प्रचण्ड नेताहरुको पनि नेता हो, चटक्क छोड्न मिल्दैनः पोखरेल (भिडिओसहित)
अहिले राजनीतिक दलहरुको महाधिवेशनको सिजन चलिरहेको छ । एमाले, राप्रपा र कांग्रेसले हालै महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गरे । तेस्रो ठूलो दल माओवादी केन्द्र भने पुसमा राष्ट्रिय सम्मेलन गर्न गइरहेको छ ।
अरु दलले नयाँ नेतृत्व चयन गर्दै गर्दा माओवादीले राष्ट्रिय सम्मेलमार्फत के गर्छ भन्ने जिज्ञासा छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीको सम्मेलन अरुको भन्दा फरक हुने दावी गरिरहेका छन् । अन्य दलका महाधिवेशन नेतृत्व चयनमा मात्रै केन्द्रित भएका बेला माओवादीले फरक के गर्छ ? संगठन निर्माणमा देखिएका अराजकतालाई कुन विधिबाट समाधान गर्छ ?
नेपाल प्रेसकर्मी रामकुमार डिसीले माओवादी स्थायी समिति सदस्य तथा स्कुल विभाग प्रमुख गिरिराजमणि पोखरेलसँग यस्तै प्रश्नको जवाफ खोज्ने प्रयास गरेका छन् । प्रस्तुत छ, उनीसँगको कुराकानी नेपाल टकमा ।
भर्खरै एमालेको महाधिवेशन सकियो । कांग्रेसको निर्वाचन परिणाम आइरहेको छ । माओवादी केन्द्रले चाहिँ राष्ट्रिय सम्मेलन भनिरहेको छ । राष्ट्रिय सम्मेलनमार्फत माओवादीले के गर्न लागेको हो ?
महाधिवेशन नियमति प्रक्रिया पनि हो । दलहरु सम्बन्धी जुन संवैधानिक प्रणाली छ, त्यस अनुसार पनि यो नियमित प्रक्रिया हो । त्यही नियमति प्रक्रिया अन्तर्गत महाधिवेशन भइरहेको छ । एमालेले पनि एउटा महाधिवेशन गर्यो । केपीजीको नेतृत्वको संघ र प्रदेशका सरकार ढलेपछि पराजित मानसिकतामा आफ्ना कार्यकर्ताको मनोवल माथि उठाउनका लागि उहाँहरुले एउटा महाधिवेशन गर्नुभयो । तर, विचारको, छलफलको कोणबाट कुनै नयाँ सन्देश आएन । बरु फलानो/फलानोलाई भोट देऊ, फलानोलाई नदेउ भन्ने खालका कुरा बाहिर आए ।
हामीले पनि महाधिवेशन नै गर्नुपर्ने हो । तर, गएको पुसमा संसद विघटन भयो । त्यसको विरुद्धमा लडेर पुनस्र्थापना गर्न नपाउँदै दोस्रो विघटन भयो । यही बीचमा नेकपाको विभाजन भयो । त्यो शृंखलामा हामी आफ्नो पूर्वपार्टीमा फर्किने भएपछि पहिले त संगठनलाई व्यवस्थित गर्नुप¥यो । त्यसपछि महाधिवेशन गर्नलाई समग्र अन्तर्राष्ट्रिय परिस्थिति, राष्ट्रिय परिस्थिति, कम्युनिष्ट आन्दोलनको समग्र समीक्षा, हाम्रा उपलब्धीहरु, हाम्रा कमजोरीहरु र विश्वमा आएको परिवर्तन बारे ठूलै संस्लेषण जरुरी छ ।
२०७२ को हाम्रो संविधानले नै समाजवादउन्मुख भनेपछि हाम्रो अब समाजवादी क्रान्तिको मोडल के हुन्छ ? यी लगायतका धेरै प्रश्नको सम्बोधन गर्नुपर्ने हुन्छ । त्यसकारण विचारधारात्मक काम गर्नका लागि हामीलाई पर्याप्त समय नपुग्ने भयो । त्यसैले हामीले अहिले राष्ट्रिय सम्मेलनको आयोजना गर्दै छौं ।
राष्ट्रिय सम्मेलनलाई पनि एउटा विचारको कोणबाट, तात्कालीक, राजनीतिक कुरालाई पनि हल गर्ने अनि कार्यदिशाको सन्दर्भमा पनि उन्मुख गराउने हो । यसले एउटा सन्देश दिन्छ । अनि त्यहाँबाट हामी महाधिवेशनसम्म पुग्न सक्छौं ।
अरु पार्टीको महाधिवेशनमा जस्तै वडादेखि प्रदेशसम्म प्रतिनिधिहरुमार्फत नेतृत्व चयन भएर आएको छ । केन्द्रमा चाहिँ नयाँ नेतृत्व चयन हुन्छ कि हुँदैन ?
मलाई लाग्छ, राष्ट्रिय सम्मेलनमा मुलरुपमा अहिलेको हाम्रो कार्यदिशाका बारेमा छलफल हुन्छ । प्रदेशहरुको सम्मेलन उद्घाटनमा पनि अध्यक्षले केही विषयको उद्घाटन गर्नु भएको छ । त्यसकारण कार्यदिशा, राष्ट्रिय परिस्थिति, अहिलेको तात्कालीक कार्यनीति, हाम्रा निकटमा आइरहेका चुनाव र त्यसलाई आधारित गरेर बनाउनुपर्ने संगठनबारेमा छलफल हुन्छ । संगठनमा पनि हाम्रा केही नयाँ आयाम थप भएका छन् । हामी महिला, दलितहरुको नेतृत्व विकास गर्न चाहन्छौं । युवाहरु, मुस्लिमहरुको नेतृत्व विकास गर्न चाहन्छौं ।
तपाईंहरुको अन्तरिम विधानले बहुपदाधिकारीमा जाने भनेको छ । तर, अहिले पार्टीमा अध्यक्ष मात्रै हुनुहुन्छ । यो सम्मेलनले अरु पदाधिकारी थप्ने काम गर्छ कि गर्दैन ?
हाम्रो पार्टीलाई अहिले तलदेखि माथिसम्म बहुपदीयमा लैजानुपर्ने आवश्यकता छ । मेरो बुझाइमा बहपदीय प्रणालीतर्फ नै जान्छौं ।
भनेको केन्द्रीय नेतृत्व पनि चयन पनि हुन्छ राष्ट्रिय सम्मेलनबाट ?
हाम्रो चलन के हो भने हामी पहिले समिति बनाउँछौं । समितिले बहुपद बनाउँछ ।
भन्नाले यसै पटक नयाँ केन्द्रीय समिति बन्छ र त्यसले पदाधिकारी पनि चयन गर्छ ?
हाम्रो चलन चाहिँ अहिले त्यस्तै छ । पहिले समिति बन्छ । समिति आफैंले आफ्ना पदाधिकारीहरु छान्छ ।
अन्य दलले कानूनी बैधता पुर्याउनका लागि पनि महाधिवेशन गरेको देखिन्छ । तपाईंहरु राष्ट्रिय सम्मेलन गर्दै हुनुहुन्छ । राष्ट्रिय सम्मेलनले महाधिवेशनको काम गर्छ ?
महाधिवशेन गर्न नसकेको बेलामा महाधिवेशनले गर्न नसकेका कामहरु राष्ट्रिय सम्मेलनबाट पनि गर्ने चलन छ । विस्तारित अधिवेशनहरु पनि गर्ने चलन छ । अहिले हामीले जति काम गरेका छौं, ती सबैलाई पनि हाम्रो राष्ट्रिय सम्मेलनले अनुमोदन गर्नुपर्छ । यो कानूनी हैसियत राख्ने नै हाम्रो सम्मेलन हो ।
एक प्रकारले भन्ने हो भने हाम्रो संगठन नै थिएन । अघिल्लो वर्ष फागनु २३ मा सर्वोच्चले हात हाल्नु नपर्ने ठाउँमा हात हाल्यो । हामी सर्वोच्च गयौं, सर्वोच्चले त्यसलाई सुनेन । हामी जनतामा जान्छौं भन्यौं । फेरि प्रतिगमनका घटना भए । तलदेखि माथिसम्म संगठनको जग खडा गरौं भनेर सदस्यता वितरणदेखि समिति निर्माणसम्मका काम भएका छन् । विभागहरु गठन भएका छन् । हामी प्रणालीगत ढंगमै गएका छौं ।
यही राष्ट्रिय सम्मेलनको सट्टा महाधिवेशन गर्दा के बिग्रिन्थ्यो ?
एउटा ठूलो बहसमा हामी जानुपर्ने छ । नेपाली समाज कता जाँदै छ ? वर्ग विश्लेषणले के भन्छ ? समाजवादी क्रान्ति कसरी हुन्छ ? समाजवादी क्रान्तिका नेपाली विशेषता के हुन्छन् ? लगायतका विषयले राम्रो अनुसन्धान, अध्ययन र संश्लेषणको माग गर्छ । राष्ट्रिय सम्मेलनले नै गर्नसक्ने कुरामा महाधिवेशन राखिदिँदा त्यसले न्याय पनि गर्दैन । हाम्रो आन्दोलनलाई एउटा दिसा दिनुपर्ने छ । त्यसकारण गहिरो सोच गरेर नै हामीले महाधिवेशन नगरेका हौं ।
प्रचण्डले एमाले–कांग्रेसले महाधिवेशनका नाममा भिड जम्मा मात्रै गरे, हामी विचारको निर्माण गर्छौं भन्ने टिप्पणी गर्नुभयो । कस्तो विचार निर्माण गर्नुहुन्छ ?
अध्यक्षले प्रतिवेदन पेस गर्ने हो । सामान्यतया पुस ५ गतेसम्म अध्यक्षको प्रतिवेदन आइसक्छ भन्ने आसा गरेका छौं । त्यो प्रतिवेदन आएपछि नै भन्न सकिन्छ । समाजवादी आन्दोलनका विषयमा हामी प्रष्ट हुनैपर्छ । अहिले विश्वमा आएका नवीन परिवर्तन छन्, त्यसलाई प्रतिवेदनले कम्तिमा समेट्नुपर्छ ।
हिजोको ढंगले पार्टी चलाएर हुँदैन । हिजो हामी कार्यकर्ताको पार्टी भन्थ्यौं, आज हामी जनआधारित पार्टी भन्छौं । कार्यकर्ता र जनताको बीचको अन्तरसम्बन्ध कसरी परिभाषित गर्छौं भन्ने कुरा पनि छ ।
हिजो लेनिनले साम्राज्यवादविरुद्ध नयाँ पार्टी लिएर आउनुभयो । हिजोको साम्राज्यवाद र अहिलेको साम्राज्यवादको चरित्रमा परिवर्तन आएको छ । त्यसको आधारमा अब हामीले बनाउने नयाँ पार्टी कस्तो हुन्छ ? त्यो कुरा पनि हामीले हेर्नुपर्ने छ । चीनमा माओले एउटा प्रयोग गर्नुभयो । उहाँ रहुन्जेल एक ढंगले भयो, त्यसपछि अर्को ढंगले गयो । माओदेखि पछाडिको कालखण्डमा भएका कुराहरु पनि हामीले हेर्नुर्यो ।
२१ औं शताब्दीका जनवादको अवधारणा हिजो विकास भएका थिए । हिजो हामीले त्यसको ठिक ढंगले प्रयोग गर्यौं कि गरेनौं ? हाम्रो कहाँनेर सफलता भए, कहाँनेर कमजोरी भए भनेर हामीले त्यो पनि हेर्नुपर्यो । त्यत्रो समाजवादी क्रान्ति गर्नका लागि त पुँजीवादी पार्टीले क्रान्ति गर्दैन । पार्टीलाई नै एउटा समाजवादी दिसातर्फ लैजानुपर्यो ।
अध्यक्षले ल्याउने प्रतिवेदनमा अहिले नै यी सबै प्रश्नको निरुपण भएर आउँछ त म भन्दिनँ तर मोटामोटी विभिन्न विषयहरुलाई समेटेर एउटा तहको अहिले संश्लेषण होला भन्ने हामीले अपेक्षा गरेका छौं ।
दोस्रो जनआन्दोलन र संविधान निर्माणपछि दलहरुमा विचारको संकट आएको भनिन्छ । हालै भएका दुई पार्टीका महाधिवशेनमा मिहिन ढंगले वैचारिक मन्थन भएन । माओवादी चाहिँ यसमा कसरी फरक हुन्छ ?
पहिलो कुरा त हाम्रो राष्ट्रिय सम्मेलनमा आउने दस्तावेजमै आधारित भएर धारणा बनाउनुपर्छ । पछिल्लो हाम्रो केन्द्रीय समिति बैठकले प्रतिगमन विरोधी आन्दोलनमा जो सफलता हाँसिल भएको छ, त्यसलाई अगाडि बढाउने र प्रतिगमनको खतरा अहिले पनि छ भनेर त्यसप्रति सचेत हुने भन्ने कुरालाई जोड दिएको छ । प्रतिगमन विरोधी आन्दोलनमा पाँच पार्टीबीच पनि कार्यगत एकता हुन्छ । यो कार्यगत एकतालाई बचाउन यसकारण पनि जरुरी छ कि हामीले ०७२ सालमा जारी संविधानको रक्षाको प्रश्न गम्भीर छ ।
हामी संघीय प्रणालीमा छौं । संघीयता र धर्मनिरपेक्षताबारे प्रश्न पनि उठेका छन् । हामीले त्यसको रक्षा गर्नुपर्ने छ । कतिपयले समानुपातिक निर्वाचन प्रणालीबारे बहस गर्न थालेका छन् । हामीले संविधान बनाउँदा केही सवालमा आफ्ना फरक मत राखेका थियौं । त्यो शासकीय स्वरुप र पूर्ण समानुपातिक निर्वाचन प्रणालीबारे थियो । पाँच उपलब्धी गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशीता र समाजवाद उन्मुखतालाई रक्षा गर्दै अगाडि बढ्नुपर्छ ।
हामी हाम्रो पार्टीलाई पनि व्यवस्थित गरेर जाँदै छौं । र, सर्वहारा क्रान्तिकारी शक्तिहरुसँग पनि हामीले छलफल गर्नुछ । तर, यत्तिमा मात्रै हाम्रो कुरा छैन । अब जाने कहाँ हो भन्दा जाने समाजवादमा हो । सोभियत संघको समाजवाद ढल्यो। क्युवा आफ्नो ढंगले बाँचिरहेको छ । लडिरहेको छ, संघर्ष गरिरहेको छ । उत्तर कोरियाले पनि एक खालको संघर्ष गरिरहेको छ ।
हामीले चीनको पनि राम्रोसँग अध्यन गर्नुपर्छ । चीनको अहिले पार्टी नेता र राष्ट्रपतिले निजी सम्पत्तिमा लोभ गर्नेहरु कम्युनिष्ट नै हुन सक्दैनन् भनेर बाहिर भनिराख्नु भएको छ । उहाँहरु पनि एक खालको समाजवाद निर्माण गर्ने दिशामा लाग्नु भएको छ । त्यसबारे पनि हामीले बुझ्नुपर्ने छ । यी सबै पक्षहरु बुझ्ने हो । तर, समाजवादी क्रान्ति चाहिँ कुनै देशको नक्कल गर्ने कुरा होइन ।
हाम्रो आफ्नै विशेषता छ । हिमाल, पहाड र तराई छ । आफ्नै खालको अर्थतन्त्र छ । यस्तो खालको विविधता भएको मुलुकमा यी सबैलाई समेटेर समाजवादी क्रान्तिमा कसरी लान सकिन्छ भनेर हामीले यसको मोडल विकास गर्नुपर्ने छ ।
अहिले सबैले समाजवाद भनिरहेका छन् । कसको समाजवाद कस्तो भन्ने भन्ने कुराको व्याख्या कसैले पनि गरेका छ्रैनन् । त्यसलाई कार्यन्वयन गर्ने कार्यक्रम पनि ल्याएका छैनन् । माओवादीको समाजवाद कस्तो हुन्छ ?
यो माओवादीले नै विकास गर्नुपर्छ, अरुबाट आउँदैन जस्तो मलाई लाग्छ । नेपाली कांग्रेसले प्रजातन्त्र, राष्ट्रियता, समाजवाद जस्ता कुराहरु गरकोे छ । उसको पछिल्लो विकास हेर्ने हो भने उदारवादी धारबाट सामाजिक प्रजातान्त्रिक पार्टीको रुपमा आएको छ । र, त्यसमै पनि उ टिकेको छैन ।
एमालेको महाधिवेशन भयो, समाजवादको ‘स’ पनि उच्चारण गर्नु भएन । हामीले गत वर्ष पुस ५ मा मन्त्रीबाट राजीनामा दिँदा विभिन्न कुरा उठाएका थियौं । हामीले उठाएका ती कुराबारे एमालेका मन्त्री साथीहरुले एमाले महाधिवेशनमा कहीँ, कतै उठाएको सुनिएन । उहाँहरु हिजोको सन्दर्भ मा ल्याएको बहुदलीय जनवादकै वरीपरी हुनुहुन्छ । त्यसकारण उहाँहरुबाट धेरै अपेक्षा गर्ने कुरा छैन् ।
क्रान्तिकारी कम्युनिष्ट जो छरिएका छन्, उनीहरुलै नै उत्तर दिनुपर्छ । तर, केही समूह अहिले पनि नेपालमा नयाँ जनवादको कुरा गर्छन् । नेपालमा अब नयाँ जनवादी क्रान्ति हुँदैन । उहाँहरु त्यो भ्रममा हुनुहुन्छ । हामीले नयाँ जनवादी क्रान्ति मोडेलको पुँजीवादी क्रान्ति पनि गर्न सकेनौं । पुरानो संसदीय मोडेल पनि रहेन । नयाँ विशेषतासहितको पुँजीवादी क्रान्ति सकिएको छ ।
अब जाने समाजवादमै हो । त्यसकारण समाजवादलाई न्युनतम कार्यक्रम बनाएर, कार्यदिशा बनाएर जानेहरुबीचमा चाहिँ छलफल हुन्छ । कतिपय वैज्ञानिक समाजवादको कोणबाट सोच्ने साथीहरुले छलफल प्रारम्भ पनि गर्नु भएको छ । कतिपय व्यक्तित्वले लेखसमेत लेख्नु भएको छ ।
प्रदेशको सम्मेलनमा अध्यक्षले पछिल्लो विकास भएका घटनासँग जोडेर अलिकति राख्नु भएको कारणले पनि कुन दिशामा जान्छ त पार्टी भन्नलाई यति प्राप्त भएको छ ।
संगठनको कुरा गर्दा हालसालै तपाईंहरुको प्रदेश सम्मेलन भयो । कहीँ प्रदेश समिति मात्रै बनेका छन्, कहीँ पदाधिकारी मात्रै छन् । यस्तै अवस्था भातृ संगठनहरुमा पनि छ । माओवादीमा किन यस्तो गञ्जागोल देखिएको हो ?
हामीले युवा र विद्यार्थीको सम्मेलन गर्यौं र एउटा अनुभवसहित आयौं । साढे लाखभन्दा बढीले त हाम्रो संगठित सदस्यता नै नवीकरण गर्नु भएको छ । राष्ट्रिय सम्मेलनमा आउँदाखेरी सांगठनिक क्षेत्रका मुल काम सकेर आउनुहुन्छ । अरुका मुल रुपमा सकिएका छन् । प्रदेश सम्मेलन पनि सकिन लागेका छन् ।
एक प्रकारले भन्दा हतार–हतार जस्तो भयो । एउटा संगठनात्मक अस्पष्टताको स्थितिबाट यहाँ आउँदा मैले यसलाई सकारात्मक देखेको छु । नेतृत्व छान्ने कुरामा पुरानो जनवादी केन्द्रीयता अनुसार पहिले समिति छान्ने र समितिले पदहरु छान्ने भन्ने विधि हामीले माथिबाटै टुंग्याएको हो । हलबाटै छान्ने भनेको भए अहिलेसम्म टुंगिइसक्थ्यो । पहिले हामीले समिति बनायौं, समितिले नेतृत्व छान्ने । यो मोडल चाहिँ हाम्रो पुरानो हो ।
तर, यही काम महिनौंदेखि हुन सकिरहेको छैन । विद्यार्थी संगठनमा अध्यक्ष मात्रै घोषणा भएको तीन महिनापछि केन्द्रीय समिति घोषणा भएको छ । प्रदेश सम्मेलनमा पनि त्यही अवस्था देखियो । यो संक्रमणकाल भनेर मात्रै हुने अवस्था छ र ?
विचलित भएको राजनीतिलाई हामीले ‘ट्रयाक’मा ल्याउने कोसिस गर्यौं । कोसिस गर्दागर्दै पनि समस्या नभएका होइनन । हामी आन्दोलनात्मक भएको अवस्थाबाट संगठनतिर ढल्यौं । एउटा माला उन्ने प्रक्रिया शुरु भयो । सदस्यता हुँदै, कमिटी हुँदै एउटा नेतृत्वमा ल्याउनुपर्ने छ । हाम्रो जोड चाहिँ सकेसम्म आफ्नो विशिष्टतामा सबैलाई मिलाएर जानुहोस् भन्छौं हामी । अहिले हाम्रोमा अनुशासन आयोग, लेखा आयोग, निर्वाचन आयोग जस्ता आयोगहरु बनेका छन् । त्यसमध्ये निर्वाचन आयोगले काम पनि शुरु गरेको छ । कार्यविधि पनि हामीले बनाएर अभ्यास गर्न थालेका छौं ।
संगठन संस्कृतिमा हामी अभ्यस्त भइसकेका होइनौं । माओवादी आन्दोलनको कोणबाट हेर्दा युद्धमा, आन्दोलनमा, प्रतिगमन विरोधी आन्दोलनमा चाहिँ हामी एक खालको हस्तक्षेप गर्न सक्ने । तर, त्यसलाई हाँक्ने खालको पार्टी चाहिँ हामीले बनाउन सकेका थिएनौं । हामीले नसकेकै हो ।
अध्यक्षले पछिल्लो पटक भनेका कुराहरु सान्र्दभिक छन् । हामीले अर्को एमाले वा अर्को कांग्रेस बनाउन खोजेका होइनौं । हामीले समाजवादी क्रान्ति गर्ने क्रान्तिकारी पार्टी नै बनाउन खोजेका हौं । हामीले सर्वहारा वर्गीय पार्टी नै बनाउन खोजेका हौं ।
पार्टीमा दुई खालका समस्या छन् । पार्टी प्रवृत्ति मान्ने र नमान्ने । कही उपयोगको समस्या छ, कही निषेधात्मकताको समस्या छ । पार्टीलाई एउटा विधिमा ढाल्नुपर्यो, एउटा प्रणालीमा ढाल्नुपर्यो । मुल्यांकनमा ढाल्नुपर्यो । यो दिशामा लैजाने भनेर नेतृत्वले अठोट गर्नु भएको छ । स्थायी समितिका सबै नेताहरु मुल नेतृत्वको वरिपरि गोलवद्ध भएर लागेका छन् । यो संकल्पले पार्टीलाई एउटा विधि र पद्दतिमा ढाल्ने प्रक्रिया शुरु भएको छ । माथिबाट तलतिर गएको छ र अब तलबाट माथितिर आउन खोजेको छ । अलिकति समय त लाग्छ सबै ठीक ठाउँमा आउनलाई । संक्रमणकालीन अवधिका यी पक्षहरु हुन् ।
तपाईंहरुले जनवादी केन्द्रीयता भन्दै गर्दा नेताहरुले आफ्ना मान्छेलाई मात्रै टिपेर ल्याएको, मूल्यांकन नगरेको भन्ने कार्यकर्ताहरुकै गुनासो सुनिन्छ । यसले त टिकेप्रथा मौलाउने भएन र ?
माओवादी आन्दोलनमा दुईवटा समस्या छन् । कि उपयोग गर्ने, कि निधेष गर्ने । उपयोग गर्दा पनि पार्टी बन्दैन, निषेध गर्दा नि पार्टी बन्दैन । पार्टी सर्वहारा वर्गको अग्रदस्ता तर जनआधारित पार्टी बनाउने भइसकेपछि लेनिनलाई पढेर, अरु देशलाई पढेर यसको समाधान हुँदैन । उपयोगबाट पनि मुक्त भएको, निषेधबाट पनि मुक्त भएको बनाउनुपर्छ ।
तपाईंले फरक संगठन र शैली अपनाउने भन्नुभयो तर विधान हेर्दा त ठ्याक्कै एमालेको नक्कल गरेको देखिन्छ । अलिकति पनि रचनात्मकता किन देखाउन नसकेको ?
यो एकदमै जायज कुरा नै हो । हाम्रो पार्टी जीवनमा यति धेरै हामी विधान संशोधन गर्दैन्थ्यौं । एक प्रकारले हेर्ने हो भने हाम्रा कमिटी निर्देशनात्मक बनेका छन् । नेताहरु जान्ने, सरर भन्ने हिँड्ने । दुःख, सुखका कुराहरु सुन्ने, त्यही भन्ने, आलोचना र आत्म आलोचना पनि थिएन । लेवी, सदस्यता शुल्क तिर्ने पनि थिएन । अघिल्लो वर्ष फागुन २३ मा जब सर्वोच्चले नेकपा विभाजित गराई दियो, हामी आन्दोलनमा लाग्नुप¥यो । संगठनको काममा हामी लाग्नै पाएनौं । हामी साउनमा आएर केन्द्रीय समितिको बैठक गर्यौं ।
नेकपाको विधानमा एमालेको विधान हावी थियो । संगठनमा उहाँहरु अलि कुशल भएको कारणले त्यसकै वरीपरि बनेको थियो । हामीसँग अहिले ३४ वटा विभाग छन् । हामीलाई कति आवश्यकता हो, कति होइन । विभागमा राख्दा र नराख्दा व्यक्ति छान्दा पनि कुन विभागमा को उपयुक्त ? यस्ता धेरै कुरा पनि हामीले मिहिन ढंगले हेर्न पाएनौं ।
तर, हाम्रो स्थायी समितिको पछिल्लो वैठकमा विधानबारे लगातार छलफल भएको छ । हाम्रो राष्ट्रिय सम्मलेनले हाम्रो आफ्नो खालको विधान फाइनल गर्छ ।
तीन दशकभन्दा बढी समयदेखि प्रचण्ड नेतृत्वमा हुनुहुन्छ । माओवादीमा आन्तरिक लोकतन्त्र छैन । एक हिसाबले पार्टीमा राजतन्त्र छ भन्ने टिप्पणी हुन्छ । राष्ट्रिय सम्मेलनले यो दागलाई कसरी हटाउँछ ?
टिप्पणीहरु आउन स्वभाविक हो । खुला समाज हो । प्रजातान्त्रिक मुल्यमान्यता छन् । आलोचनालाई म स्वभाविक मान्छु । कमरेड प्रचण्ड नेपालको सामन्तवाद विरोधी आन्दोलनलाई यो ठाउँमा ल्याउने मुल नेतृत्व हो । उहाँ नेताहरुको नेता हो । नेतृत्व भनेको त्यतिकै जन्मिदैन । एउटा संघर्षको प्रक्रिया हुन्छ । क्रान्तिलाई सफल गर्नका लागि केही आधारभूत पक्षहरु छन् । एउटा कार्यदिशाको प्रश्न । अर्को संगठनात्मक पार्टीको प्रश्न । अर्को जनताको भूमिकाको प्रश्न । अर्को नेतृत्वको प्रश्न । यी यस्ता महत्वपूर्ण प्रश्नहरु हुन् । यी एकअर्कासँग सम्बन्धित छन् ।
कमरेड प्रचण्डकै नेतृत्वमा जनयुद्ध अगाडि बढ्यो । जनयुद्धलाई उहाँले नै जनआन्दोलनसँग जोड्न सफल हुनुभयो । शान्ति प्रक्रिया हुँदै २०७२ को संविधान निर्माणसम्ममा खेलेको भूमिकाको कोणबाट यहाँ बढाउनु पर्ने कुरा पनि छैन, घटाउनुपर्ने कुरा पनि छैन । नेपालका सबै राजनीतिक प्रक्रियाहरु यसै शिलशिलामा गाँसिएर, यही नेतृत्वमा घुमेका हुन् ।
शान्ति प्रक्रियामा प्रचण्ड र गिरिजाबाबुबीचमा हस्ताक्षर भएर नै यो ठाउँसम्म आएका छौं । त्यसैले नेपालको क्रान्तिकारी आन्दोलनको आवश्यकता हो कमरेड प्रचण्ड । अहिले प्राप्त भएका उपलब्धीहरुको रक्षा गरेर समाजवादतर्फ लैजानुपर्ने छ । कमरेड प्रचण्डसँग एउटा ठूलो चुनौती पनि छ । नेपालको क्रान्तिकारी आन्दोलनलाई यसले निरन्तरता प्राप्त गरोस । यतिखेर नयाँ नेतृत्व निर्माण गर्ने जिम्मेवारी पनि छ । पार्टीलाई व्यवस्थित र संस्थागत गर्ने जिम्मेवारी पनि छ ।
बाहिरबाट उहाँ लामो समयदेखि नेतृत्वमा हुनुहुन्छ भनेर चटक्क छोडिदिएर अर्कोलाई बुझाइदेउ भन्ने कुरा क्रान्तिकारी कुरा पनि होइन । त्यसैले नेपाली समाजको आवश्यकताको आधारमा यो नेतृत्व निर्माण भएको छ । समाजको आवश्यकतालाई पक्रिन सक्नु भएन भने उहाँ नेतृत्वमै रहनसक्नुहुन्न ।
समाजवादी क्रान्तिको खाका तयार पार्ने, नयाँ ढंगको पार्टीको सांगठनिक पक्षको पनि विकास गर्ने, नेपालको समाजवादी आन्दोलनको तयारीको काम पनि अगाडि बढाउने र नेतृत्व पनि विकास गर्ने दिशामा राष्ट्रिय सम्मेलन अग्रसर छ ।
त्यसोभए अहिले नै प्रचण्डको विकल्प खोज्ने ठाउँमा तपाईंहरु र पार्टी पुगेको छैन ?
अहिले कमरेड प्रचण्डसहितको टिमले राम्ररी काम गर्यो भने त्यो दिन चाँडै आउँछ । मेरो कुरा पनि त्यही हो, अहिले हाम्रो पार्टीको कुरा पनि त्यही हो । कमरेड प्रचण्डको सक्रियतामा उहाँका वरिपरि रहेका सबै नेताहरुले साथ दिएर ठिक दिशामा यसलाई लग्यौं, आगामी चुनावहरुमा हस्तक्षेप गर्याैं, पार्टी निर्माणको पनि काम गर्यौं, सरकार, संसद र सडक तीनवटै कुरालाई व्यवस्थित गर्यौं भनेदेखि प्रचण्डलाई यी दैनिक कामबाट मुक्त गरेर विचार, दर्शन, सिद्दान्तको क्षेत्रमा तपाईं काम गर्नुहोस्, हामी अगाडि बढाउँछौं भनेर भन्ने एउटा पंक्ति तयार गर्नु परेन ?
सांगठनिक हिसाबले पनि संक्रमणमा छौं । २०७२ को संविधानको रक्षा गर्ने हिसाबमा पनि निकै जोखिममा छौं । कमरेड प्रचण्डलाई फरक ढंगले काम गर्न दिउँ भन्दा पनि अहिलेको राजनीतिक परिस्थितिले त्यो वातावरण दिएको छैन् । उहाँको उचाइको नेतृत्वले अपील गरेका कारणले ठूलो स्तरमा कार्यकर्ता परिचालित पनि भएका छन् । अन्य राजनीतिक नेताहरु पनि एक ढंगले सहकार्य गर्ने ठाउँमा आएका छन् ।