कांग्रेस समीकरणमा उथलपुथल, महाधिवेशनमा यसरी भयाे गुटहरुकाे विनिर्माण – Nepal Press

कांग्रेस समीकरणमा उथलपुथल, महाधिवेशनमा यसरी भयाे गुटहरुकाे विनिर्माण

काठमाडौं । भावी नेतृत्वका लागि उम्मेदवारी दर्ता गर्ने क्षणसम्म आइपुग्दा नेपाली कांग्रेसको आन्तरिक समिकरणमा व्यापक फेरबदल आएको छ । सभापति शेरबहादुर देउवाले नेतृत्व गरेको संस्थापन समूह एकगठ रहन सकेन भने रामचन्द्र पौडेलको संस्थापन इतर समूह पनि छिन्नभिन्न भयो ।

विगतदेखि देउवालाई सघाउँदै आएका नेता विमलेन्द्र निधीले पहिल्यै विद्रोह गर्दै आफू सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका थिए । हाल उपसभापति रहेका निधीले आज सभापति पदका लागि उम्मेदवारी दर्ता गरिसकेका छन् । देउवालाई ठूलो धक्का भने निधी असफल बने । उनले देउवा समूहका कुनै पनि चर्चित नेतालाई आफूतिर तान्न सकेनन् । उनले निर्वाचनका लागि आफ्नो टिम पनि बनाएका छैनन् ।

सभापतिमा आफ्नो दावेदारी कमजोर बनेको बुझेर उनले अन्तिम क्षणमा रामचन्द्र पौडेलको नाममा सर्वसम्मति गर्न प्रस्ताव गरेका थिए । तर, उनको प्रस्ताव देउवाले स्वीकार्ने सम्भावना थिए । रामचन्द्र आफ्नै गुटमा समेत सर्वसम्मत बन्न सकेनन् र  अन्तत: सभापतिको दौडबाटै बाहिरिए ।

पार्टीका प्रभावशाली युवा नेता विश्वप्रकाश शर्माले पनि अन्तिम समयमा देउवाको साथ छोडेका छन् । देउवाको टिमबाट महामन्त्रीको उम्मेदवार बन्न असफल भएपछि उनी बाध्य भएर सो समूहबाट अलग भएका हुन् । संस्थापन इतरका शेखर कोइरालाले पनि उनलाई तान्न नखोजेपछि शर्मा अन्ततः प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेका छन् ।

मधेशमा पकड भएका नीति र युवा पुस्तामा प्रभाव बनाएका शर्मालाई गुमाउँदा देउवालाई केही न केही धक्का अवश्य पुग्ने छ । तर, पछिल्लो समिकरणमा देउवालाई केही लाभ पनि भएको छ ।

अघिल्लो महाधिवेशनमा सभापति पदका उम्मेदवार बनेका कृष्ण सिटौलाले देउवालाई समर्थन गरेका छन् । आफ्नो समूहका युवा नेता प्रदीप पौडेललाई महामन्त्रीमा उभ्याउने शर्तमा उनले देउवालाई समर्थन जनाएका हुन् । सिटौलाको समर्थन देउवाका लागि ठूलो प्लस प्वाइन्ट हुन सक्न ठानिएको छ ।

पछिल्लाे फेरबदलमा युवा नेता प्रदीप पाैडेललाई फलिफाप भएको छ । अघिल्लाे महाधिवेशनमा रामचन्द्र पाैडेलकाे प्यानलबाट केन्द्रीय सदस्य जितेका पाैडेलले महाधिवेशनपछि गुट परिवर्तन गर्दै सिटाैलातिर लागेका थिए । तत्कालिन महाधिवेशनका सिटाैला समूहमा रहेका महामन्त्रीका दावेदार गगन थापालाई हुत्याउँदै पाैडेल सिटाैलाकै सिफारिसमा देउवाकाे बलियाे प्यानलमा समेटिएका हुन् ।

यता, संस्थापनइतर समूहले अन्तिम समयसम्म निकै कसरत गर्दा पनि सर्वसम्मत सभापति उभ्याउन सकेन । अन्तत: यो समूह नै तितरवितर भएको छ । यस समूहबाट शेखर कोइराला र प्रकाशमान सिंह सभापतिका उम्मेदवार बनेका छन् । शेखर कोइरालाले पदाधिकारीमा पूरा प्यानलसहित उम्मेदवारी दिएका हुन् ।

कागजमा हेर्दा शेखरको प्यानल प्रभावकारी देखिएको छ । यसअघि कृष्ण सिटौलाको समूहमा रहेका युवा नेता गगन थापा शेखरको प्यानलमा आएका छन् । उनी महामन्त्रीका उम्मेदवार हुन् । उनीसहित अर्का चर्चित नेता डा. मिनेन्द्र रिजाल पनि कोइराला प्यानलबाट महामन्त्रीका उम्मेदवार बनेका छन् । डा. रिजाल अघिल्लो १३ औं महाधिवेशनबाट गुट परिवर्तन गर्दै देउवालाई छाडेर रामचन्द्रको समूहमा लागेका थिए ।

यसअघि रामचन्द्र पौडेल समूहमा रहेका नेताहरु धनराज गुरुङ र चन्द्र भण्डारी कोइरालाको प्यानलबाट उपसभापति पदका उम्मेदवार बनेका छन् । उनीहरु दुवै पार्टीमा राम्रो छवि भएका नेता मानिन्छन् ।

यता कोइराला परिवारकै सदस्य सुजाता कोइराला भने शेखरको प्यानलमा अटाइनन् । उनले प्रकाशमानको प्यानलबाट उपसभापतिमा उम्मेदवारी दिएकी छन् । अर्का कोइराला सदस्य वीपी पुत्र शशांक कोइराला अन्तिम समयमा सभापतिको रेसबाट बाहिरिए । उनले शेखरलाई समर्थन गरेका छन् । रामचन्द्र र शशांकको समर्थनप्राप्त शेखरले सभापतिलाई देउवालाई कडा टक्कर दिन सक्ने अनुमान गरिएको छ ।

यसपटक संस्थापन इतर समूहका हस्ति मानिने महेश आचार्य पनि गुटबाट तितरवितर भएका छन् । उपसभापति दावी गरेका उनी प्यानलमा नपरेपछि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

२०४८ मा गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई जस्ता नेताको विरोधका बाबजुद गिरिजाप्रसाद कोइरालाले ३७ वर्षको उमेरमै सांसद नै नरहेका आचार्यलाई अर्थमन्त्री बनाएका थिए ।

आचार्य सधैं कोइराला गुटका प्रभावशाली नेता रहदै आएका छन् । यसपटक उनी कोइराला परिवारको लिस्टमा अटाउन सकेनन् । तर उनी प्रकाशमान सिंहकाे टिममा जाने विषयमा छलफल गरिरहेकाे छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर