मेरा सपना पूरा भए, देशका सपना पूरा गर्न उम्मेदवारी दिएँ : विनोद चौधरी – Nepal Press

मेरा सपना पूरा भए, देशका सपना पूरा गर्न उम्मेदवारी दिएँ : विनोद चौधरी

काठमाडौं । नेपाली कांग्रेसका नेता विनोद चौधरीले पार्टीको जारी १४औं महाधिवेशनमा केन्द्रिय सदस्य पद (मधेशीतर्फ) मा उम्मेदवारी दर्ता गरेका छन् ।

आफ्नो सपना समृद्ध नेपाल रहेको र यहि मिशनका लागि राजनीतिमा आएको उल्लेख गर्दै चौधरीले कांग्रेसको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका हुन् ।

‘मैले मेरा लागि जीवनमा देखेका अधिकांश सपना पुरा हुदै आएका छन्’, उनले उम्मेदवारी घोषणा गर्दै भनेका छन्, ‘अब, मेरो बाँकी रहेको सपना भनेको नेपाललाई समृद्ध र स्वाभिमानी राष्ट्रका रुपमा चिनाउने हो ।’

राष्ट्र निर्माणको आफ्नो सपनालाई पुरा गर्न सबैको सहयोग पाउनेमा आफु विश्वस्त रहेको चौधरीले बताएका छन् ।

‘नेपाली कांग्रेसको नेतृत्वमा राजनीतिक क्रान्तिहरु सफल भए र अब आर्थिक क्रान्तिको जिम्मेवारी पनि कांग्रेसकै हो’, उनले थपे, ‘यसको सबैभन्दा महत्वपूर्ण आधार हाम्रा होनहार युवाहरुको सिर्जनसिल सोच, शिल्प, श्रम र केही गरौ भन्ने उत्साह भएकाले नेपाली कांगेसले सहि नेतृत्व पाउनु पर्छ ।’

विनोद चौधरी नेपाली कांग्रेसको लगानी, पूर्वाधार र रोजगारः दृष्टिकोण एवं दीगो परियोजना केन्द्रित विशेष समितिका संयोजक हुन् । उक्त समितिले पार्टीमा आबद्ध युवाहरुलाई उद्यमी बनाउन गरिखाने अभियान संचालन गरिरहेको छ ।

उनको नेतृत्वमा समितिले सातै प्रदेशमा योजना र उर्जा भएका युवाहरुलाई उनीहरुकै परियोजनामा लगानी र अन्य आवश्यक सिप उपलब्ध गराउन आवश्यक सहजिकरण गरिरहेको छ । उनी पार्टीका तर्फवाट प्रतिनिधिसभा सदस्य समेत हुन् ।

नेपाली कांग्रेसले कोरोना महामारीका बेला अस्तव्यस्त भएको आर्थिक क्षेत्रको उत्थानका लागि सुझाव दिन गठन गरेको समितिको संयोजक पनि थिए, चौधरी ।

उनी गत संसदीय निर्वाचनमा नेपाली कांग्रेसको निर्वाचन प्रचारप्रसारमा निकै सक्रिय थिए । देशभरि भएका सभाहरुमा कांग्रेसका लागि भोट माग्न पुगेका थिए ।

उद्योगी चौधरी फाेब्स म्यागेजिकमा सुचिकृत एक मात्र नेपाली डलर अर्बपति हुन् ।


प्रतिक्रिया

One thought on “मेरा सपना पूरा भए, देशका सपना पूरा गर्न उम्मेदवारी दिएँ : विनोद चौधरी

  1. देशका सपना बेचेर पूरा गर्ने त आफ्नै सपना त हाे नि । नेपाली जनता राम्रैसँग बुझ्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर