अब एक दिनपनि चुक्ने सुविधा छैन् : गगन थापा – Nepal Press

अब एक दिनपनि चुक्ने सुविधा छैन् : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री गगनकुमार थापाले आगामी दिनमा पार्टीलाई एकतावद्ध र सुदृढ बनाएर अघि बढाउने बताएका छन् ।

पार्टीको महामन्त्रीमा निर्वाचित भएसँगै बिहीवार पार्टी केन्द्रीय कार्यालयमा संक्षिप्त रुपमा बोल्दै महामन्त्री थापाले अधिवेशनमा प्रतिस्पर्धाका क्रममा आफ्नै साथीहरुका विचमा बढेको दुरीलाई कम गर्दै पार्टीलाई एकतावद्ध र सुदृढ पार्टीको रुपमा अगाडी बढाउने बताएका हुन् ।

उनले पार्टीमा नजोडिएकाहरुलाई पार्टीमा जोड्न प्रेरित गर्ने बताए । महामन्त्री थापाले पार्टीका पदाधिकारीहरु मिलेर पार्टी सभापतिलाई बल पुर्‍याएर र घच्घचाएर सही ठाउँमा उभ्याउने पनि बताए ।

उनले आफुसँग एकदिन पनि चुक्ने सुविधा नरहेको उल्लेख गर्दै पाएको जिम्मेवारी इमान्दारितापूर्वक र परिपक्व ढंगले निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरे ।

महामन्त्री थापाले आफुले अघि सारेको ‘समुन्नत नेपालः सम्मानित नेपाली’ को कार्यक्रमलाई पार्टीकै कार्यक्रम बनाउन प्रयास गर्ने बताए । उनले पार्टीको बेथितिलाई अन्त्य गर्दै विधानसम्मत् र विधिसम्मत् रुपमा चलाउने बताए । पार्टीभित्र एउटा व्यक्तिले वर्चस्व राख्ने परम्परा बनेको भन्दै उनले त्यस्तो परम्परालाई भत्काउने पनि बताए ।

उनले भने, ‘मैले समुन्नत नेपालः सम्मानित नेपालीको लिखित कार्यक्रम नै प्रस्ताव गरेको छु । यसलाई म पार्टीभित्र प्रवेश गराउँछु । पार्टीकै कार्यक्रम यसलाई बनाउने मेरो प्रयास रहन्छ । पार्टीलाई विधानसम्मत् ढंगले चलाउने, पार्टीलाई विधिसम्मत् ढंगले चलाउने । पार्टीमा जुन बेथिति छ, त्यो बेथितिलाई अन्त्य गर्ने । पार्टी सञ्चालन गर्दै गर्दा व्यक्तिको आफ्नो वर्चस्व कायम राख्नेगरी गर्ने जुन परम्पराजस्तो भएको छ, यो परम्परालाई अब हामीले भत्काउने हो । लाखौँ सदस्यहरुको शक्तिलाई राज्यको दोहन गर्नका निम्ति प्रयोग गर्ने होइन, लाखौँ सदस्यको शक्तिलाई समाजमा अनेकन रुपान्तरणका मुद्धाहरुमा सकारात्मक ऊर्जाको रुपमा प्रयोग गर्ने पार्टीका रुपमा यसलाई लिएर जाने प्रयास महामन्त्रीको रुपमा मैले गर्छु ।’

महामन्त्री थापाले नेपाली कांग्रेसका लाखौँ सदस्यहरुलाई समाज रुपान्तरणको मुद्धाहरुमा सकारात्मक ऊर्जाको रुपमा प्रयोग गर्ने पार्टीको रुपमा लिएर जाने प्रयास गर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर