कांग्रेस महाधिवेशन : सभापतिको मतगणना सुरु
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत सभापति तर्फको मतगणना सुरु भएको छ ।
सोमबार भएको मतदानमा राति अबेर मात्रै सकिएको थियो । मंगलबार विहानैबाट गणना सुरु गर्ने भनिएपनि चार बजेर ५ मिनेटबाट मात्रै गणना सुरु भएको हो ।
सभापतिको गणतना सकिएपछि मात्रै अन्य पदाधिकारी र सदस्यहरुको गणना सुरु हुनेछ । नेतृत्व चयनका लागि कांग्रेसका कुल ४७४३ मतदाता रहेकोमा ४६७९ मत मात्रै खसेको छ । ६४ जना प्रतिनिधिले भोट हालेनन् ।
२४ गतेबाट सुरु भएको महाधिवेशन अन्तरगत सोमबार मध्यान्ह करिब १२ बजेबाट मात्रै मतदान सुरु भएको थियो ।
कांग्रेसको नयाँ नेतृत्वका लागि शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा रहेका छन् ।
विहान ८ बजेबाट सुरु हुने भनिएको मतदान करिब ४ घण्टा ढिलो गरी सुरु भएको थियो । पछि तीन पटकसम्म समय थप गरेर राति साढे ११ बजेसम्म मतदानको समय तोकेको थियो ।
निर्वाचन समितिले भृकुटीमण्डप र राष्ट्रिय सभागृहस्थल गरी दुई स्थानमा मतदानको व्यवस्था मिलाएको थियो ।
अब कांग्रेसको सभापतिमा निर्वाचित हुनका लागि कुल खसेको ५० प्रतिशत बढी मत अर्थात पहिलो चरणमा नै २३४० मत आवश्यक रहनेछ ।
कुनै पनि उम्मेदवारले ५० प्रतिशत भोट ल्याउन नसकेमा फेरि मतदान हुनेछ ।
नेपाली कांग्रेसको यो महाधिवेशनले एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीसहित १३ जना पदाधिकारी चयन गर्नेछ । यस्तै १ सय २१ कांग्रेस केन्द्रीय समिति सदस्य पनि चयन हुनेछ ।