विपक्षीले पत्याएका मुख्यमन्त्री शाही पार्टीबाटै अस्वीकृत हुनुका चार कारण
‘राठको बैरी राठै, काठकौ बैरी काठै अर्थात् फलामलाई फलामले नै काट्छ, काठलाई काठले नै !’ कर्णाली क्षेत्रको रैथाने यो उखान पछिल्लो समय नेपाली राजनीतिमा निकै मेल खान थालेको छ ।
व्यक्तित्व र समाजमा उसले गरेको कामका कारण नागरिकसँगै अन्य राजनीतिक दलले विश्वास गरे पनि पार्टी भित्रकै गुटले लत्याइएपछि ठूलै नेताको पनि केही लाग्दो रहेनछ । जसको ज्वलन्त उदारहण हुन्, कांग्रेस सहमहामन्त्रीमा पराजित कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही ।
मुख्यमन्त्री शाही कर्णाली प्रदेशसभामा भएका २४ वटा निर्वाचन क्षेत्रमध्ये हुम्ला ‘ख’ बाट निर्वाचित हुन् । यहाँ कांग्रेसबाट प्रत्यक्ष चुनाव जित्ने एकमात्र सांसद हुन् । उनले कर्णाली प्रदेशसभामा नेकपा एमालेबाहेकका सबै राजनीतिक दलको समर्थनमा प्रदेशको मुख्यमन्त्री हात पारे ।
तर पार्टीको १४ औं महाधिवेशनमा पार्टीभित्रका १३ पदाधिकारीमा उनी परेनन् । पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीको उम्मेदवार भएका शाहीलाई कांग्रेस कार्यकर्ताले पत्याएनन् । कार्यकर्ताले बाजुराका पूर्व राष्ट्रियसभा सदस्य बद्री पाण्डेसँग पत्याए ।
प्रधानमन्त्री तथा पार्टीका नवनिर्वाचित सभापति शेरबहादुर देउवाको किचन क्याबिनेटकै रुपमा चिनिने कर्णालीका मुख्यमन्त्री शाही कसरी पराजित भए ? निकै चर्चाको विषय बनेको छ ।
पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सत्ता गठबन्धनसँगै कर्णाली प्रदेशमा माओवादी केन्द्रका संसदीय दलका नेता महेन्द्रबहादुर शाहीको सट्टामा कांग्रेस प्रदेश दलका नेता शाही कात्तिक दोस्रो साता मुख्यमन्त्री बनेका थिए ।
यसअघि संघीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्री बनिसकेका शाही कर्णाली सत्ताको बागडोर सम्हाल्न पुगे पनि आखिर आप्mनै पार्टीको जिम्मेवारीका लागि देशभरका प्रतिनिधिले अयोग्य ठहर्याए ।
कर्णालीका समकालीन राजनीतिक पात्रमध्येका एक चतुर खेलाडीका रुपमा चिनिने मुख्यमन्त्री शाही आप्mनै पार्टीभित्र पराजय हुनुका थुप्रै कारण छन्, तीमध्ये खास चार कारण यस्तो छ–
१. राजनीतिमा युवा हस्तक्षेप
कर्णाली प्रदेशका मुख्यमन्त्री शाही आफूलाई युवा नेता भन्न रुचाउँछन् र उनलाई चिन्नेले पनि युवा नेता नै भन्छन् । तर उनका प्रतिस्प्रर्धी बद्री पाण्डे भन्दा उनी केही वर्ष जेठा हुन् ।
पचासको दशकपछि सिधै कांग्रेसको पार्टी राजनीतिमा जोडिएका शाही कर्णालीमा चिनिएका नेता हुन् । तर देशभरका कांग्रेसजनमा बद्री पाण्डेको तुलनामा उनी कमजोर छन् । यो पनि उनको हारको एउटा कारण हो ।
यसका अलावा कांग्रेस भित्र जुनसुकै नेताको नाममा जस्तोसुकै गुट–उपगुट भएपनि नेपाल विद्यार्थी संघको केन्द्रीय राजनीतिमा संलग्न युवा नेताहरुको हस्तक्ष्प कांग्रेसको १४ औं महाधिवेशनमा बढ्नु र सोहीअनुरुप पदाधिकारीमा नेताहरु विजयी हुनुले पनि शाहीको सह–महामन्त्री यात्रामा ठेस लागेको बुझ्न सकिन्छ ।
उनका प्रतिस्प्रर्धी पाण्डे नेविसंघकै पूर्वनेता हुन् । देशभरका युवालाई नेतृत्वमा ल्याउनु पर्छ भन्ने कांग्रेस प्रतिनिधिहरुको सन्टिमेन्टले पनि शाहीलाई पार्टीको जिम्मेवारीका उपयुक्त देखेन ।
२. क्षेत्रीय सेन्टिमेन्ट
‘आफ्नो देशको काग पनि प्यारो हुन्छ’ भन्ने पौराणिक उखान नेपालको राजनीति वृतमा मेल खान्छ । राजनीतिक व्यवस्था र प्रणाली फेरिएर त्यसको कार्यान्वयन क्रमशः संस्थागत हुँदै गएको छ । पार्टीको नेतृत्वबाटै कुनै अवसर वा जिम्मेवारी दिने सवालमा पहिलो आफन्त (नजिक र विश्वाशिलो पात्र) खोज्ने नेपालको राजनीतिक प्रवृत्ति छ । जसकारण पार्टीका कार्यकर्ताले पनि नेता छान्दा नजिकको र आफन्त छान्ने व्यवहारको मारमा कर्णालीका मुख्यमन्त्री शाही परेका छन् ।
उनको निर्वाचन जित्ने सबैभन्दा ठूलो आधार संस्थापन पक्षको नेतृत्व अर्थात् सभापति शेरबहादुर देउवा नै थिए । तर सभापति देउवा र शाहीका प्रतिस्पर्धी पाण्डे एकै प्रदेशबाट प्रतिनिधित्व गर्ने भएका कारण पनि केही मतमा उनलाई सिण्डिकेट लागेको देखिन्छ ।
सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने नौ जिल्लाका संस्थापन पक्ष र संस्थापनइतरका कांग्रेस प्रतिनिधिमा भेगीय सेन्टिमेन्टले धेरै काम गरेको छ । कांग्रेस सुदूरपश्चिममा भविष्यका नेताका रुपमा पाण्डेलाई अथ्र्याएर अघि बढाउँदा राम्रो हुन्छ भन्ने आन्तरिक सर्कुलरका कारण पनि शाहीले अपेक्षाकृत मत प्राप्त गर्न सकेनन् ।
सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने संस्थापन पक्षकै एक कांग्रेस नेताका अनुसार पार्टी भित्र जुनसुकै गुट भएपनि बद्री पाण्डे अघि बढाउँदा देउवापछिको नेता प्रदेशले पाउने आश थियो । जसकारण सुदूरपश्चिमको धेरै मत बद्री पाण्डेतिर गयो । परिणामतः शाही हारे ।
३. सत्ताप्रतिको असन्तुष्टि
राजनीतिक तर्क र मासलाई आकर्षण गर्ने क्षमता भएका कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा सांस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री थिए । पार्टी भित्रका धेरै आकांक्षीलाई पछार्दै शाही संघीय मन्त्री बन्न सफल पनि भए । तर उनी सरकारमा हुँदा धेरै नेता कार्यकता चिडिए ।
समकक्षी नेताहरुले त्यसको रिस फेर्ने अवसरका रुपमा महाधिवेशनलाई लिए । मुख्यमन्त्री भएपछि पनि खासै काम गर्न नसकेका शाहीलाई कर्णालीकै प्रतिनिधिले पनि पत्याएनन् ।
सत्तासँग सिमित साधन हुने र कार्यकर्ताका असीमित आकांक्षा हुने भएकाले सत्ताप्रति आमनागरिकसागै पार्टीका नेता तथा कार्यकर्ताले असन्तुष्टि व्यक्त गरिरहेकै हुन्छन् । शाहीलाई यो कुराले पनि पराजय व्यहोर्न बाध्य पारेको हुनसक्छ ।
४. राजनीतिमा हेड काउण्टको महत्व
नेपालको संविधानले लामो समयको एकात्मक राज्य व्यवस्थालाई परिवर्तन गरेर संघात्मक व्यवस्थामा गएसँगै राज्यको मूलप्रवाहमा समाहित नभएका वर्ग, क्षेत्र, जातजाति, लिंगको सहभागिता सुनिश्चित गरेको भनिन्छ । तर व्यवहार अझै हेडकाउन्टकै हुने गरेको छ ।
सुदूरपश्चिमभन्दा कर्णाली स्वभाविकरुपमा कांग्रेसको कमजोर प्रदेश हो । कांग्रेसको केन्द्रीय नीति निर्माण तहमा कर्णालीको पहुँच छैन । त्यस्ता क्षेत्रलाई समावेश गर्न कांग्रेसले विधानमै सह–महामन्त्रीको पदलाई पिछडिएको क्षेत्रबाट प्रतिनिधित्व गर्ने व्यवस्था त गर्यो तर परिणाम दुई कार्यकाल पार्टीको नेतृत्व र धेरैपटक देशको नेतृत्व गरेको प्रदेशबाटै उक्त क्षेत्रको प्रतिनिधित्व गर्ने अवस्था आयो ।
यसको एउटै कारण हो, नेपालको ‘राजनीतिमा हेडकाउन्ट’को बढ्दो प्रभाव । सुदूरपश्चिम प्रदेशमा भन्दा कर्णालीमा एक जिल्ला बढी छ । तर जनसंख्या र कांग्रसको क्रियाशील सदस्यको संख्याका आधारमा सुदूरपश्चिम कर्णाली भन्दा निकै माथि छ । जहाँको संख्या बढी हुन्छ, त्यतैकाले प्रतिनिधित्व गर्ने व्यवस्था लोकतन्त्रको मेरुदण्ड हो ।
तर नेपालको समावेशी शासन व्यवस्थाले अंगीकार गरेको भावना र मर्मअनुसार व्यवहारमा कार्यान्वयन गर्न त्यहीं हेडकाउन्टले काम गरेको छ । जसकारण प्रतिस्पर्धामा शाही पछाडि परे ।
नेपाली राजनीतिमा पछिल्लो समय देखिएका आन्तरिक गुट–उपगुटहरु कसरी झाँंगिदै छन् ? यस्ता गुटहरु अन्य पार्टीभन्दा थप किन खतरनाक हुँदैछन् भन्ने प्रतिकात्मक रुपमा कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीको पराजयलाई लिन सकिन्छ ।