बेलबास–बेथरी सडक निर्माणको काम अन्तिम चरणमा – Nepal Press

बेलबास–बेथरी सडक निर्माणको काम अन्तिम चरणमा

रुपन्देही । रुपन्देहीको उत्तरी सिमाना बुटवलको बेलबासबाट दक्षिणी क्षेत्रस्थित लुम्बिनीरोडको बेथरी जोड्ने नमुना सडक निर्माणको अन्तिम चरणमा पुगेको छ ।

दुवै साइडमा चार लेनको सडक अनि बीचमा नहर रहेको नमुना सडकले रुपन्देहीको उत्तर दक्षिण जोड्ने भन्दा करिब ५ वर्षको बीचमा यो नमुना सडकको धेरै काम सकिसकेको छ ।

पहिले संघीय सरकार अन्तरगतको यो आयोजना केही समय प्रदेशमा हस्तान्तरणपछि ढिलाई भएको थियो । तर नेता पौडेलले आफ्नो विशेष योजना भएकाले निरन्तर यसलाई फलोअप गरेका कारण अहिले यसको काम तीव्रगतिमा अगाडि बढेको छ ।

बुटवलको बेलवास झोलुुङ्गेपुल चोकदेखि भैरहवा–लुम्बिनी सडकको बेथरीसम्म २२ किलोमिटर लामो यो सडकको बीचमा नहर छ ।

नहरको दुवैतिर हरियाली बनाउन ग्रिनेरी बेल्ट छ त्यसको बाहिर सात/सात मिटर फराकिला सडक, त्यसबाहिर दुई मिटरको साइकल लेन र १.८ मिटरको फूटपाथ समेत बन्नेछ । नहरको दुवै साइडको भित्तामा फूल र दुबो रोपेर हरियाली बनाइने छ ।

दुवैतिर सडक बत्ती र नहरको पानीतर्फ फर्काइएका रङ्गीन बत्तीले यो सडकलाई आकर्षक बनाउनेछन् ।

नहरमा पानीको मात्रा बढाई र लामो दूरीको र्‍याफ्टिङ वा बोटिङसमेत गर्न सकिने व्यवस्था मिलाइने बताइएको छ ।

३ प्याकेजमा गरी कुल १ अर्व ६७ करोडको लागतमा निर्माण थालिएको २२ किलोमिटरको सडक अहिले ३ वटै प्याकेजको काम जारी छ ।

अन्तर्राष्ट्रिय महत्वका प्रमुख पर्यटकीय क्षेत्रका रुपमा रहेको बुद्धजन्मस्थल लुम्बिनी पुग्न पूर्व– पश्चिम राजमार्गबाट नमुना सडकको परिकल्पना गरी बेलबास बेथरी सडक आयोजना सुरु गरिएको थियो ।

बेलबास बेथरी सडक बुटवलको नहरपुरदेखि बेथरीसम्म नहरको दुबैतिर दुई–दुई लेनको सडक र नहरको छेउछाउमा हरियालीसहितको उद्यान बनाउने योजना सहितको अघि बढेको नमुना सडक हो ।

२०७३ असार ३० गते बज्रगुरु कान्छाराम जेभी र रमण जेजेसिसिएल जेभीसंग ठेक्का सम्झौता भएपछि सुरु भएको यो आयोजना अबको एक बर्षभित्र सक्ने लक्ष्य लिइएको छ ।

०७४ असार १० गते रमण कन्स्ट्रक्सनसंग सम्झौता भएपछि २२ किलोमिटरको सडकलाई ३ प्याकेजमा बाढिएको थियो । ३ वटा प्याकेजमध्ये रमण जेजेसिसिएल जेभीले सवैभन्दा बढि ९५ प्रतिशत काम सम्पन्न गरिसकेको छ ।

६८ करोड ३६ लाख १२ हजार २९४ रुपैयामा सम्झौता भएको कम्पनीले ९५ प्रतिशत काम सम्पन्न गर्दा ५६ करोड ४३ लाख ४ हजार ५८१ रुपैयाँ भुक्तानी लगिसकेको छ । त्यस्तै रमण कन्स्ट्रक्सनले ९० प्रतिशत काम सम्पन्न गरेको सडक पूर्वाधार कार्यालय कपिलबस्तुले जनाएको छ ।

३७ करोड ८२ लाख ७० हजार ३४४ सम्झौता भएको उक्त ठेकेदार कम्पनीले ९० प्रतिशत काम सम्पन्न गर्दा २५ करोड ५७ लाख ९ हजार ६१८ रुपैयाँ भुक्तानी भएको छ ।

सुरुमै सम्झौता गरेको बज्रगुरु कान्छाराम जेभीले भने ४५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । ६० करोड ८८ लाख ६१ हजार ४ सय ८४ रुपैयाँमा ठेक्का पाएको यो कम्पनीले हालसम्म २२ करोड २१ लाख ५४ हजार ७१३ रुपैयाँ भुक्तानी लगेको सडक पूर्वाधार कार्यालय कपिलवस्तुका कार्यालय प्रमुख जितेन्द्र रायमाझीले जानकारी दिए ।

सडक अधिकार क्षेत्रभित्र परेका निजी घर तथा जग्गा जमिनको मुअव्जा माग गर्दै काममा अवरोध तथा प्रदेश सरकारलाई ठेक्का हस्तान्तरण र साईट क्लियरेन्समा समस्या हुँदा समयमै सडक सम्पन्न हुन नसकेको उनले बताए ।

सडक छेउ रहेका सिंचाई कुलो विस्थापन भएको र उपभोक्ताहरुबाट पनि काममा अवरोध हुँदा निर्माणमा विलम्ब भएको उनले बताए ।

‘अहिले ३ वटै प्याकेजमा म्याद थप भई ०७८ चैत ३० सम्म कायम भएको छ । तर संघ सशर्त अनुदानबाट सञ्चालन भइरहेकाले यस आयोजनाको लागि माग अनुसारको बजेट नै प्राप्त भएको छैन’, उनले भने ।

लुम्बिनीबाट बुटवल आउने आन्तरिक तथा बाह्य पर्यटकहलाई पनि यो यो बाटोले धेरै सहज बनाउने र लुम्बिनी तथा भैरहवा विमानस्थल जाने दुरी पनि कम गर्ने पर्यटन व्यवसायीको भनाइ छ ।

पूर्वपश्चिम राजमार्गबाट राम्रो क्षमताको २२ किलोमिटर बाटो पूरा भएपछि विमानस्थल तथा लुम्बिनी आउने जाने पर्यटकलाई धेरै सहज हुनेछ, पर्यटन व्यवसायी गोविन्द ज्ञवालीले भने ।

यो सडकले विमानस्थल र लुम्बिनीमात्र होइन रुपन्देहीको अन्न भण्डारले परिचित मर्चवार क्षेत्रमा पनि यातायातको सहज पहुँच यसले थप्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *