कांग्रेसको १४औँ महाधिवेशन : ९ सदस्यका लागि दलितबाट १७ जना मैदानमा – Nepal Press

कांग्रेसको १४औँ महाधिवेशन : ९ सदस्यका लागि दलितबाट १७ जना मैदानमा

काठमाडौ । नेपाली कांग्रेको १४औँ महाधिवेशन शुक्रबारबाट सुरु भएको छ । उम्मेदवारी घोषणा नेताहरुले अहिले आफ्नो मनोनयन गर्दै दर्ता गरिरहेका छन् ।

कांग्रेसले पार्टीलाई समावेशी बनाउनका लागि पदाधिकारी तथा केन्द्रीय सदस्यमा समावेशी पदको व्यवस्था गरेको छ । त्यसै अन्तरगत १३ प्रतिशत जनसंख्या रहेको दलितको प्रतिनिधित्व भने पाँच प्रतिशत मात्र केन्द्रीय समितिमा सुनिश्चित भएको छ ।

नेपाली काँग्रेसको आसन्न १४औं महाधिवेशनले एक सय ६८ सदस्यीय केन्द्रीय समिति गठन गर्दैछ । जसमा सभापतिसहित १४ सदस्यीय पदाधिकारीमा सात प्रतिशत अर्थात एक जना दलिततर्फबाट सहमहामन्त्री निर्वाचित हुने सुनिश्चित भएको छ ।

यस्तै दलिततर्फबाट नौ जना केन्द्रीय सदस्य गरेर केन्द्रीय समितिमा पाँच प्रतिशत सुनिश्चित भएको छ । जसमा पाँच जना दतिलतर्फ पनि खुलाबाट निर्वाचित हुनेछन् भने चार जना दतिल महिलाबाट निर्वाचित हुनेछन् ।

समावेशी दलिततर्फको सहमहामन्त्रीको एक पदका लागि पार्टीमा दुर्इ कार्यकाल केन्द्रीय सदस्य भइसकेका मीन विश्वकर्मा र जीवन परियारले पत्रकार सम्मेलनमार्फत उम्मेदवारी घोषणा गरिसकेका छन् । विश्वकर्मा पार्टी सभापति शेरबहादुर देउवा पक्षका हुन् भने परियार वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेता हुन् ।

त्यो बाहेक नौ जना केन्द्रीय सदस्यका लागि अहिलेसम्म दोब्बर आकांक्षी देखिएका छन् । नेपाल प्रेसलाई अहिलेसम्म प्राप्त विवरण अनुसार अनुसार समावेशी दलिततर्फ नौ सदस्यका लागि १७ जनाले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

नौ जना केन्द्रीय सदस्यमा पनि चार जना दलित महिला सदस्यका लागि अहिलेसम्म ११ जना दलित महिलाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् भने पाँच दलित पुरुष केन्द्रीय सदस्यतर्फ ६ जनाले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

लक्ष्मी परियार

दलित महिलाबाट १३औँ महाधिवेशनमा नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएकी लक्ष्मी परियार कांग्रेसबाटै समानुपातिकतर्फ प्रतिनिधि सभा सदस्यसमेत छन् ।

उनले २०४८ सालबाट राजनीति सुरू गरेकी हुन् । विद्यार्थी राजनीति हुदैँ उनले महिला र दलितको सवाललाई संविधान सभामा प्रमुख रूपमा उठाउदैँ आएको र नेपाली काग्रेसले ल्याउने एजेन्डालाई जोड दिदै आएको बताउछिन् ।

सक्रिय राजनीतिमा अगाडि आउन परिवारले पनि साथ दिएको भन्दै उनी राजनीतिमा महिला सहभागिता बढाउन आवश्यक भएको र आफू पनि निरन्तर रूपमा राजनीतिमा लागिरहने बाचा गर्छिन ।

लक्ष्मीको जन्म खोटाङ्गको साविकको छोरम्बु गाउ विकास समितिमा भएको हो । उच्च माध्यमिक तहसम्मको शिक्षा हासील गरेकी परियार अहिले स्थायी रूपमा भने उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर एकमा बस्दै आएकी छन् ।

प्रकाश रसाइली

नेपाली कांग्रेसको दलिततर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिने अर्का सशक्त उम्मेदवार हुन् प्रकाश रसाइली । बझाङबाट महाधिवेशन प्रतिनिधि बनेका उनले केहि दिन अघि पत्रकार सम्मेलन गर्दै समावेशी दलिततर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।

रसाइली कांग्रेसबाट प्रतिनिधि सभातर्फका समानुपातिक सांसद पनि हुन् । प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सदस्य पनि रहेका छन् ।

१३औँ महाधिवेशनमा पनि केन्द्रीय सदस्यको उम्मेदवार बनेका रसाइली थोरै मतले पराजित भएका थिए । नेपाल दलित संघका पूर्व महासचिव भइसकेका रसाइली विद्यार्थी कालबाटै राजनीतिमा आएका हुन् । उनी नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्यसमेत भइसकेका छन् ।

उनले नेपाल प्रेससँग भने, ‘मैले ७७ वटै जिल्ला पुगेर पार्टीका नेता र साथीहरूसँग छलफल गरेको छु, समस्या, गुनासा र पार्टीको राजनीतिक कार्यदिशाबारे संवाद गरेको छु ।

त्यहीआधारमा आफूले पार्टीको केन्द्रीय कार्यसमितिमा बसेर योगदान गर्न सक्छु भन्ने हिसावले उम्मेदवारी दिने निधो गरेको हुँ ।’ कांग्रेसमा सामान्य नागरिकका मुद्धा उठाउनका लागि आफ्नो उम्मेदवारी रहेको दाबी गरे ।

उनी भन्छन्, ‘म आफैँ यो समाजको पिँधबाट उठेर आएको व्यक्ति हुँ । अझै पनि सामान्य नागरिक, गरिव, दलित महिलाका तथा सिमान्तकृत समुदायका मुद्धा कांग्रेसमा छलफल हुन सकेको छैन । त्यो समाजको पिँधमा रहेका समुदायको मुद्धा उठाउन मेरो उम्मेदवारी हो ।’

कांग्रेसले सुकुम्बासी, भूमिहीन, दलित, गरिब, रिक्साचालक, खाडी मुलुकमा पुगेका सामान्य नागरिक सबैको मुद्धालाई समान ढंगले उठाउनुपर्ने आफ्नो जोड रहने दाबी गर्छन ।

सुजाता परियार

लामो समय देखि नेपाली काग्रेसको राजनीतिमा अग्रणी भूमिका निर्भाह गर्दै आएकी बताउछिन् सुजाता परियार नेपाली कांग्रेसको केन्द्रीय सदस्यसमेत रहेकी परियार प्रतिनिधि सभाको सदस्य पनि छन् । प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिकी सदस्यसमेत रहेकी छन् ।

२०४५ सालदेखि नै नेपाल विद्यार्थी संघबाट राजनीति यात्रा सुरु गरेकी परियार कांग्रेसको राजनीतिमा निरन्तर सक्रिय हुँदै आएकी छन् । इलामदेखि राजनीतिक यात्रा सुरु गरेकी परियार प्रतिनिधि सभा सदस्य र नेपाली काँग्रेसको १२औ महाधिवेशनबाट अत्याधिक मत हासिल गर्दै केन्द्रिय सदस्यमा विजय भएकी थिईन ।

मानबहादुर नेपाली

नेपाली काँग्रेस रुकुमका पूर्व जिल्ला सभापतिसमते भइसकेका नेपाली कांग्रेसका नेता हुन मानबहादुर नेपाली । नेता नेपाली नेपाली कांग्रेस भित्र दलित समुदायबाट पहिलो जिल्ला सभापति बन्ने व्यक्ति पनि हुन् । उनी २०६७ सालदेखि २०७२ माघ २५ गतेसम्म साविक रुकुम जिल्लाको सभापति बनेका हुन् ।

यतिमात्र नभई नेपाली राष्ट्रिय दलित आयोगको अध्यक्ष समेत भइसकेका छन् । नेपाली माओवादीको उद्गम थलो मानिने रुकुममा प्रजातन्त्र जोगाउन अनवरत रुपमा लागि परेको दाबी गर्छन । उनले पनि समावेशीतर्फ दलित केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।

गंगा सुनार

काठमाडौंकी नेतृ गंगा सुनारले पनि दलित महिलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरिसकेकी छन् । बुढानिलकण्ठ नगरपालिका–७ स्थायी घर भएकी ३७ वर्षे सुनारले समाजशास्त्र र राजनीतिक शास्त्रमा स्नातक गरेकी छन् । काठमाडौंमा नेता प्रकाशमान सिंहसँग निकट मानिएकी सुनार काठमाडौं क्षेत्र नम्बर पाँच बाट दोस्रो पटक महाधिवेशन प्रतिनिधि चुनिएकी हुन् ।

उनी अहिले नेपाली कांग्रेसको भातृ संगठन नेपाल दलित संघकी अध्यक्ष समेत छन् ।

उनले भनिन्, ‘दलित समुदायको पेशा व्यवसायलाई आधुनिकीकरण, बैज्ञानिकीकरण र संस्थागत गर्नुपर्ने आवश्यकता छ, पछाडि पारिएको समुदायको आर्थिक, शैक्षिक, स्वास्थ्य र राजनीतिक चेतनाको विकास गराएर अघि बढाउनुपर्नेछ, मेरो उम्मेदवारी त्यसैका लागि हो ।’

२०६२ सालमा कांग्रेसको इकाइ समिति सदस्य भएर काम गरेकी सुनार दोस्रो जनआन्दोलनमा सक्रिय रुपमा सहभागी भएको बताउछिन् । उनी दलित संघको साधारण सदस्य भएदेखि निरन्तर कार्यरत रहेको दाबी गर्छिन ।

२०६० सालमा संघको जिल्ला सदस्य भएकी उनी २०६४ मा सहसचिव, २०६७ सालमा सचिव, २०७० सालमा पुनः सचिव भएर काम गरेपछि २०७४ सालमा संघको जिल्ला अध्यक्ष बनेकी हुन् । आफू जिल्ला अध्यक्ष हुँदा पार्टीको विधानमा दलित समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न आन्दोलित हुनेदेखि विभिन्न गतिविधि गरेको बताउछिन् ।

काठमाडौंमा पहिलो पटक २०७५ साल बैशाख २२ गते सहभोजको आयोजनासमेत आफ्नै नेतृत्वमा भएको उनको दाबी छ ।

उनी भन्छिन्, ‘काठमाडौंमा अझै पनि जातीय विभेद हटेको छैन् । हामीले दलित संघको आयोजनामा त्यो बेला सहभोजको आयोजना गरेर समाजमा सबै समान हो भन्ने भाष्य स्थापित गर्ने प्रयत्न गरेका थियौँ ।’

उनले आफू संघको जिल्ला अध्यक्ष भएपछि पटक–पटक प्रशिक्षण कार्यक्रम, दलित विद्यार्थी सम्मान तथा प्रोत्साहन लगायत कार्यक्रम गरेको दाबी गरिन् ।

उनले थप्दै भनिन्, ‘पार्टीमा दलित महिलाको प्रतिनिधित्व हुने व्यवस्था छ । मैले लामो समयदेखि दलित समुदायको हक, हित र शशक्तिकरणका लागि काम गर्दै आएकी छु । पार्टीका संगठनमा बसेर पनि काम गरिसकेकी छु । यो महाधिवेशनबाट पार्टीको केन्द्रीय राजनीतिमा आफूलाई उभ्याउने तयारी गरेकी छु ।’

दोबाटे विश्वकर्मा

गण्डकी प्रदेशका बिना विभागीय मन्त्री हुन दोबाटे विश्वकर्मा । उनी तनहुँ क्षेत्र नम्बर एकबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् । उनले दलिततर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

उनले नेपाल प्रेससँग भने, ‘दलित समुदायका साथै विपन्न वर्गको उत्थानमा लागेर राजनीतिक कदमलाई अगाडि बढाउन उम्मेदवारी दिएको हुँ । गरिब तथा निमुखाको उत्थानका लागि कांग्रेसले गरेको आन्दोलनलाई सार्थक तुल्याउने उद्देश्यसहित केन्द्रीय सदस्यमा उम्मेदवारी दिदैँछु ।’

उनले थप्दै भने, ‘सबैको सल्लाह, सुझावअनुसार केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको छु, सबै महाधिवेशन प्रतिनिधिको साथ र सहयोग रहनेमा ढुक्क छु ।’

बिमला नेपाली

केन्द्रीय सदस्यमा दतिल महिलातर्फ उम्मेदवारी दिने घोषणा गरेकी छन् बिमला नेपालीले । उनी नेपाली काँग्रेसबाट दाङ क्षेत्र नम्बर एकबाट प्रतिनिधि सभा सदस्यसमेत रहेकी छन् । प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिकीसमेत सदस्य रहेकी छन् । नेपाली २०६४ सालको पहिलो संविधान सभा सदस्य पनि हुन । त्यतिबेला संविधान सभाको न्यायिक समिति सदस्य रहेकी थिईन भने व्यवस्थापिकातर्फ पनि महिला समितिकै सदस्य थिईन ।

दाङमा नेपाल विद्यार्थी सँघबाट राजनीति सुरु गरेकी नेपाली नेपाल दलित संघ दाङको संस्थापक सदस्य हुन् । त्यपछि भने उनी भूगोलको राजनीति नगरेरै एकैपटक राष्ट्रिय राजनीतिमा प्रवेश गरिन् । उनी २०५९ सालमा दलित संघको केन्द्रीय सदस्य भइन भने २०६६ सालमा नेपाल दलित संघको कोषाध्यक्ष सदस्य भएर काम गरिसकेकी छन् ।

नेपाली काँग्रेसको १२औँ, १३औँ र अहिलेको १४औँ गरेर तीन पटक महाधिवेशन प्रतिनिधि भइसकेकी छन् । यस पटक उनी महाधिवेशन प्रतिनिधिसँगै महासमिति सदस्य पनि हुन् । १३औँ महाधिवेशनमा दलित महिलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिएर थोरै मतले पराजित हुने पुगेकी थिईन ।

पछाडी परेको वर्ग समुदायलाई नेपाली काँग्रेको नीतिमार्फत अघि बढाउनका लागि आवाज उठाउने आफ्नो प्रमुख एजेण्डा रहेको नेपाली बताउछिन् । दलित भित्र पनि दलित महिलाको उत्थानका लागि केन्द्रीय सदस्यमा आफ्नो उम्मेदवारी रहेको उनको भनाई छ । पार्टीको केन्द्रीय समितिमा बसेर पार्टीलाई अहिलेको भन्दा बढी समावेशी बनाउनका लागि विशेष पहल गर्ने उनको योजना छ ।

पदमबहादुर नेपाली

नेपाली काग्रेसको भातृ संगठन नेपाल दलित संघका पूर्व केन्द्रीय सदस्य हुन् युवा नेता पदम नेपाली । उनीले पनि १४औँ महाधिवेशनमा केन्द्रीय सदस्य (समावेशी दलिततर्फ) उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनी दलित संघको सेती अञ्चल संयोजकसमेत भइसकेका छन् ।

‘स्वास्थ्य, शिक्षा र स्वरोजगारः मेरो राजनैतिक मूल आधार’ भन्ने प्रतिवद्धतासहित उम्मेदवारी घोषणा गरेका नेपालीले १४औं महाधिवेशन प्रतिनिधि, प्रतिनिधिसभा क्षेत्रीय सभापति, जिल्ला सभापतिलगायत मतदातालाई आफूलाई मतदानका लागि अपिल गरेका छन् ।

बाजुराबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित नेपालीले आफ्नो समाजसेवाको मुख्य आधार राजनीति नै भए पनि विगत लामो समयदेखि कैलालीको धनगढीमा रहेर शिक्षा, कृषि फर्म र स्वरोजगारमूलक क्षेत्रमा लगानी गरेर उद्यमशीलतालाई पनि प्रवद्र्धन गरिरहेको बताउछन् ।

उनी भन्छन्, ‘राजनीति व्यापारका रुपमा लाञ्छित भइरहेका बेला मैले उद्यमशीलतामार्फत अर्थोपार्जन र राजनीतिमार्फत सेवा भन्ने मान्यतासहित काम गरिरहेको छु । मैले जितेमा नेपाली कांग्रेस र राजनीतिमा मेरोजस्तै मान्यता राख्ने आम युवाहरुलाई हौसला मिल्ने छ र यसले नेपाली राजनीतिलाई सम्मानित बनाउन योगदान हुनेछ ।’

यस्तै सिता मिजार, शान्ती परियार, आशा विश्वकर्मा, देविका नेपाली, कविता सरदार, कमला नेपाली र कल्पना सोबले दलित महिलातर्फबाट र शिबबहादुर सुनार र रामकृष्ण लकान्द्रीले दलित खुलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर