ओमिक्रोन भेरिएन्टबाट बेलायतमा पहिलो मृत्यु : बुस्टर डोज लगाउन प्रधानमन्त्रीको आग्रह
एजेन्सी । बेलायतमा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट एक जनाको मृत्यु भएको छ । प्रधानमन्त्री बोरिस जोन्सनले मुलुकमा नयाँ भेरिएन्टको कारण पहिलो मृत्यु भएको जनाएका छन् । साथै उनले आफ्ना जनतालाई बुस्टर डोज खोप लगाउन आग्रह गरेका छन् ।
प्रधानमन्त्री जोन्सनले पछिल्लो समय अस्पतालमा भर्ना हुने दर समेत बढेको भन्दै बुस्टर डोज लिन आग्रह गरेका हुन् । उनले भनेका छन्, ‘हामीले सक्ने सबैभन्दा राम्रो उपाय बुस्टरडोज खोप लगाउँ ।’
जोनसनले यो महिनाको अन्त्यसम्ममा देशका सबै बयस्कहरुमा बुस्टर डोज खोप लगाउने लक्ष्य राखेको बताइसकेका छन् । उनले भनेका छन्, ‘ओमिक्रोन भेरियन्ट सामान्य भेरियन्ट होइन, केस बढदै जाँदा पहिचान गर्न समेत जरुरी परेको छ ।’
स्वास्थ्यमन्त्री साजिद जाविदले बेलायतमा अहिलेसम्मसम्म कुल संक्रमितको २० प्रतिशत ओमिक्रोन भेरियन्ट देखिएको र त्यसमध्ये १० प्रतिशत अस्पतालमा भर्ना भएका छन् । बेलायतमा अहिलेसम्म ४ हजार ७१३ जना ओमिक्रोन भेरियन्ट संक्रमित रहेका छन् ।