एमाले केन्द्रीय सदस्य नपाएपछि विकल्प खोज्दै सिन्धुपाल्चोकका नेता कर्माचार्य
काठमाडौं । नेकपा एमालेको १० औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा चयन हुन नपाएपछि सिन्धुपाल्चोकका नेता सुवास कर्माचार्यले विकल्पको खोजीमा लागेका छन् ।
अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनमा प्रस्तुत गरेको केन्द्रीय सदस्यको सूचीमा नपरेपछि उम्मेदवारी फिर्ता लिएका कर्माचार्यले मनोनित हुन दौडधुप गरेका थिए । तर, एमालेको दोस्रो केन्द्रीय कमिटी बैठकबाट पनि केन्द्रीय सदस्यमा नपरेपछि उनले विकल्पको खोजी थालेका हुन् ।
‘पार्टीभित्रैबाट हामीलाई किनारा लगाउने काम भयो’, कर्माचार्यले भने, ‘यस्तो अवस्थामा विकल्पको खोजी गर्नु स्वभाविक हो । पेलान धेरै भएपछि विद्रोह हुनुलाई नौलो मान्न हुन्न ।’
उनले एमालेबाट विद्रोह गरेर नेकपा एसमा जानेबारे कुनै निर्णय लिइनसकेको भन्दै साथीहरुसाग विकल्पको बारेमा छलफल भइरहेको बताए । उनले जिल्लाभित्रैका नेताबाट असहयोग भएका कारण केन्द्रीय सदस्यमा नपरेको गुनासो पनि गरे ।
कर्माचार्य सिन्धुपाल्चोक एमालेका स्थापित नेता हुन् । २०३७ सालमा विद्यार्थी राजनीतिबाट एमालेको राजनीतिमा उदाएका नेता कर्माचार्य पार्टी भित्र निडर र हक्की स्वभावका मानिन्छन् ।
नेता कर्माचार्य २०५८ देखि २०६६ सालसम्म एमाले सिन्धुपाल्चोक पार्टी प्रमुख भए । माओवादी युद्धमा एमालेका नेता कार्यकर्ताहरुलाई माओवादीले दुःख दिने क्रम बढेपछि सशक्त प्रतिकारमा समेत उत्रिएका नेता कर्माचार्य २०५६ सालमा सिन्धुपाल्चोक दुईबाट संसदमा निर्वाचित भएका थिए।