सुदूरपश्चिममा माओवादी सम्मेलन : प्रदेश सदस्यमै सकस, अध्यक्षका आकांक्षी पनि बढी – Nepal Press

सुदूरपश्चिममा माओवादी सम्मेलन : प्रदेश सदस्यमै सकस, अध्यक्षका आकांक्षी पनि बढी

आइतबार सक्ने भनिएको सम्मेलन मंगलबार पनि चल्ने

कैलाली । कैलालीको धनगढीमा माओवादी केन्द्रको प्रथम प्रदेश सम्मेलन सोमबार पनि सम्पन्न हुन सकेन । शनिवार र आइतबारको लागि भन्दै आयोजना गरिएको सम्मेलन नेतृत्व चयनमा सकस भएपछि सोमबार पनि सम्पन्न हुन नसकेको हो ।

सोमबार ढिलो गरी बन्द सत्र सुरु भएको थियो । सोमबार साँझसम्म प्रदेश सदस्यहरू टुङ्गो लगाउने भनिएपनि कुन जिल्लाको भागमा कति सदस्य पर्ने भन्ने विषयमा विवाद भएपछि मङ्गलवार बिहान पुन छलफल गर्ने भन्दै बन्द सत्र स्थगित भएको हो ।

कैलाली बाहेकका जिल्लाका प्रतिनिधीहरुले स्थानीय तह, प्रदेश निर्वाचन क्षेत्र, युवा महिला र दलित गरी प्रदेश सदस्यहरूको जिल्लाका लागि कोटा निर्धारण गर्नु पर्ने बताएका थिए । तर, कैलालीका प्रतिनिधीहरुले भने पार्टी सदस्य सङ्ख्याको आधारमा प्रदेश सदस्य निर्धारण गर्नुपर्ने माग राखेपछि विवाद उत्पन्न भएको हो ।

‘सबै कुरामा पार्टी सदस्य सङ्ख्या हेरिन्छ अहिले कोटा निर्धारण गर्दा पनि यहीलाई आधार मान्नुपर्छ’ कैलालीका एक प्रतिनिधिले भने, ‘पार्टी सङ्ख्याको मूल्यांकलन गर्नुपर्छ भन्दै हामीले विरोध गरेपछि आजलाई बैठक स्थगित भएको हो ।’

सुदूरपश्चिममा माओवादीका ८० हजार ४२७ हजार सदस्य रहेका छन् । कैलालीमा सबैभन्दा बढी २८ हजार ५४७ जना सदस्य हरेको ती प्रतिनिधिले जानकारी दिए । कैलालीमा धेरै सदस्य रहेको हुँदा धेरै कोटा निर्धारण गर्नुपर्छ भनेका छौँ उनले भने भोलि यस विषयमा छलफल हुन्छ ।

कैलाली बाहेकका जिल्लाहरूले भने स्थानीय तहबाट एक जना, प्रदेश निर्वाचन क्षेत्रबाट एक जना, युवा समूहबाट २० प्रतिशत, महिलाबाट ३५ प्रतिशत र दलित समुदायबाट १५ प्रतिशतका दरले सदस्य बनाउन सहमत भएको माओवादी स्रोतको दाबी छ।

‘यसरी सदस्य निर्धारण गर्दा कम पार्टी सदस्यका जिल्लाले पनि बढी प्रदेश सदस्य पाउन सक्छन् बढी पार्टी सदस्य भएका जिल्लाहरूले पनि कम प्रदेश सदस्य पाउन सक्छन् त्यसैले कैलालीले विरोध जनाएको हो’ एक प्रतिनिधिले भने, ‘भोलि यस विषयमा छलफल भएर मात्रै अरू विषयमा कुरा हुन्छ ।’

सुदूरपश्चिम प्रदेश सम्मेलनले एक अध्यक्ष, तीन उपाध्यक्ष, सचिव, तीन सहसचिव र कोषाध्यक्ष गरी नौ जना पदाधिकारी सहित दुई सय २३ सदस्यीय प्रदेश कमिटी गठन गर्ने छ ।

आइतबार सम्पन्न हुनुपर्ने सम्मेलनले सोमबार सम्म प्रदेश सदस्यहरूको पनि टुङ्गो लगाउन सकेको छैन । प्रदेश सदस्यको टुङ्गो लागेपछि पदाधिकारी छनोटमा भने समय नलाग्ने माओवादी स्रोतको दाबी छ ।

अहिलेसम्म ९ पदाधिकारीका लागि सबै भन्दा बढी अध्यक्षमै दाबी गर्नेहरू भेटिएका छन् । अहिले सम्म पनि झन्डै आधा दर्जन बढी नेताहरू प्रदेश अध्यक्षको लबिङमा छन् ।

अध्यक्षमा सबै भन्दा धेरै कैलालीबाट आकाङ्क्षी देखिएका छन् । कैलालीबाट प्रदेश सभा सदस्य वीरमान चौधरी, राष्ट्रिय सभा सदस्य हरि चौधरी (उत्सव) , हरि ज्ञवाली (अखण्ड) र नेप बहादुर चौधरी अध्यक्षको दौडमा छन् ।

कञ्चनपुर देवीलाल चौधरी र अछामबाट शरदसिंह भण्डारी पनि अध्यक्षका आकांक्षी रहेको माओवादी स्रोतले बताएको छ । चौधरीले हाल प्रदेश सचिव हुन् भने भण्डारी प्रदेश अध्यक्ष हुन् ।

दार्चुलाबाट मानबहादुर धामी पनि अध्यक्षको आकांक्षी देखिएका छन् ।उनी सुदूरपश्चिम प्रदेश सरकारको उद्योग वन तथा वातावरण मन्त्री हुन् ।

प्रदेश सदस्यको टुङ्गो लागे लगत्तै अध्यक्षमा यी व्यक्तिबाटै एक जनाले जिम्मेवारी पाउने माओवादी उच्च स्रोतको दाबी छ ।

‘कैलालीमा सबै भन्दा बढी पार्टी सदस्य र धेरै निर्वाचन क्षेत्र रहेको हुँदा अध्यक्ष कैलालीले पाउन सक्छ’ माओवादी उच्च स्रोतले भन्यो, ‘केन्द्रीय नेतृत्व पनि कैलालीमा अध्यक्ष दिन सकारात्मक भएको बुझिएको छ । ’

कैलालीमा अहिले सम्म चार जना आकांक्षी रहे पनि राष्ट्रिय सभा सदस्य हरि चौधरी (उत्सव)को सम्भावना बढी रहेको स्रोतको दाबी छ ।

‘केन्द्रीय सदस्यहरू अध्यक्ष नहुन पाउने भन्ने पनि आवाज उठिरहेको छ यदि त्यस्तो भयो भने उहाँ बलियो पत्र हो ’ स्रोत भन्छ ‘तर, अरू नेताहरू पनि लबिङमा हुनुहुन्छ ।’

कैलालीका चार आकांक्षी मध्ये अन्य दुई आकांक्षी केन्द्रीय सदस्य भएको हुँदा पनि हरि चौधरी (उत्सव) र हरि ज्ञवाली (अखण्ड)को सम्भावना बढी देखिएको छ ।

मङ्गलवार सम्म प्रदेश सदस्य टुङ्गो लगाएर पदाधिकारी पनि घोषणा गर्ने तयारी भइरहेको छ । घोषणा गरेको पदाधिकारीमा चित्त नबुझे वा उम्मेदवारहरू सहमत नभए निर्वाचनको सम्भावना रहेको पनि बुझिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर