जीवन परियारः ११ वर्ष केन्द्रीय सदस्यपछि कांग्रेसको सहमहामन्त्री – Nepal Press

जीवन परियारः ११ वर्ष केन्द्रीय सदस्यपछि कांग्रेसको सहमहामन्त्री

काठमाडौं । नेपाली कांग्रेसको १४ औ महाधिवेशनबाट समावेशीअन्र्तगत दलिततर्फको महामन्त्रीमा जीवन परियार निर्वाचित भएका छन् । पार्टी सभापति शेरबहादुर देउवा प्यानलबाट समावेशीअन्र्तगत दलिततर्फका उम्मेदवार मानबहादुर विश्वकर्मालाई मात्र ३७ मतले पछि पार्दै शेखर कोइराला प्यानलबाट उम्मेदवार बनेका परियार सहमहामन्त्रीमा निर्वाचित भएका हुन् ।

जम्मा खसेको ४ हजार ६ सय ९४ मतमा ७५ मत बदर भएकोमा बाँकी खसेका मतमध्ये सहमहामन्त्रीमा निर्वाचित परियारले २ हजार दुइ सय १२ मत प्राप्त गरेका हुन भने उनका प्रतिस्पर्धी विश्वकर्माले २ हजार एक सय ७५ मत प्राप्त गरेका हुन् । यस्तै दलितर्फ नै सहमहामन्त्रीमा उम्मेदवारी दिएकी गंगा सुनारले भने दुई सय ३२ मत प्राप्त गरेकी छन् ।

सुरुमा देउवा प्यानलबाट.दलिततर्फको सहमहामन्त्रीमा तत्कालीन पार्टी केन्द्रीय सदस्य मीन विश्वकर्माले उम्मेदवारी दिने घोषणा गरेपछि देउवा प्यानलका विश्वकर्माले सहमहामन्त्रीको बाजी मार्नसक्ने आँकलन गरिएको थियो । तर, अन्तिम समयमा आएर देउवाले सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मालाई उठाउने निर्णय गरेका थिए ।

यसप्रति असन्तुष्टि जनाउँदै मीन विश्वकर्माले केन्द्रीय सदस्यमा पनि उम्मेदवारी नदिने निर्णय गरे । तर, मनोनयन दर्ता गराउने क्रममा मीन विश्वकर्माका सुभ चिन्तकले दलिततर्फको खुला केन्द्रीय सदस्यमा मनोनयन दर्ता गराएका थिए । उक्त मनोनयन भने मीन विश्वकर्माले फिर्ता लिएका थिए ।

को हुन जीवन परियार ?

कास्कीमा जन्मीएका जीवन परियार यसअघि नै दुई कार्यकाल नेपाली कांग्रेसको केन्द्रीय सदस्य भइसकेका थिए । उनले पार्टीको केन्द्रीय सदस्यमा नै ११ बिताइसकेका छन् । उनी कांग्रेसनिकट दलित संघको महासचिव समेत भइसकेका छन् ।

नेपाल विद्यार्थी संघहुँदै अहिलेसम्म पार्टीका सबै भूमिका रामचन्द्र पौडेल पक्षबाटै निर्बाह गरेको र पहिले पार्टी विभाजन हुँदासमेत रामचन्द्र पौडेल पक्षबाटै अघि बढेकाले पौडेल पक्षको उम्मेदवार हुने उनले घोषणा गरेका थिए । तर, अन्तिम समयमा आएर पौडेलपक्षबाट शेखर कोइरालाले समापतिमा उम्मेदवारी दिने घोषणा गरेपछि उनी पनि उक्त प्यानलबाटै उम्मेदवारी दिन पुगेका थिए । उनले गिरिजाप्रसाद कोइराला, सुशील कोइरालाहुँदै रामचन्द्र पौडेलसम्म आइपुग्दा एउटै लाइन समातिरहेका छन् ।

परियार २०६७ सालमा काँग्रेसको केन्द्रीय सदस्य निर्वाचित भएका हुन् । केन्द्रीय सदस्य भएलगत्तै दोस्रो संविधानसभामा समानुपातिक निर्वाचन प्रणालीबाट सदस्य भइसकेका छन् । संविधानसभामा दलित समुदायको हक अधिकारका लागि निरन्तर आवाज उठाउँदै आएका छन् । संविधानको मौलिक हकमा लेख्नुपर्ने विषयदेखि शिक्षा, स्वास्थ्य, रोजगारीमा सहुलियतलगायतका विषयमा पनि आफ्नो योगदान महत्वपूर्ण रहेको उनको दाबी छ ।

प्रत्येक वडामा दुई महिला वडा सदस्य हुने व्यवस्था भएको ठाउँमा आफैं सक्रिय भएर दुईमध्ये एक दलित महिला हुनुपर्छ भनेर संशोधन प्रस्ताव पनि सहमहामन्त्री परियारले हालेका थिए । र त्यो सफल पनि भयो ।

लोकतान्त्रिक समाजवादको विचारलाई तल्लो तहसम्म पुर्याउन, लोकतान्त्रिक समाजवादकै आधारमा संविधानको जगेर्ना गर्न र कुरीति एवं कुसंस्कार अहिले पनि विद्यमान रहेकाले त्यसलाई अन्त्य गर्ने जिम्मेवारी अब आफ्नो काधमा आएको निर्वाचित भइसकेपछि नेपाल प्रेससँग बताए ।

सहमहामन्त्री पदमा बसेर दलित समुदायका साथै पार्टी हितमा काम गर्ने तीव्र इच्छा भएकाले उम्मेदवारी दिएको र विजयी भइसकेपछि अब त्यो एजेण्डा पुरा गर्ने विजयी घोषणा भइसकेको पछि उनले प्रतिवद्धता जनाए ।

उनले भने, ‘समावेशीतर्फ दलितबाटै दुईपटक केन्द्रीय सदस्य निर्वाचित भइसककाले पनि दलित समुदायका समस्याबारे मलाई धेरै जानकारी छ । अहिले पनि नेपाली समाजमा जातीय विभेद र छुवाछुतको समस्या कायमै रहेकाले राज्यको १३ प्रतिशत हिस्सा ओगट्ने दलित समुदाय सबै दृष्टिकोणबाट पछाडि परिरहेको छ । यस समुदायका लागि राजनीतिक तहबाट लड्नुपर्ने जिम्मेवारी मेरो काँधमा आएको छ ।

लोकतान्त्रिक समाजवादको विचारलाई तल्लो तहसम्म पुर्याउन, लोकतान्त्रिक समाजवादकै आधारमा संविधानको जगेर्ना गर्न र कुरीति एवं कुसंस्कार अहिले पनि विद्यमान रहेकाले त्यसलाई राजनीतिक तहबाट अन्त्य गर्न लागि पर्ने उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर