फिल्मफेयर अवार्ड नेपालमा गर्ने तयारी : पर्यटनमन्त्रीसँग छलफल गर्न बलिउड टोली काठमाडौं आउँदै – Nepal Press

फिल्मफेयर अवार्ड नेपालमा गर्ने तयारी : पर्यटनमन्त्रीसँग छलफल गर्न बलिउड टोली काठमाडौं आउँदै

काठमाडौं । बलिउड फिल्म उद्योगको चर्चित अवार्ड फिल्मफेयरलाई नेपालमा आयोजना गर्न पहल सुरु भएको छ । अवार्ड आयोजना सम्बन्धमा पर्यटनमन्त्री प्रेमबहादुर आले र संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग छलफल गर्न फिल्मफेयरका दुईजना प्रतिनिधि आगामी साता काठमाडौं आउँदैछन् ।

फिल्मफेयरले नेपाल सरकार र काठमाडौंस्थित एक कम्पनीसँग मिलेर सन् २०२२ भित्र अवार्ड कार्यक्रम नेपालमा आयोजना गर्न खोजिरहेको छ ।

‘फिल्मफेयरका दुईजना प्रतिनिधि मुम्बइबाट संचार र पर्यटनमन्त्री ज्यूसँग छलफल गर्न आउने कार्यक्रम छ’ काठमाडौंस्थित आयोजक कम्पनीका प्रतिनिधिले नेपाल प्रेसलाई भने, ‘मन्त्रीज्यूसँग छलफल भएपछि कहिले गर्ने र कसरी गर्ने भन्नेबारेमा एमओयू हस्ताक्षर हुनसक्छ ।’

फिल्मफेयरले काठमाडौं वा पोखरामध्ये कुनै एक ठाउँमा अवार्ड आयोजना गर्न खोजिरहेको ती प्रतिनिधिले बताए । कोरोनाभाइरस महामारीले थलिएको नेपाली पर्यटनलाई उकास्न अवार्ड लाभदायक हुने आशा फिल्मफेयरले लिएको उनले जनाए ।

मुम्बईबाट आउने फिल्मफेयर प्रतिनिधिले संचार र पर्यटनमन्त्रीलाई अवार्ड आयोजनाबारे प्रस्ताव समेत पेश गर्नेछन् । ‘सरकारले गर्न सक्ने सहयोग हेरेर अघि बढ्ने भन्ने कुरा छ’ उनले भने, ‘मन्त्रीज्यू सकारात्मक भए एमओयू सम्झौता पनि हुनसक्छ ।’ पर्यटनमन्त्री प्रेमबहादुर आलेले नेटफिल्क्स फिल्म फोर्टिन पिक्सको प्रिमियर कार्यक्रममा समेत नेपाललाई अन्तर्राष्ट्रिय फिल्म छायांकन र गतिविधिको हब बनाउने बताएका थिए । इजरायली फिल्म फेस्टिभलमा समेत मन्त्री आलेले यो कुरा बताएका थिए ।

यसअघि नेपालमा गर्ने भनिएको बलिउडको अर्को चर्चित अवार्ड आइफा विवादकै कारण स्थगित भएको थियो । सलमान खानको दबंग टूर पनि विवादले रोकिएको थियो । तर, ब्रायन एडम्स र एमएलटीआर कन्सर्टलाई नेपालमा आयोजना गरिएको अहिलेसम्मकै भव्य र विदेशी कार्यक्रम मानिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर