फिलिपिन्समा आँधीबाट हजारौं विस्थापित
एजेन्सी । दक्षिणी फिलिपिन्समा तीव्र गतिमा विकसित आँधीका कारण हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । राइ नाम दिइएको सो आँधी जमिनमा ठोकिनुअघि हजारौं मानिसलाई सुरक्षित क्षेत्रमा सारिएको हो ।
आँधी आउनुअघि मिन्डानाओको सुरिगाओबाट ५१ हजार, पूर्वी प्रान्त समारबाट ३० हजार र दक्षिणी तटीय शहर तानडागबाट ४ हजार परिवारलाई सुरक्षित स्थानमा सारिएको हो ।
तीव्र रुपमा विकसित आँधी मध्य फिलिपिन्स र दक्षिणी सुरिगाओ प्रान्ततर्फ बढिरहेको त्यहाँको मौसम विभागले जनाएको छ । १ सय ६५ किलोमिटर प्रतिघण्टाको गतिमा अगाडि बढिरहेको आँधीका कारण फिलिपिन्समा १ करोड ३० लाख मानिस प्रभावित हुने अनुमान संयुक्त राष्ट्रसंघले गरेको छ ।