माओवादीको वागमती प्रदेश अध्यक्षमा तीन नेताको प्रतिस्पर्धा, कसको आधार कस्तो ? – Nepal Press

माओवादीको वागमती प्रदेश अध्यक्षमा तीन नेताको प्रतिस्पर्धा, कसको आधार कस्तो ?

काठमाडौं । नेकपा माओवादी केन्द्रको वागमती प्रदेश अध्यक्षका लागि तीन जना नेताको बलियो दावेदारी देखिएको छ । शनिवारबाट शुरु भएको प्रदेश सम्मेलनको बन्दसत्र आइतवार बिहानदेखि शुरु हुनेछ ।

यो प्रदेश सम्मेलनले २७७ सदस्यीय प्रदेश कमटी चयन गर्नेछ । प्रदेश अध्यक्षका लागि दोलखाका विशाल खड्का, सिन्धुपाल्चोकका सरल सहयात्री पौडेल र काभ्रेका दिनानाथ गौतमको दावी छ ।

प्रदेश अध्यक्षका दावेदार खड्का माओवादी आन्दोलनका चर्चित युवा हुन् । हाल प्रदेशसभा सदस्य समेत रहेका युवा नेता खड्का जनयुद्धकालमा ८ वर्ष जेल बसेका थिए । उनको परिवार नै माओवादी जनयुद्धमा मानक बनाउनेमा पर्छ ।

दाजु रितबहादुर खड्का माओवादीको केन्द्रीय सदस्य रहेका बेला युद्धकालमा सेनाबाट मारिएका थिए । दिदी देवी खड्का पनि जनयुद्धमा प्रहरी दमनबाट पीडित भएकी थिइन् भने उनी पनि दमनको शिकार भएका थिए ।

दोलखाका लोकप्रिय नेता खड्का युवामाझ स्थापित छन् भने माओवादी अध्यक्ष प्रचण्डले पटकपटक उनको र परिवारको त्याग तथा वीरताको प्रशंसा गर्ने गरेका छन् । खड्का २०७० को निर्वाचनमा पनि उम्मेदवार भएका थिए ।

त्यस्तै अध्यक्षका अर्का दाबेदार सरल सहयात्री पनि माओवादीका स्थापित युवा नेता हुन् । जनयुद्धकालमा ब्रिगेड कमाण्डर रहेका उनी सेना समायोजनपछि पार्टी राजनीतिमा स्थापित भएका हुन् । उनी २०७० सालको निर्वाचनमा पराजित भएका थिए ।

सरल माओवादीका सांस्कृतिक संगठनका अध्यक्ष पनि हुन् । त्यस्तै अध्यक्षका अर्का दाबेदार दिनानाथ गौतम जनयुद्धकालका पूराना नेता हुन् ।

माओवादीसँग शान्ति वार्ताअघि उनी जेलमा थिए । उनीसहित दिनेश शर्माले सरकारसँग वार्ता गर्न अपिल गर्दै रिहा भएका थिए भने माओवादीले त्यसलाई कलाविहीन नाटक भनेको थियो ।

गौतम हाल काभ्रेको चौरी देउराली गाउँपालिकाका अध्यक्ष छन् । सहमति नभए निर्वाचनबाट नेतृत्व चयन हुने बताइएको छ । नेताहरुले सहमतिको प्रयास गरिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर