मुस्लिम समुदायको विकासका लागि शिक्षा अतिआवश्यक : मुख्यमन्त्री – Nepal Press

मुस्लिम समुदायको विकासका लागि शिक्षा अतिआवश्यक : मुख्यमन्त्री

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले शिक्षा बिना मुस्लिम समुदायको समग्र विकास सम्भव नरहेको बताएका छन् ।

मुस्लिम आयोगद्वारा आज जनकपुरधाममा आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले यस्तो धारणा राखेका हुन् । उनले मुस्लिम समुदायलाई राज्यको मुल धारमा ल्याउन शिक्षामा पहुँच पुर्याउनुपर्नेमा जोड दिए ।

मदरसा विधेयक प्रदेशसभामा अलपत्र परेको सन्दर्भमा उनले भने, ‘मदरसा शिक्षालाई राज्यले मान्यता दिनुपर्छ । मदरसामा अरबी र उर्दु मात्र होइन्, अंग्रेजी, विज्ञान र गणित विषयको अध्यापन समेत हुनुपर्छ ।’

मदरसा शिक्षासँगै आधुनिक शिक्षासँग बालबालिकाहरुलाई जोड्न मुस्लिम अगुवाहरुलाई उनले आग्रह समेत गरे । अरुमाथि औंला ठड्याएर मात्र मुस्लिम समुदायको विकास नहुने उनको भनाई थियो ।

प्रदेश सरकारले सबै समुदायलाई जनसंख्याको अनुपातमा आरक्षणको व्यवस्था गरिसकेको उल्लेख गर्दै यस प्रदेशमा मुस्लिम समुदायले १२ प्रतिशत आरक्षण पाउने विश्वास दिलाए । उनले धार्मिक, ऐतिहासिक स्थलहरुको सौन्दर्यीकरणको क्रममा प्रदेश जानकी मन्दिर, विद्यापति डिह र रौजा मजारलाई समेत प्राथमिकतामा राखेर काम गरेको बताए ।

आयोगका अध्यक्ष समिम मियाँ अंसारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शत्रुधन महतो, प्रदेशसभा सदस्य अशोक यादव, जयनुल राइन, दिलिप साह, सुरिता साहलगायतले मुस्लिम समुदायको विकासमा जोड दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर