रलाई हानी नहोस भनी कामना गर्दछौं ।

२००३ सालभन्दा पहिले धेरैपटक नेपालमा राणाशाही समाप्त गर्ने प्रयास भयो । ती प्रयास साहसी पनि हुँदा हुन् । तर उनको आधार र नीति जनतामा भरोसा राख्ने नभएको हुँदा प्रजातन्त्रको विपरित भयो र मुलुकलाई कतापट्टि मोड्ने हो थाहा हुँदैनथ्यो । सायद, नेपालको त्यो परिस्थितिमा यो प्रयासमै सम्भव कुरा हुँदो हो ।

तर जनसम्पर्कमा विश्वास राखी बनेको प्रजातन्त्रको मूल आधार भएको पहिलो संस्था नेपाली कांग्रेस नै हो । बाहिर रहनपरेता पनि नेपाली कांग्रेसको जति उत्साहपूर्वक स्वागत भयो र भित्रभित्रै यसको व्यापकता फैलियो त्यसले हाम्रो हौसला बढ्यो । र राणाशाहीलाई आफ्नो दुःशासन अन्त्य गर्न लल्कार्यौं । अहिंसापूर्ण गरेको सत्याग्रहलाई दुराग्रहले दमन गर्न लागे । २००७ सालको क्रान्ति गर्न बाध्य भयौं । यो क्रान्तिमा सेवा गर्ने मौका मैले पनि पाएँ ।

मेरो विचारमा विश्वको क्रान्तिको इतिहासमा यो छोटो तर अत्यन्त नै व्यापक महत्व भएको क्रान्ति थियो । १०५ दिनमा नै १०५ वर्षसम्म जमेको राणाशाहीको अन्त्य भयो । अरु देशमा भएका क्रान्तिहरुको जस्तो धेरै रक्तपात लुटमार र अराजकता भएन । कतै–कतै नहुनु पर्ने अवाञ्छनीय घटनाहरु अलिकति भए र त्यसबाट मलाई दुःख लाग्यो । तापनि अरु मुलुकका क्रान्तिका इतिहासमा देखिएको परिस्थितिहरुको अध्ययन गर्दा नेपालमा सरलतापूर्वक क्रान्ति सफल भयो । क्रान्ति चाँडो सफल हुँदा त्याग र परिश्रमको जति मात्रामा सेवा हुनुपर्दथ्यो त्यो भएन । त्यसैले क्रान्तिको मूल्य र पाठमा जान पर्ने ध्यान धेरै गहिरोसँग भएन ।

क्रान्तिले जकडिएको सबै तत्वहरुलाई स्वतन्त्र गरायो । अनेकौ रंगविरंगका अखडाहरु उम्रन लागे । समाजको चेतना इच्छामा मात्र सीमित थियो । नेपालीको कर्तव्यप्रति चेतना जागरुक थिएन । देशमा अनावश्यक जातिय रक्तपात बन्द गराउन र प्रजातन्त्रको विरुवा रोप्न सम्झौता गर्न पर्यो । तर पराजयको भावनाले सामन्ति तत्वलाई छोडेन । प्रतिशोधको मौका खोज्ने दुर्मतिमा यी लागे । प्रतिगामी शक्तिहरु साम्प्रदायिक तथा रहस्यपूर्ण षड्यन्त्रमा व्यस्त भए । नेपालीको प्रगति रोकी परिवर्तनलाई विफल गराई प्रजातन्त्रमा विश्वास राख्ने राजा र प्रजा दुवै थरिसँग बदला लिने भावनाले प्रजातन्त्रलाई नै दोषी बनाउन लागे ।

इतिहासलाई पछाडि थकेल्नु आफ्नो अवनति चाहनु हो भन्ने सत्य कुराको ज्ञान यो तत्वलाई थिएन । क्रान्तिको सिपाही नेपाली कांग्रेसका कार्यकर्ता हामी सबैको जिम्मेवारी बढ्यो । प्रजातन्त्रको जग बलियो भयो भने प्रजातन्त्र मर्ने छैन भनेर यसको जग बलियो बनाउन लाग्यौं ।

सर्वप्रथम नेपाललाई अन्तरिम प्रजातन्त्र विधानले सुशाेभित गरायौं । नागरिक हक, स्वतन्त्र कानुनी व्यवस्था, समान अवसर, स्वतन्त्र लोकसेवा, मुलुकको आम्दानी–खर्चको हिसाब बनाउने स्वतन्त्र संस्था सचिवालयको प्रजातन्त्र ढाँचामा गठन, अन्तरिम सल्लाहकार सभा र कृषि तथा उद्योगको सुधार र निर्माणको जग लगायौं । कृषकवर्गको उत्थानका लागि गहकिला र क्रान्तिका कदमहरु पनि उठयौं ।

दुर्भाग्यवश प्रतिक्रियावादी तत्वको षढ्यन्त्र जारी नै रह्यो । प्रत्येक देशमा क्रान्तिपछि सञ्चार हुने प्रतिगामी वातावरणले नेपाललाई पनि छाडेन । हाम्रा केही साथीहरु पनि त्यसमा गुम्से । हाम्रो क्रान्तिमा ऐतिहासिक कदम लिने मुख्य तत्व स्वयम् स्व. श्री ५ महाराजाधिराज त्रिभुवन वीरविक्रम शाहदेवलाई प्रतिगामी तत्वहरुले निहीत स्वार्थका लागि घेरामा हाले ।

आफूले खडा गरेको प्रजातन्त्रको आधारशीलालाई खलबल गराउन नदिनु नेपाली कांग्रेसको प्रजातन्त्रलाई प्रतिक्रियावादीहरुले जालमा ध्वस्त हुन दिन कदापी मन्जुर हुन सकेन । त्यसैले २००८ साल भाद्रदेखि सरकारबाट अलग भएर प्रजातन्त्र टिकाउन वैधानिक खुला संघर्ष गर्ने नीति नेपाली कांग्रेसले अनुकरण गरेको हो । यी कदम नलिएको भए सायदै परिवर्तनका कुनै चिन्ह पनि बाँकी रहँदा हुन् ।

जुन वेगले सामन्ती भेल बहन लाग्यो, नेपाली कांग्रेसले अनेकौं स्थानीय सत्याग्रह तथा अरु किसिमको शान्तिमय आन्दोलन गरेर यसलाई रोक्यो । यो स्पष्ट छ । वास्तवमा पुनरुत्थानवादी भग्नावशेषलाई पनि खुलेआम अप्रजातान्त्रिक काम गर्न गठित भयो र प्रजातान्त्रिक मुकुण्डो लगाउन वाध्य हुनुपर्यो । नेपाली कांग्रेसको वस्तुतः प्रजातन्त्रवादी स्थिति र तत्वसँग संघर्ष गर्ने आधार नीति हो ।

अफशोचपूर्वक भन्दछु, नेपाली कांग्रेसले सरकारबाट अलग भएदेखी आजसम्म देशमा एउटा बडो अनिश्चित परिस्थिति छ । पहिलो परामर्शदातृ मण्डल, किसिम किसिमको मातृका मन्त्रिमण्डल र अहिले चलेको प्रत्यक्ष शासकले प्रजातन्त्रको नियमको विरुद्ध काम गरिरहेको स्पष्ट छ ।

यसले हाम्रो राष्ट्रिय जीवनमा ठूलो धक्का लागेको छ । हाम्रो दुःख प्रतिदिन बढ्दो छ । सुखको आश कम हुँदो छ । आज हामी नेपालवासीको जीवन जति संकटपूर्ण छ, भूमण्डलको कुनै मुलुकमा पनि यस्तो अवस्था छैन होला । आज जताततै निर्माण युग चलेको छ । रचनात्मक सिर्जनाको भेल बहेको छ । तर हाम्रो भने अवनति हुँदो छ । यो अत्यन्त दुःख र लज्जाको कुरा हो ।

के हामीलाई दुःखी रहनुपर्ने आवश्यकता छ ? छैन । कतै कुनै कारण छैन । हामीले संकटमय दिन काट्नु पर्ने होइन । हाम्रो देशमा प्रशस्त साधन छन् । हाम्रो जाँगर विश्वविख्यात छ । हामी परिश्रमी छौं । तापनि अनौठो छ कि हामी दुःखी छौं । हाम्रो समाजको दशा मध्यकालीन सामन्ती युगको समान छ ।

हाम्रो मन र तर्क दरबारी चाकरीको स्वार्थको लोभको तहमा फसेकै छ । स्वतन्त्रताको स्वाभिमानी देश र देशवासीको आफ्नो जन्मभूमिभित्र गुलामी मनोवृत्तिमा जकडिनु निराशाको कुरा हो । १०५ वर्षसम्मको दासत्व र भयको श्रावमा बहेको विचारले लोभ, ईष्या र धोकाको सीमाबाट पार लाउन सकेकै छैन । यसले गर्दा आज समाज र देशमा अव्यवस्था छ । न शान्ति छ न सुरक्षा नै । डर त त्रासले प्रत्येक झोपडी काँपिरहेछ । सरकारी शासन गति र नीतिले हीन भएर ठप्प अड्केको छ । नयाँ विचार र नयाँ बानी अझ व्यवहारमा पाइँदैन । आर्थिक स्थिति विकराल छ । दुई छाक सुखपुर्वक पेट भर्न पाउनेको संख्या दिनपरदिन घट्दै गएको छ ।

के हामीलाई दुःखी रहनुपर्ने आवश्यकता छ ? छैन । कतै कुनै कारण छैन । हामीले संकटमय दिन काट्नु पर्ने होइन । हाम्रो देशमा प्रशस्त साधन छन् । हाम्रो जाँगर विश्वविख्यात छ । हामी परिश्रमी छौं । तापनि अनौठो छ कि हामी दुःखी छौं । हाम्रो समाजको दशा मध्यकालीन सामन्ती युगको समान छ ।

देशको मुख्य धन खेतेको हालत बिग्रेको छ । देशको मुख्य कर्णधार किसान नांगो र दुर्वल हुँदोछ । शोषित भएर ढल्न लागेको छ । शोषितको बोझ बढ्दो छ । खेतीबाट उब्जाउ बढाउने साधन र प्रेरणा कतैबाट पाइँदैन । ‘नेपालको धन हरियो वन’ उखान मात्र हुन लागेको छ । जंगल साफ गराएर चाकरीदारको व्यक्तिगत धनमा परिवर्तन गरिदो छ । उद्योग व्यवसाय कतैकही छैन । जो कलिकति थिए तिनको अवस्था निभ्न लागको बत्तीको जस्तो छ ।

सरकारी नीति केही छैन । सुव्यवस्थाको आधार बनेको छैन । मुलुकको आम्दानी बढ्नुको सट्टा स्थिर पनि हुन लागेको छैन । मुलुकको आम्दानीले प्रशासनको खर्चसम्म पुग्न कठिन भइरहेको छ । मद्रास्थितिको कारण दुःख बढ्दो छ । बेरोजगारीको समस्या अरु भयंकर भएको छ । इलम र रोजगारीको व्यवस्था छैन । देशावासी विदेशमा ज्यामीको काम गरेर प्राण रक्षा गर्न बैरिंदा छन् ।

भ्रष्टाचार व्यापक छ । घुसखोरी र नाफाखोरीको बोलवाला छ । नातावाद कृपावादले प्रशाशन शिथिल र बेकम्मा हुन लागेको छ । अशिक्षा व्यापक छ । कुशिक्षाको प्रचार बढेको छ । जनताको स्वास्थको प्रबन्ध छैन । विना औषधि र उपचार लाखौं प्राणी त्यसै मर्छन् । पशुधनको कुरै पर रहोस्, खाद्य सामग्रीको हाहाकार प्रत्येक वर्ष हुँदो छ । तापनि निर्लज्जतापूर्वक गुड्डी हाँक्न हामी पछि हट्दैनौं । कुरौटे नशामात्र सहज इलम भएको छ । यो दुर्दशामा फँसेको नेपाली कांग्रेसले यसलाई टुलुटुलु हेरिरहन सक्ने कुरा होइन । युगको परिवर्तन गराएर चुुप लाग्न नेपाली कांग्रेस सक्दैन । जुन आदर्शको लागि परिवर्तन ल्यायो । त्यो आदर्शको लागि कर्तव्य गर्नु हाम्रो मुख्य काम हो ।

यो परिस्थितिबाट उत्रिन हामीले हाम्रो सामुन्नेको लक्ष्य नयाँ घोषणापत्रद्वारा संकल्प गर्न लागेको छौं । देशको परिस्थिति र वस्तुस्थितिलाई विचार गरेर निर्णय गर्न लागेका छौं । एक मुठ्ठीभरि सामन्तिशोषकका लागि होइन । ८५ लाख शोषित भोका, नांगा, बेकार, अशिक्षित रोगी नेपालीको कल्याणको निमित्त नयाँ समाज निर्माण गर्ने हो । हामीले समाजवादी व्यवस्था मात्र नेपालको बाटो हुन सक्छ भनि आफ्नो लक्ष्य बनाएका छौं । समाजवादी व्यवस्था प्रजातान्त्रात्मक साधन र उपायबाट प्राप्त गर्न संकल्प गरेका छौं । समाजको चेतनापूर्ण भागहरुको खुड्किलोबाट लक्ष्यको शिखरमा पुग्ने छौं । मोडिने फर्किने काम हामीबाट हुनेछैन ।

खेतीको आधार अर्वाचीन वैज्ञानिक ढाँचाबाट सहकारी तथा समाजवादी सिद्धान्त अनुसार बनाउने छौं । हाम्रो जीवन नेपालको धरतीमाताको प्रसादले चलेको छ । ती माता दीन र हीन हुँदी छन् । तिनको सेवा गरौं र धरतीमाताका पुत्र सुखी हुन्छन् । यही हाम्रो लक्ष्य हो । उद्योगधन्दा र व्यवसायबाट उत्पादन गर्न नसकुञ्जेल हामी वास्तविक रुपमा स्वतन्त्र र स्वाभिमानी हुन सक्तैनौं । ठूला आधार उद्योगलाई राष्ट्रिय सम्पत्ति बनाएर उत्पादन गर्नु छ । मझौले उद्योगधन्दा सरकार र पूँजीको बीच हुनेछ । घरेलु उद्योगको व्यापक विस्तार गर्नुछ । समाजलाई हक र कर्तव्यको ज्ञान गराई देशका लायक नागरिक बनाउन राष्ट्रिय आधार शिक्षामै जताततै सहज बनाउनु छ । रास्ट्रिय स्वाथ्य सेवाबाट फेरि बलियो र भरिलो बनाउन परेको छ । नेपाली जनजिवनलाई एक सन्तुलित योजनापूर्ण जीवन बनाउनु आवश्यक छ ।

देश निर्माणका निमित्त एउटा सुनियोजित र निश्चित योजना हुनु पर्दछ । साथै एउटा सामाजिक दर्शनका अभावमा देशको प्रगतिको कुनै पनि योजना सफल हुन सक्दैन । फेरि, केही सरकार कारिन्दाहरुले मात्रै बसेर देशको वस्तुस्थिति नबुझी बनाएको योजना पनि कदापी सफल हुन्न । कुनै योजनाको सफलता निर्भर गर्दछ जनताको सहयोगमाथि । आजको सरकारद्वारा प्रस्तुत पञ्चवर्षीय योजनामा यसको सर्वथा उपेक्षा गरिएको छ भनि म तपाईंहरुलाई भन्न चाहन्छु । नयाँ नेपाल निर्माण गर्न सामुहिक प्रयत्न र जनतामा स्वतः प्रेरणा उत्पन्न गर्न परेको छ । कुनै एक व्यक्ति अथवा अलिकति व्यक्तिले यो सक्ने कुरा होइन । सामुहिक प्रयत्नद्वारा मात्रै नयाँ समाज निर्माण हुने छ ।

हाम्रो राष्ट्रियताको व्यापक विकास र सर्वतोमुखि समाजवादको स्थापना गराउन प्रजातन्त्रवादी समाजवादले मात्रै सक्दछ । घोषणापत्र तपाईको सामनेमा छ । यो विषयमा मैले धेरै बोली रहनुपर्ने आवश्यकता छैन । तपाईहरुको अमुल्य समय म लिन चाहन्न । राम्ररी विचार गरेर आफ्नो बाटो, नीति र कामको तरिकाले संकल्प आज हामीले गर्नु छ । स्पष्ट छ यो कठोर परिस्थितिमा हाम्रो अभिभारा ठुलो छ । नेपाललाई रक्षा गरेर प्रगतिशील देश बनाउने जिम्मेवारीमा हामी अग्रसर हुनैपर्दछ ।

हामीले होसियार र सतर्क हुनु परेको छ । हाम्रो आफ्ना एकता दृढ रह्यो भने हामीलाई कसैले नोक्सान गर्न सक्ने छैनन् । हामीले सदा चनाखो भएर आफ्नो एकतालाई जोगाउनु छ । हामी प्रजातन्त्रका पूजारी हौं । हामी प्रजातन्त्र र प्रजातन्त्रवादीलाई आत्मीय सम्झन्छौं ।

हाम्रो संस्था केही समयको निमित्त अथवा एउटा काम गरेर मात्रै थन्किन बनेको होइन । न त यो कुनै व्यक्तिको स्वार्थ सिद्धिका लागि खडा भएको एउटा हत्कण्डे संस्था हो । देश र समाजप्रति कर्तव्य गर्न सेवाभावले दृढ भएको यो हाम्रो संस्था हो । निःस्वार्थपूर्ण काम र त्याग हाम्रो संस्थाका प्यारा व्रतहरु हुन् । ८५ लाख जनसंख्या भएको देशमा ६ लाखभन्दा बढी सदस्य भएको हाम्रो जस्तो संस्था अरु देशमा पनि विरलै छन् । हाम्रो संगठन ठुलो छ र व्यापक छ । गत ४ वर्षमा हामीले संगठन निकै बढायौं । क्रान्तिकाल र त्यसपछिको र आजको संस्थाको स्थिति हेर्दा हामीलाई सन्तोष लाग्दछ ।

हाम्रो बल कम छैन । यसको शक्तिको सदुपयोग भयो भने देश निर्माण गर्न सजिलैसित सक्नेछौं । हाम्रो गर्व स्वभाविक हो । हाम्रो नीति स्पष्ट छ । भोलिको नक्सा हामीलाई छर्लङ्ग छ । कस्तो रुप चाहन्छौं भन्ने हाम्रो संस्थाको आत्मा र शरिर घोषणापत्र र विधान सामने प्रकाशमा छन् । शोषणरहित न्यायपूर्ण समान अवसर र हक दिलाउने प्रजातन्त्रवादी समाजको बाटो साफ छ । हामी आफ्नो चारतारे झण्डाको मुनि निर्धारित लक्ष्य प्राप्त गर्न कुनै मूल्य पनि चुकाउने छौं ।

नेपाल राजतन्त्रीय देश हो । हामीले हाम्रो देशमा राजतन्त्र नै उपयुक्त छ भन्ने विश्वास गरेकोले यसलाई मन्यता दिएका छौं । नेपाललाई एउटा राष्ट्रमा गुँथेर वर्तमान नेपाल निर्माण गर्ने श्री ५ पृथ्वीनारायण शाह र प्रजातन्त्रका लागि जनताको साथ दिन ऐतिहासिक कदम उठाउने श्री ५ त्रिभुवन वीरविक्रम शाहदेवको कर्तव्यले गर्दा हामीलाई राजतन्त्र प्यारो वस्तु भएको छ । हामी प्यारो राजतन्त्रलाई हानी नहोस भनी कामना गर्दछौं ।

वैधानिक प्रजातन्त्रमा केवल प्रजाहरुको मात्रै अधिकार हुँदैन । राजाको पनि कर्तव्य हुन्छ । राजाको कर्तव्य पनि विधानको सीमाभित्र रहन्छ । आजको युगमा १६ वा १७ औं शताब्दीको निरंकुश राजतन्त्र चल्न सक्दैन । यो हामी सबैलाई थाहा भएकै कुरा हो । श्री ५ त्रिभुवनबाट एकतन्त्रको अन्त गर्ने इच्छा धेरै वर्षदेखि लिइबक्सिएको थियो । म अहिले यतिसम्म भन्न सक्दछु कि २००२ सालदेखी मौसुफसँग प्रजतान्त्र स्थापनाका लागि मेरो घनिष्ठ सम्पर्क कायम भएको थियो । तर मौसुफलाई मौका र साधनको जरुरत थियो । बैरगनियाँमा भएको नेपाली कांग्रेसको बैठकको निर्णयले मौसुफलाई प्रेरणा दिन सक्यो र २००७ सालको मौसुफको कदम उचित र त्यागपूर्ण थियो ।

म निर्धक्क भएर भन्न सक्दछु कि स्वर्गवासी श्री ५ त्रिभुवनलाई प्रजातन्त्रमाथि अभिरुची मात्रै होइन कि विश्वास पनि थियो । देशको दुर्भाग्यको कारणले स्वार्थी र प्रतिगामीहरुको प्रभाव मौसुफउपर बढ्ता पर्यो । स्वार्थी व्यक्तिहरुले सत्यलाई असत्य र असत्यलाई सत्य भनि भान पारी मौसुफलाई केही दिनसम्म लक्ष्यबाट विमुख गराउन कोशिस गरे । मलाई विश्वास छ मौसुफलाई सत्यताको स्वरुप स्ष्ट खुल्दै आएको थियो । दैवले हठात् हाम्रो बीचबाट मौसुफलाई नहटाइएको भए अर्को तरिका ग्रहण गरिबक्सने थियो ।

अप्रजातान्त्रिक, निरंकुश, सामन्ती र साम्प्रदायिक तत्वसँग हाम्रो मेल हुन सक्तैन । तर साँचा प्रजातन्त्रवादी व्यक्ति र संस्थाहरुलाई सदा एकताको बन्धनमा बाँध्न हामी प्रयत्नशील रहने छौं ।

वर्तमान श्री ५ महाराजाधिराजबाट बारम्बार प्रजातन्त्रको निर्माणका प्रति अभिरुचि प्रकट गरिबक्सेको छ । स्वर्गीय पिताको प्रजातन्त्र कायम गर्ने प्रण स्विकार गरिबक्सेको छ । आफ्नो देश छाडी क्रान्तिमा योगदान बक्सिएको हो । आफैले ल्याउन सहायता गरिबक्सेको प्रजातन्त्रमा मौसुफको रुचि र विश्वास हुनु स्वभाविक कुरा हुनेछ । हुन त झण्डै एक वर्ष हुन लाग्यो मौसुफबाट सिंहासन चढी बक्सेपछि नेपालले प्रजातन्त्र सरकार देख्न पाएको छैन । र जति काम भएका छन्, प्रजातन्त्रका नियम र सिद्धान्तको विपरीत एकतन्त्रीय तरिकाबाट भएका छन् । तापनि म अझ आशा गर्दछु चाँडो प्रजातन्त्रप्रति भएको विश्वासको परिचय जनतालाई मौसुफले बक्सने छ । नत्र त जनताको आधार विश्वासमा निर्वलता आउनेछ । त्यो हानिकारक हुनेछ ।

प्रजातन्त्रलाई प्यारो गर्ने र प्रजाको कल्याण चाहने राजाले प्रजातन्त्र शिवाय अर्को दान के गर्नुपर्दछ र ? हाम्रो राष्ट्रिय आशा पूर्ण गराउन अर्को बाटो कहाँ छ र ? म यो सभाद्वारा मौसुुफमा अपिल गर्दछु– नेपाललाई नेपाली प्रजाको सुखी र गौरवमय देश बनाउन गठन होस् । र, प्रजातन्त्रको मुख्य अंग सरकारबाट हुकुम भएको २०१४ आश्विनमा हुने चुनाव सरकारको स्वर्गीय बुबाज्यूबाट अन्तरिम विधान बक्सदा जनतालाई दान गरिबक्सेको वालिग मताधिकारबाट बन्ने बिधानसभा पूर्ण गराइबक्स्योस् । हामी नेपालीलाई सदा आफ्नो राजा र राजतन्त्रमा संसारको सामु गर्व गर्ने बाटो बक्सियोस् ।

आज नेपाल अन्तराष्ट्रिय नक्सामा स्पष्ट भएको छ । धेरै वर्ष कुरा चलेको चीनसँगको दौत्य सम्बन्ध हालमा स्थापित भयो । चीन हाम्रो भौगोलिक, ऐतिहासिक र सांस्कृतिक सम्बन्ध भएको छिमेकी मित्रदेश हो । त्यस्तै संयुक्त राष्ट्रसंघमा सदस्य हुन नेपालले पहिलेदेखि प्रयत्न गरिरहेकै थियो । तापनि हाल सदस्यता प्राप्त ग¥यो । यस गौरव बृद्धिमा खुशी नहुने कुन नेपाली होला ?

हाम्रो देशको महत्व संसारका सबै राष्ट्रहरुले बुझेका छन् । त्यसैले पनि चाँडै हामी स्वथ्य र बलियो हुनुपर्छ किनभने आफ्नो देश र राष्ट्रको महत्व स्वस्थ सुखी नागरिकले मात्र बुझेर कायम राख्दछ र बढाउन पनि सक्दछ । हाम्रो दुवैतिर महान मित्रराष्ट्रहरु छन् । अरु टाढाका धेरै देशसँग हाम्रो मित्रता छ । हामी सबैसँग मित्रता राख्नेछौं । कसैसित बेमेल र झगडाको इच्छा गर्दैनौं । निस्कपटापूर्वक सहायता गर्ने र मित्रता बढाउने देशका हामी रहनेछौं । आफ्नो देशको मर्यादा र इज्जतलाई कतैबाट पनि कम हुन दिने छैनौं ।

विशेष गरेर अनादिकालदेखीको साँचो प्रेम र मित्रता भारत र हाम्रो बीचमा दृढ र घनिष्ट छ । र रहने पनि छ । सुख दुःखमा परस्परलाई सहायता गर्नु र परस्परमा इज्जत बढाउनु परस्परदेखि हाम्रो सम्बन्धको ऐतिहासिक आधार भएको छ । हालमा पनि हामीले भारतबाट धेरै किसिमको सहायता राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा पाएका छौं । यस सम्बन्धमा हालै संयुक्त राष्ट्रसंघमा हाम्रो सदस्यता प्राप्तिका लागि हामीलाई सहायता गर्ने देशहरुप्रति कृतज्ञता ज्ञापन गर्दछु ।

विशेषगरि भारत सरकार र यसका विश्वविख्यात प्रधानमन्त्री श्री जवाहरलाल नेहरुसँग हामी अतिशय आभारी छौं । कुनै पनि देशको अन्तराष्ट्रिय सम्बन्धको नीति निर्माणमा त्यस देशको इतिहास, भूगोल, संस्कृति परम्परा तथा अािर्थक र यातायात आधार बस्तु हुन् । हामी नेपाली मित्रताको आदन गर्न र मित्रको कदर गर्न जानेका छौं । र त्यसको परिचय पनि मौका मौकामा दिने कोशिश गरेका छौं । संयुक्त राष्ट्रसंघमा पनि विश्वास र सद्भावना बढाएर मित्रता र शान्तिका पथमा हामी आफ्नो देशको इज्जत बढाउँदै भाग लिन संकल्प गर्दछौं ।

साथीहरु मैले तपाईहरुको प्रशस्त समय लिइसकेँ । हामीले गर्नुपर्ने काम थुप्रो बाँकी छन् । यो अधिवेशनमा धेरै महत्वपुर्ण निर्णयहरु गर्नुपर्दछ । त्यो ज्यादा महत्वको छ । तैपनि म आफ्नो संस्थाको गठनपट्टि केही मेरो मनमा लागेका कुरा तपाईहरुलाई भनेर यो भाषण अन्त गर्नेछु ।

प्रत्येक दिन कामको एउटा खुड्किलो बनाएनौं भने हामी सदाको पछौटे रहने छौं । हाम्रो बाटो सोझो छैन । विध्न र बाधाका अनेक तत्व हाम्रा वरिपरि र हाम्रो समनेमा छन् । संस्थाको बल र मानको लागि हामीले मरेर, मेटिएर पनि यो काँडा, यी विध्न–बाधाहरुलाई खत्तम गर्नुछ । हाम्रो जमात ठूलो छ । काम हुन नदिन षड्यन्त्र गर्ने विशाल अनिष्ट तत्वहरु पनि छन् । हाम्रो संस्था जति ठूलो छ, उति विशाल हृदय बनाएर हामीले दृढ प्रतिज्ञासहित निस्काम कर्मयोगी बन्नु पर्दछ । संकुचित स्वार्थभाव र अल्पलाभको लोभमा नेपाली कांग्रेसका कार्यकर्ता कदापि भुलिने छैनन् । संस्था व्यक्ति भन्दा ठूलो हो र मुख्य हो । अतः सबैको व्यक्तित्वलाई संस्थाको लागि समर्पण गर्नु पर्दछ ।

हामीले होसियार र सतर्क हुनु परेको छ । हाम्रो आफ्ना एकता दृढ रह्यो भने हामीलाई कसैले नोक्सान गर्न सक्ने छैनन् । हामीले सदा चनाखो भएर आफ्नो एकतालाई जोगाउनु छ । हामी प्रजातन्त्रका पूजारी हौं । हामी प्रजातन्त्र र प्रजातन्त्रवादीलाई आत्मीय सम्झन्छौं । तिनका कल्याणका लागी प्रर्थना गर्दछौं । तर प्रजातन्त्रवादी त्यो हो जसले संगठनमा एकताको भाव राख्दछ । त्यो कसरी र कस्तो प्रजातन्त्रवादी हो जो सिद्धान्तका आधार मेल गर्न जान्दैन र चाहँदैन र तँ तँ र म म गरेर रोटीका टुकडाको लागि मात्रै फिक्री गरिरहन्छ ।

अप्रजातान्त्रिक, निरंकुश, सामन्ती र साम्प्रदायिक तत्वसँग हाम्रो मेल हुन सक्तैन । तर साँचा प्रजातन्त्रवादी व्यक्ति र संस्थाहरुलाई सदा एकताको बन्धनमा बाँध्न हामी प्रयत्नशील रहने छौं । मेरो दृष्टिमा प्रजातन्त्र नै चाहिएको हो र म र मेरो तन्त्र अथवा अर्को तन्त्रको साँचो छैन भने नेपालमा प्रजातन्त्रवादीहरुको मेलको बीचमा रोडा छैन । वास्तवमा पद र अधिकारको मोहले प्रजातन्त्रको मकुन्डो भएको अखाडा मात्र कुहेको हो भने अर्को कुरा हो । म सदा सबै प्रजातन्त्रका अनुरागीको साथमा रहने प्रयत्न गर्नेछु ।

देशमा समान हक र समान अवसर ल्याउन संकल्प गर्ने नेपाली कांग्रेस पक्षपात र उच्च नीचको भावबाट सदा टाढा रहने छ । आफ्नो संस्थाको एकता, त्यसको आदर्शमा विश्वास, काममा अनुशासन कामय राखी निस्वार्थपूर्वक काम अघि बढायौं भने सफलता स्वतः प्राप्त हुनेछ । यी कठिन समस्याहरु सफलतापूर्वक समाधान गर्न सक्ने छौं । हामी नेपाली कांग्रेसका प्रत्येक कार्यकर्ताले निस्वार्थता र त्याग निष्पक्षता र सेवाको लागि क्रियाशील बन्न कबूल गरेका छौं । फेरि पनि ती वीर आत्मा शहीदहरुको आदर्शलाई सम्झेर प्रत्येक दिन तत्पर रहौं । डराउने बानी छैन हाम्रो । हाम्रो प्रगतिमा तगारो बन्न बसैले पनि सक्दैन । भविष्य हाम्रो छ । देश हामी बनाउछौं । हामी नै बनाउन सक्नेछौं ।

जय नेपाल ।।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर