पर्यटकलाई आकर्षित गर्न लुम्बिनीमा दुई दिने सडक खाना महोत्सव हुँदै
रुपन्देही । बुद्ध जन्मस्थल लुम्बिनीमा आन्तरिक तथा बाह्य पर्यटक बढ्न थालेपछि पर्यटन व्यवसायीहरुले उनीहरुलाई आकर्षित गर्ने विभिन्न योजना ल्याउन थालेका छन् । पर्यटकलाई अधिक समय लुम्बिनीमा टिकाउन नयाँ योजना ल्याउनुपरेको पर्यटन व्यवसायीहरुको भनाइ छ ।
यसअघि भ्रमण प्याकेजको योजना ल्याएका यहाँका व्यवसायीले अंग्रेजी नयाँवर्ष २०२२ को पूर्वसन्ध्यामा बुद्धजन्मस्थल लुम्बिनीमा फूड फेस्टिबल गर्ने तयारी गरेका छन् ।
लुम्बिनी होटल एशोसियसन लुम्बिनीको आयोजनामा ‘लुम्बिनी जाऔं, लुम्बिनीमा खाआंै, लुम्बिनीमै रमाऔं’ नारासहित लुम्बिनी फूड फेस्टिबल गर्न लागिएको हो ।
अंग्रेजी नयाँ वर्ष २०२२को पूर्वसन्ध्या डिसेम्बर ३१ तारिख र नयाँ वर्षका दिन लुम्बिनी फूड फेस्टिबल आयोजना हुने लुम्बिनी होटल एशोसियसनका अध्यक्ष गोबिन्द ज्ञवालीले जानकारी दिएका छन् ।
फूड फेस्टिबलको यो आठौं सस्करण हो, गतवर्ष कोरोना संक्रमणको जोखिमका कारण आयोजना हुन सकेको थिएन ।
लुम्बिनीको पर्यटन प्रवद्र्धनार्थ १२ वर्ष अघिदेखि प्रारम्भ भएकोे लुम्बिनी फूड फेस्टिबल यसपटक देखि २ दिनसम्म डिसेम्बर ३१ र जनवरी १ (पुस १६ र १७)मा हुने भएको हो ।
लुम्बिनी बजार(महिलवार)मा हुने फूड फेस्टिबलमा १ सयका हाराहारीमा विभिन्न स्टल राख्ने आयोजकले तयारी गरेका छन् । नेपाली स्वाद त्यसमा पनि थारु, नेवार, मगरलगायतका समुदाय र विदेशीमा भारतीय, चाइनिज, थाई, कम्बोडियन, जापानी खानाका परिकारहरुका स्टल रहने अध्यक्ष ज्ञवालीले बताए ।
लुम्बिनी सडक महोत्सवलाई अंग्रेजी नयाँ वर्षको पूर्व सन्ध्यामा गरिने न्यू इएर ईभ लुम्बिनी फूड फेस्टिबलका रुपमा देश विदेशमा एउटा ब्रान्डेड प्याकेजका रुपमा लैजाने र यसले लुम्बिनी र यस क्षेत्रको पर्यटन क्षेत्रको प्रबर्द्धन हुने अपेक्षा आयोजकको छ । ‘यसपटक बिगतमा भन्दा परिमार्जन गरी फूड फेस्टिबल आयोजना हुनेछ र हामीले संस्कृतिलाई पनि जोड दिएका छाैं, बुद्धत्व झल्कने सांस्कृतिक कार्यक्रम पस्कने तयारीमा हामी छाैं,’ अध्यक्ष ज्ञवालीले भने ।
फूड फेस्टिबलमा बिभिन्न खानाका स्टल मात्र नभई स्थानीय घरेलु सामग्री, हयान्डी क्राफ्टस धातु तथा पत्थरका मूर्ति, माला, लोकल गार्मेन्टसका स्टलसमेत राखिने र त्यसले सहभागी हुन आउनेलाई थप आकर्षण हुने आयोजकको विश्वास छ ।
लुम्बिनी बजार महिलवारमा बेलुका ४ बजेदेखि राती १२ बजेसम्म फूड फेस्टीबल आयोजना हुनेछ । सडक खाना महोत्सवका दिन लुम्बिनी क्षेत्रका होटलहरुमा आवासमा विशेष छुट दिइने आयोजकले बताएका छन् ।
कोरोना संक्रमणले अस्तव्यस्त भई बामे सर्दै गरेको पर्यटन क्षेत्रलाई थप टेवा दिन फूडफेस्टिबलले सहयोग गर्ने पर्यटन व्यवसायीको भनाइ छ ।
आठाैं संस्करणको लुम्बिनी फूड फेस्टिबलमा लुम्बिनीमा आउने स्वदेशी, विदेशी पर्यटक, स्थानीय भैरहवा, बुटवल र अन्य ग्रामीण बजारबाट मात्र नभई सीमावर्ती भारतीय बजारबाट समेत सहभागी हुन आउने छन् ।