जीवन-मरणको दोसाँधमा छट्पटाइरहेको विश्वविद्यालय
गत वर्ष त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाले विश्वविद्यालय मृत हुन लागेको भनेर दिएको अभिव्यक्तिले धेरैको माथिङ्गल हल्लियो । त्यसपछि शिक्षामा चासो राख्नेले विश्वविद्यालयप्रति चासो राखे, चिन्ता व्यक्त गरे ।
धेरैले विश्वविद्यालय धराशायी हुने कारणबारे अनेक कोणबाट व्यख्या विश्लेषण गरे । कतिपयले विश्वविद्यालयको प्राज्ञिक जगत नै स्खलित भएको र प्राज्ञिक कर्म शिथिल बन्दै गएको टिप्पणी गरे । कतिले विश्वविद्यालय मृत अवस्थामा पुगेको भन्दै चिन्ता व्यक्त गरे ।
केही प्राध्यापकले काम गर्ने मान्छे बाँकी नै रहेकाले विश्वविद्यालय बचाउन सकिने तर्क गरे । यी तर्कवितर्कले के संकेत गर्छ भने केदारभक्त माथेमा जस्तो व्यक्तित्वबाट उक्त कथन आउनु स्वभाविक होइन । यसले विश्वविद्यालय क्रमशः धराशायी हुँदै गएको नै संकेत गर्छ ।
तर उक्त कुराले जसलाई बढी यसले तताउनु पथ्र्यो, तताएन । जसको माथिंगल रन्काउनु पथ्र्यो, रन्काएन । तिनले यस विषयलाई कति गम्भीरतापूर्वक लिए भन्नेमा नै प्रश्न छ ।
कुनै पनि राजनीतिक दलका बैठकमा विश्वविद्यालयको गुणस्तर सुधारको बारेमा छलफल भएको सुनेका छैनौं । कुनै सभामा कुनै नेताले यसबारे चासो, चिन्ता व्यक्त गरेको पाइँदैन । न त युवा विद्यार्थीले नै विश्वविद्यालय सुधारका लागि जोडदार आवाज उठाए । अरु मुद्दमा सडक तताउने युवा विद्यार्थी यसबारे खासै बोल्दैनन्, जाग्दैनन् । र, सबैभन्दा महत्वपूर्ण कुरा, जो सरोकारवाला हो, उसले त चासै नभएजस्तो गरिरहेको छ ।
जसले विश्वविद्यालय सुधारका लागि आवाज उठाउँथे, उनीहरु कमजोर थिए । पहुँचवाला थिएनन् । सरोकारालाले मौनता साँध्दा विश्वविद्यालयको जीवनमाथि नै प्रश्न उठेको छ । एउटा गीतमा भनेजस्तो– मौनतामा अल्झिरहेछ त्रिभुवन विश्वविद्यालयको जीवन ।
के माथेमा सरले भनेको जस्तै विश्वविद्यालय मर्दैछ ? के विश्वविद्यालय गुणस्तरीय हुनुपर्दछ भन्ने आवाज कमजोर भएको हो ? गरिब जनताका छोराछोरीहरुको अन्तिम शैक्षिकस्थल त्रिभुवन विश्वविद्यालयको छवि किन यति कमजोर बन्दैछ ? यी पक्कै पनि विचरणीय प्रश्न हो । यसले हाम्रो माथिङ्गल हल्लाउन आवश्यक छ ।
त्रिभुवन विश्वविद्यालय अहिले समस्यामा छ र यो समस्या एकाएक प्रकट भएको होइन । हिजोका गलत निर्णय, गलत नेतृत्व, गलत नीति र राजनीतिका नाममा गरिएका गलत हस्तक्षेपको प्रभाव अहिले सघन रुपमा देखा परेको मात्र हो ।
अहिले विश्वविद्यालयमा कार्यरत करार प्राध्यापकहरुलाई स्वत स्थायी गर्ने निर्णयका विरुद्द आन्दोलन उठेको छ । विश्वविद्यालयका कुलपति अर्थात् प्रधानमन्त्रीको ठाडो आदेशमा मेरिट बाहिरबाट विगतका परीक्षाहरुमा असफल प्राध्यापकहरु करिब ४५० जतिको संख्यामा विश्वविद्यालयमा स्थायी हुँदा गुणस्तर कस्तो होला ?
नयाँ, योग्य र काबिलहरु प्राध्यापकबाट विश्वविद्यालयलाई बञ्चित गराउँदा हुने प्राज्ञिक क्षतिको असर कति होला ? अचेल दिनहुँ करार नियुक्तिको माग गर्दै आन्दोलन गरिरहेका आंशिक शिक्षकको व्यवस्थापन कसरी गर्ने ? रोकिएका सेवा आयोगका परीक्षा किन नियमित हुन सक्दैनन् ? यस्ता अनेक समस्याको चंगुलमा विश्वविद्यालय फसेको छ ।
विदेशका विश्वविद्यालयहरु कोभिड संकट समाधान गर्न रातदिन तल्लीन भएर नयाँनयाँ आविष्कारमा केन्द्रित हुँदा हाम्रा विश्वविद्यालय आन्दोलन, नारा जुलुश, भागबन्डाको चंगुलमा फसेको छ । माथेमाले भनेजस्तो कतै विश्वविद्यालयको जीवनै सकिएको त होइन ? नभए पनि गम्भीर प्रकृतिका रोगको लक्षण चाहिँ अवश्य देखिएको छ । यसको निदान अपरिहार्य छ । सामान्य उपचार विधिबाट नभए अपरेशनै गर्नुपर्ने अवस्था आएको छ ।
तर कसले गर्ने सर्जरी ? को हो विश्वविद्यालयको सर्जन ? हजारौं जनताको आवाज नै अहिले विश्वविद्यालयको सर्जरी हो । राजनीतिको नाममा गरिने ठाडो गैरप्राज्ञिक हस्तक्षेपको प्रतिरोध नै सर्जरी हो । अहिले कमजोर जस्तो देखिएको विद्यार्थी आन्दोलनलाई जुरुक्क उठाउनु र रचनात्मक आन्दोलनमार्फत आवाज बुलन्द गर्नु नै अहिलेको प्राथमिकता हो । अबको हाम्रो आन्दोलनको गन्तव्य सार्वजनिक शिक्षा सुधारको अभियान हुनुपर्छ ।
माथेमा सर, विश्वविधालय मर्ने छैन । तर हाम्रो जागरुकता र रचनात्मक कृयाशीलता जरुरी छ । त्यसको नेतृत्व सचेत नयाँ पुस्ताले गर्नेछ, गर्नु पर्दछ ।
विश्वविद्यालय जीवन्त र प्रगतिशील हुन्छ । किनकि ज्ञानको उत्पादन गर्ने कारखाना सधै अपडेटेड र गतिशील हुनुपर्दछ, यसमा दुईमत छैन।
आममान्छेको जिन्दगीमा विश्वविद्यालय राम्रो बन्दा या बिग्रँदा के असर पर्दछ ? के गरिखाने मान्छे, जसले जीवनको कुनै पलमा पनि विश्वविद्यालयको ढोकासम्म देख्न पाएका छैनन्, उनीहरुलाई के सरोकार ?
समग्रमा विश्वविद्यालयहरु देशका लाइफलाइन हुन्, जसले हजारौं मानिसको जीवनलाइ जोडेका हुन्छ । देशको समग्र विकासको खाका बनाउने नेता कर्मचारीदेखि देशको भुगोलको रक्षा गर्ने सिपाही या भनौं, जनताको जीवन रक्षा गर्ने प्रहरी अथवा जनताका छोराछोरीलाई विद्यालयमा पढाउने शिक्षक– कुनै न कुनै रुपमा तिनै विश्वविद्यालयले दिएको शिक्षा र ज्ञानबाट परिचालित हुने गर्दछन् ।
हामी जिन्दगीका तमाम भारहरुले थिचिएका भुँइमान्छेहरुको जिन्दगीमा परिवर्तन ल्याउने गफ गर्छौ भने त्यो परिवर्तनका संवाहक विश्वविद्यालय नै हो । यसलाई तन्दुरुस्त राख्नैपर्छ ।
तसर्थ विश्वविद्यालय जिउँदो या मृत भन्ने बहस पनि भुँइमान्छे र सीमान्तकृतहरुको बहस हो । भनिन्छ– ज्ञान सबैलाई चाहिन्छ तर गरिबहरुलाई अझ धेरै चाहिन्छ । किनकि, गरिबीबाट उम्कने हतियार नै ज्ञान हो ।
मुलुकको परिवर्तन शिक्षाको माध्यमबाट मात्रै सम्भव छ । गुणस्तरीय शिक्षामा सबैको समान पहुँच हाम्रो मौलिक हक हो । यसको कार्यान्वयनको पहिलो शर्त सार्वजनिक विश्वविद्यालयको क्षमता विस्तार र गुणस्तर अभिवृद्धि नै हो । त्यसमा पनि हजारौं विद्यार्थीको केन्द्र विश्वविद्यालय नै हो ।
त्रिभुवन विश्वविद्यालयको गरिमा र गुणस्तर कायम राख्न नसक्दा यहाँ ज्ञानको उत्पादन र वितरण ठप्प हुनेछ । ज्ञान उत्पादन गर्न नसक्ने विश्वविद्यालय मृतसरह नै हो । तर, अझै हाम्रो विश्वविद्यालय मरिसकेको छैन, यसलाई बँचाउन सकिन्छ । बँचाउनु पर्छ । यसतर्फ हामी सबै लागौं ।
(लेखक अनेरास्ववियुका महासचिव हुन्)
अनेरास्ववियुले सशक्त रुपमा आफ्नो आवाज बुलन्द गरोस।