माओवादीको प्रदेश सम्मेलन : कहाँ, कस्ता आकांक्षी ?
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को ७ भौगोलिक ७ र ३ गैर भौगोलिक गरि १० प्रदेशको प्रदेश सम्मेलन भइरहेको छ ।
सम्मेलनको शनिबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल माध्यममार्फत संयुक्तरुपमा उद्घाटन गरेका थिए ।
सबै प्रदेश सम्मेलनमा करिब ९ हजार बढी प्रतिनिधीहरुको सहभागिता रहेको छ ।
सम्मेलनबाट सबै प्रदेशमा नयाँ नेतृत्व आउने छन् । सबै प्रदेशमा अध्यक्ष लगायतको पदाधिकारीका लागि धेरै आकांक्षी देखिएका छन् ।
लुम्बिनी अध्यक्षमा तीन जनाको भिडन्त पक्का
लुम्बिनीको नयाँ नेतृत्वका लागि तीन जना प्रतिस्पर्धी अगाडि आएका छन् ।
लुम्बिनी प्रदेश अध्यक्षका लागि प्रदेश सांसद दिपेन्द्र पुन ‘सिजल’, प्रदेश कार्यालय सचिव तथा पूर्वमन्त्री सुदर्शन बराल, राष्ट्रिय सभा सदस्य, अहिलेका सचिव जगप्रसाद शर्मा ‘अपार’ अन्तिम दौडमा छन् ।
यसअघि आकांक्षी रहेका प्रदेश सांसद दामा शर्मा तथा पार्टी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्याय भने पार्टी नेताहरुको सल्लाहमा ब्याक भएका छन् ।
नेताहरु वर्षमान पुन र ओनसरी घर्तीले रोल्पाका दिपेन्द्र पुन सिजललाई जसरी पनि नेतृत्वमा ल्याउन लागिपरेका छन् भने नेता जनार्दन शर्मा प्रभाकरले बराललाई प्रदेशको नेतृत्वमा ल्याउन लागिपरेका छन् ।
सुदूरपश्चिममा अध्यक्षका ९ आकांक्षी
सुदूरपश्चिम प्रदेशको अध्यक्षका लागि अहिले सम्म कसैले पनि औपचारिक उम्मेदवारी घोषणा गरेका छैनन् । तर, अध्यक्ष पदका लागि लबिङ भने तीव्र देखिएको छ ।
अध्यक्षमा सबै भन्दा धेरै कैलालीबाट आकाङ्क्षी देखिएका छन् । कैलालीबाट प्रदेश सभा सदस्य वीरमान चौधरी, राष्ट्रिय सभा सदस्य हरि चौधरी (उत्सव) , हरि ज्ञवाली (अखण्ड) र नेप बहादुर चौधरी अध्यक्षको दौडमा छन् ।
कञ्चनपुर देवीलाल चौधरी र अछामबाट शरदसिंह भण्डारी पनि अध्यक्षका आकांक्षी रहेको माओवादी स्रोतले बताएको छ । चौधरीले हाल प्रदेश सचिव हुन् भने भण्डारी प्रदेश अध्यक्ष हुन् ।
त्यस्तै बझाङका जनक बुढा र बैतडीका नरेन्द्र कुवँर पनि अध्यक्षको दौडमा रहेको बताइएको छ । डडेल्धुराका अजयमेरु गाउँपालिका अध्यक्ष उमेश भट्ट पनि अध्यक्षको दौडमा रहेका छन् । उनी प्रदेश इन्चार्ज खगराज भट्टका सहोदर भाइ हुन् ।
वागमती प्रदेश अध्यक्षमा तीन नेताको प्रतिस्पर्धा
वागमती प्रदेश अध्यक्षका लागि तीन जना नेताको बलियो दावेदारी देखिएको छ । प्रदेश अध्यक्षका लागि दोलखाका विशाल खड्का, सिन्धुपाल्चोकका सरल सहयात्री पौडेल र काभ्रेका दिनानाथ गौतमको दावी छ ।
प्रदेश अध्यक्षका दावेदार खड्का माओवादी आन्दोलनका चर्चित युवा हुन् । हाल प्रदेशसभा सदस्य समेत रहेका युवा नेता खड्का जनयुद्धकालमा ८ वर्ष जेल बसेका थिए । उनको परिवार नै माओवादी जनयुद्धमा मानक बनाउनेमा पर्छ ।
त्यस्तै अध्यक्षका अर्का दाबेदार सरल सहयात्री पनि माओवादीका स्थापित युवा नेता हुन् । जनयुद्धकालमा ब्रिगेड कमाण्डर रहेका उनी सेना समायोजनपछि पार्टी राजनीतिमा स्थापित भएका हुन् । उनी २०७० सालको निर्वाचनमा पराजित भएका थिए ।
सरल माओवादीका सांस्कृतिक संगठनका अध्यक्ष पनि हुन् । त्यस्तै अध्यक्षका अर्का दाबेदार दिनानाथ गौतम जनयुद्धकालका पूराना नेता हुन् ।
माओवादीसँग शान्ति वार्ताअघि उनी जेलमा थिए । उनीसहित दिनेश शर्माले सरकारसँग वार्ता गर्न अपिल गर्दै रिहा भएका थिए भने माओवादीले त्यसलाई कलाविहीन नाटक भनेको थियो ।
प्रदेश २ मा ४ आकांक्षी
अहिलेसम्म औेपचारिक रूपमा कुनै नेताले प्रदेश नेतृत्वको घोषणा गरको छैनन् । प्रदेश अध्यक्षमा आन्तरिक मामिला तथा सञ्चारमान्त्री भरतप्रसाद साह, पूर्वमन्त्री रामकुमार शर्मा, वर्तमान प्रदेश अध्यक्ष प्रह्लाद बुढाथोकी र अहिले प्रदेश सचिव रहेका श्रवण बरबरियाले दावी गरेका छन्।
प्रदेश संगठनको जिम्मेवार पदमा रहेका व्यक्तिले पार्टीको केन्द्रीय कार्यसमितिमा नरहने व्यवस्था भएकोे अवस्था बुझेर मात्रै उम्मेदवारी दिने मनसायमा रहेको माओवादी केन्द्रका नेता झलकु यादवले बताए ।
कर्णाली अध्यक्षमा दावेदार धेरै
कर्णाली प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्ष हुन चाहनेको सूची निकै लामो छ । आकांक्षीहरुले पार्टी अध्यक्ष पुपकमल दाहाल प्रचण्डलाई रिझाउन अनेक प्रयास गरिरहेका छन् ।
कर्णालीका १६ जना केन्द्रीय सदस्यमध्ये प्रदेश इन्चार्ज शक्ति बस्नेत र संगठन विभाग प्रमुख जनार्दन शर्मा प्रभाकरबाहेक १४ जनाले अध्यक्ष बन्ने चाहना व्यक्त गरेका छन् ।
अहिले माओवादी कर्णाली प्रदेश संयोजकमा राजकुमार शर्मा र सचिवमा रामदिप आचार्य छन् । यी दुवै केन्द्रीय सदस्य समेत हुन् । अहिले उनीहरु दुवैले प्रदेश अध्यक्षमा दाबी गरिरहेका छन् ।
त्यस्तै अध्यक्षका आकांक्षीहरुमा टेकबहादुर बस्नेत, कालीबहादुर मल्ल, बिन्दमान बिस्ट, महेन्द्रबहादुर शाही, झकबहादुर मल्ल छन् ।
माओवादी स्रोतका अनुसार मायाप्रसाद शर्मा, नरेश भण्डारी, राजेन्द्र महत, विजय भण्डारी, सत्या पहाडी, राजकुमार शर्मा र वसन्त शर्मा, नरबहादुर बिस्टले पनि अध्यक्ष हुने रहर गरेका छन् ।
प्रदेश १ मा तीन आकांक्षी
प्रदेश १ को अध्यक्ष बन्न सुरेशकुमार राई, ईन्द्रबहादुर आङ्बो र हेमराज भण्डारी आकांक्ष देखाएका छन् ।
केन्द्रको हस्तक्षेप नभए आङ्बो र राईबीच चुनावी प्रतिस्पर्धा नै हुने नेताहरु बताउँछन् ।
चुनाव हुने स्थितिमा भण्डारी भने प्रतिस्पर्धामा सहभागी नहुने बताइएको छ। राई माओवादी केन्द्र प्रदेश १ को वर्तमान अध्यक्ष हुन् भने आङ्बो प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्री छन् । भण्डारी सचिव हुन् ।
गण्डकीमा खुल्न बाँकी
गण्डकी प्रदेश अध्यक्षमा भने आकांक्षीहरु अझैं खुल्न बाँकी छन्। अहिलेका अध्यक्ष हरि अधिकारीलाई स्वभाविक दावेदार मानिएको छ ।