सांसद अरगरियाले सरकारलाई भने – किसानलाई मलखाद र गहुँको बीउ उपलब्ध गराउ
जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता एवं पूर्वमन्त्री उमाशंकर अरगरियाले आवश्यकता बमोजिम किसानलाई मलखाद उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।
धनुषा क्षेत्र नम्बर २ बाट प्रतिनिसभा सदस्यमा निर्वाचित उनले किसानले मलखाद नपाएको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ध्यानाकर्षण गराएका हुन् ।
उनले किसानहरुलाई यथाशीघ्र मल तथा गहुँको बीउ उपलब्ध गराउन सरकार तथा मातहतका मन्त्रालयसँग माग गरेका छन् ।
‘मुलुककै उर्वर भूमि तराई मधेसका किसान रासायनिक मल र गहुँको विउ नपाउँदा कृषि पेशाप्रति नै नैराश्यता उत्पन्न भएको स्थिति छ’, उनले ध्यानाकर्षण पत्रमा लेखेका छन्, ‘किसानले आवश्यकता बमोजिम मलखाद र गहुँको बीउ नपाए हामी किसान आन्दोलन गर्न बाध्य हुनेछौं ।’
किसानहरुले समयमै मल र विज नपाउँदा उत्पादनमा समेत दिनानुदिन घट्दै गएकोप्रति उनले चिन्ता व्यक्त गरेका छन् । संघीय सरकार, कृषि तथा पशुपन्छी मन्त्री र प्रदेश २ सरकार समेत किसानको दुःखप्रति चासो नदेखाएर कानमा तेल हालेर सुत्नु दुःखद हो – उनको भनाई छ ।
गहुँ छर्ने बेलामा अहिले प्रदेश २ का कुनैपनि जिल्लाका किसानले मलखाद पाइरहेका छैन । भारतबाट ल्याउँदा प्रहरी समात्ने र आफ्नो देशमा मल नपाउने दुःख किसानले झेल्न बाध्य छन् । मलखाद पाएको झोकमा सप्तरीका किसानहरु मंगलवार सदरमुकाम राजविराजमा टायर बालेरै प्रदर्शन गरेका थिए ।