कार्यस्थलमा हुने हिंसाबारे उजुरी गर्न महिला सञ्चारकर्मीलाई आग्रह – Nepal Press

कार्यस्थलमा हुने हिंसाबारे उजुरी गर्न महिला सञ्चारकर्मीलाई आग्रह

काठमाडौं । प्रेस काउन्सिल नेपाल र राष्ट्रिय महिला आयोगले कार्यस्थलमा हुने हिंसाबारे उजुरी गर्न महिला सञ्चारकर्मीलाई आग्रह गरेको छ ।

मंगलबार प्रेस काउन्सिल नेपालको आयोजनामा भएको मिडियामा हुने महिला हिंसाको अवस्था र न्युनीकरणको उपाय विषयक छलफल कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत र राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले कार्यस्थलमा हुने हिंसाबारे उजुरी गर्न र हिंसा निर्मुलीकरणमा सघाउन आग्रह गरेका हुन् ।

कार्यक्रममा बोल्दै अध्यक्ष पराजुलीले पत्रकार आफू हिंसामा परे पीडकको नामसहित उजुरी दिन र कारबाहीको दायरामा ल्याउन सहयोग पु¥याउन आग्रह गरिन्। पत्रकारले दिने सूचना र समाचारले परिवर्तन ल्याउने उनको भनाई थियो ।

सञ्चारकर्मी महिलामा हुने जिम्मेवारी विभेदका कारण हिंसा हुने गरेको भन्दै उनले आयोगमा आउने उजुरीमा ७५ देखि ७८ प्रतिशत हिंसा घरेलु हुने गरेको जानकारी दिइन् ।

काउन्सिलका अध्यक्ष बस्नेतले महिलासम्बन्धी उजुरी र गुनासा सम्बोधनलाई काउन्सिलले प्राथमिकतामा राखेको भन्दै हिंसासम्बन्धी उजुरी सुनुवाइमा काउन्सिल र आयोगले समन्वय गरेर समस्या समाधान गर्ने विश्वास दिलाए । उनले सञ्चारमाध्यमा महिला उत्तरदायी सञ्चार निर्देशिकाको कार्यान्वयन गरी लैङ्गिकमैत्री मिडिया बनाउन काउन्सिलले काम गरिरहेको जानकारी दिए ।

कार्यक्रममा सहभागी अधिकांशले मिडियामा महिलामाथि विभिन्न तरिकाबाट हिंसा हुने गरेको, त्यसका बारेमा उजुरी गर्ने उचित निकायसमेत नभएको र आफूभन्दा माथिल्लो निकायमा गुनासो गर्दा पिडितको जागिर नै खोसिने तथा झनै अपमानित हुनुपर्ने अवस्था रहेको बारे खुलेर कुरा राखेका थिए ।

कार्यक्रममा बरिष्ठ पत्रकार बबिता बस्नेत र प्रेस काउन्सिल नेपालकी सदस्य दुर्गा भण्डारीले कार्यपत्र प्रस्तुत गरेकी थिइन् । पत्रकार बबिता बस्नेतले कस्तो व्यवहारलाई हिंसा भन्ने भन्ने अन्यौलले पनि मिडियामा भएका हिंसा बाहिर आउने नगरेको बताइन् ।

कार्यपत्र प्रस्तुत गर्दै प्रेस काउन्सिल नेपालकी सदस्य दुर्गा भण्डारीले मिडियाले दिने सूचना र समाचारमा महिलाप्रतिको दृष्टिकोण परिवर्तन हुन आवश्यक रहेको औल्याइन् ।

कार्यक्रममा बोल्दै सञ्चारिका समुहकी अध्यक्ष नितु पण्डितले व्यक्तिलाई मेरो व्यवहारबाट हिंसा भएको छ कि छैन भन्ने महसुस भइ आत्मसाथ गर्न सके धेरै हिंसा हट्ने बताइन् ।

प्रेस काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले मिडियामा लैङ्गिकताको सवाललाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा काउन्सिल सधैँ सचेत रहेको बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *