विवादै विवादमा नेपाल स्काउट र उम्किने बाटो – Nepal Press
ब्लग

विवादै विवादमा नेपाल स्काउट र उम्किने बाटो

संस्था जन्मनु मात्रै पनि सफलता होइन । संस्था एक पल्ट हिँड्नु मात्रै पनि सफलताको मानक होइन । कुनै पनि संस्था आफ्नै गतिमा हिँडिरहनु चैँ विशेष कुरा रहेछ । कुनै संस्था जन्मन्छन् तर स्थिर रहन्छन् । कतिपय निष्प्राण प्रायः रहन्छन् ।

कुनै कुनै संस्थामात्रै गतिशील बनिरहन सक्छन् । नेपाल स्काउट ७० वर्षदेखि अनवरत हिडिरहेको संस्था हो । यसो त, स्काउट यति धेरै बर्षदेखि चल्न सकेको छ भन्ने थाहा पाउन पात्रो पल्टाउनु पर्दैन । उमेर बताइराख्नु पर्दैन । एउटा गौरवपूर्ण विगतको फेहरिस्त स्काउटको नाममा नै जोडिन्छ । हरेक स्काउटलाई यस्तो गौरवपूर्ण संस्थाको सदस्य हुँ भन्नु घमण्डभन्दा पनि पुर्णतः आत्मविश्वासको प्रतित हुन्छ ।

राजतन्त्रसहितको प्रजातन्त्रमा स्थापना भएर संघीय गणतन्त्रसम्मको यात्रा गर्दा स्काउटले एउटा संस्थाको रुपमा रोचक आरोह अवरोह छिचोलेको छ । धेरै कठिन अवस्थाहरु झेलेको छ । यसको आधार स्थापनाकालदेखि नै तयार भएको थियो । त्यसमा पछि थपिएका अग्रजहरुको लगन, पसिना र उमेर पनि थप भएकाले पछाडि फर्केर हेर्दा जो कसैलाई पनि उर्जा मिल्छ, सन्तुष्टि मिल्छ ।

तर, अहिलेको अवस्था हेर्दा लाग्छ, स्काउटले पहिले कहिलै भोग्नु नपरेको अफ्ठ्यारोमा छ । निस्कन गाह्रो दलदलमा फस्न गइरहेको छ । यसबाट सबैजसो सच्चा स्काउटहरुको उर्जामा प्रश्नचिन्ह लागेको छ ।

विगतको यत्रो लामो कालखण्ड भोगेर, ठूला ठूला राजनीतिक आन्दोलन र परिवर्तनहरु भोगेर परिपक्क भएको स्काउट यो अवस्थामा किन छ ? जवाफ प्रष्ट छ – नेपाल स्काउटमा भएको चरम राजनीतिले स्काउटको यो अवस्था हुदै गएको हो । अझ भनौँ, राजनीतिले संरक्षण गरेको माफियारुपी धमिराले स्काउटलाई संस्थाकारुपबाट, स्काउट हुनुको आत्मविश्वासबाट क्षयीकरण गर्दै लगेको छ । यही कारणले गर्दा अनुशासित भनेर प्रशिद्धी कमाएको संस्था एकाएक विवाद चर्किएको अवस्थामा छ ।

 

आखिर माफिया को हुन् ?

नेपालमा धेरैको मुखबाट सुनिन्छ – माफियाले देश बिगारे । देश माफियाले चलाए । सबैले महसुस गरेको कुरा हो, माफियाहरू राज्य सञ्चालनमा सक्रिय छन् । राज्यका विभिन्न अंग र तहमा छन् । त्यसरी नै स्काउटमा पनि माफिया छन् ।

माफिया भन्नाले फिल्ममा देखिने जस्तो खलनायक होइन, बरु एउटा समूहको निहित स्वार्थलाई ध्यानमा राखेर गर्ने व्यवस्थित अपराधी, अनैतिक र भ्रष्टाचारी चैँ हो । माफियाहरु आफ्नो शक्ति आर्जन दलबलबाट मात्र गर्दैनन्, कानून र व्यवस्थाका छिद्रहरु खोतलेर मुसा झैँ प्रवेश गर्छन् र संस्था वा समाजमा टाल्न गाह्रो पार्ने गरेर भ्वाङ बनाउँछन्, दुख दिन्छन् ।

 

यिनीहरुले आफूलाई सहि सावित गर्न जुनसुकै किसिमका झुटा जालझेलपूर्ण काम गर्ने, नागरिक र राज्यलाई ढाट्ने, छल्ने, राज्यको साधन स्रोतको असीमित दुरुपयोग गर्दै आफ्नो व्यक्तिगत र आफ्नो सञ्जालको फाइदाका लागि प्रयोग गर्ने गर्छन् । माफियाहरूले राज्यको कमजोरी तथा कानुनी छिद्रहरूको फाइदा लिँदै आफ्नो साम्राज्य विस्तार गर्छन् ।

यस्तै छिद्रको प्रयोग गरेर स्काउटमा माफियाराज चल्न लाग्दै थियो । देशैभर ’स्युडो स्काउट’ बनाइएको थियो ।  अभीष्ट नै स्काउटको स्रोत प्रयोग गरेर आफू बलियो र झन् बलियो हुनु थियो । यो बाटोले स्काउट सकियोस् वा रहोस्, उनीहरुलाई मतलब हुने कुरा भएन ।

सकिनुभन्दा अगाडिसम्म पनि तिनले आफू सही बाटोमा नै हिँडेको जस्तो भ्रम दिन पनि ति सक्षम बन्न सक्छन् । तर बुझ्नु पर्ने कुरा चै, बाटो मलामीको पनि हो, जन्तीको पनि हो । गन्तव्य कहाँ बनाएको छ भन्ने चै फरक कुरा हुन्छ ।

त्यसै भनिएको होइन – अति सर्वत्र बर्जयते । अति सुन्दरी हुँदा सीता हरिनु पर्यो । घमण्डले खस्रे भ्यागुतो जस्तो फुल्दा रावण नासिनु पर्यो । अति दानी हुँदा कर्ण काटिनु पर्यो । अति बलशाली हुँदा हनुमानले आफ्नो शक्ति अरुबाट थाहा पाउनुपर्ने अवस्था आइलाग्यो । माफियाराजको परिस्थिति नेपाल स्काउटमा अतिकै अवस्थामा छ । तर, परिस्थितिलाई स्विकार नगरि पोकर फेसको भावमा माफिया पुनः सक्रिय हुन खोज्दै छन् ।

‘पोकर फेस’ स्थिर भावको एउटा सङ्केत हो । जुन अनुहारमा व्यक्तिभित्रको भाव झल्किँदैन । जुवाघरमा जुवा खेलाउने व्यक्तिलाई ‘पोकर’ भनिन्छ । र, जुवा खेलाउँदै गर्दा आफ्नो अनुहारको भाव पढेर कुनै जुवाडेले बाजी थाप्ने या नथाप्ने निणर्य नगरुन् भनेर तिनले आफ्नो मनको भाव अनुहारमा प्रतिबिम्वित हुन दिँदैनन् । तिनको अनुहार बडो स्थिर र गम्भीर देखिन्छ । ‘पोकर’हरूको अनुहार शान्त र भावरहीत देखिन्छ, तर ती भित्रबाट सधैं उद्वेलित र तनावग्रस्त हुन्छन् । हो, नेपाल स्काउटका कथित संयोजक ठ्याक्कै यस्तै ’पोकर फेस’ भएका व्यक्ति हुन् ।

दृश्यमा जे देखिए पनि तिनीहरुमा अहंकारको राग बढी छ । त्यो रागले उनीहरुलाई नै सबै भन्दा धेरै व्याकुल बनाएको छ ।

हामीले खोजेको परिवर्तन भनेको ठूला गाडीहरु लैनचौरभित्र पसुन् । गाडीको अघिल्लो सिटमा प्रमुख मर्यादाक्रममा बसुन् । कार्यालयमा आज सम्पादन हुने कामको बैठक त्यहीँ सकियोस् । एकले अर्कालाई हाकिम हैन, साथी हो भन्ने हार्दिक भावना विकास होस् । तर, त्यतातिर जाने त परै जाओस्, सोच्नु पनि अपराध जस्तो ठान्दैछन् माफियाहरु । मालिक र नोकर जस्तो सम्बन्ध, स्वामी र दास जस्तो भक्ति स्काउटको सिद्धान्तको बर्खिलाप हो भन्ने सम्म हेक्का राख्दैनन् ।

एक पटक कन्फ्युसियसलाई सोधियो – ‘‘तपाईंलाई राष्ट्रिय सरकारको प्रमुख बनाइयो भने पहिलो काम के गर्नुहुन्छ ?’’ प्रश्न झर्न नपाउँदै उनको उत्तर थियो – ‘‘निसन्देह पहिलो काम भाषाको सुधार हुनेछ ।’’

आफ्नो आशय थप प्रष्ट पार्दै उनले भनेका थिए – ‘‘भाषा ठीक भएन भने जे भन्न खोजिएको हो, ठीक अर्थ लाग्दैन । अर्थ नखुलेपछि त्यो काम पनि हुन पाउँदैन । गरिनुपर्ने काम हुन नसकेपछि नैतिक मान्यता र कला अधोगतिमा जान्छ । यसको परिणाम न्याय व्यवस्थाको स्थिति बिग्रन्छ । यसबाट मानिस भयावह अन्योलमा पर्छन् । त्यसो हुँदा जे भनिने हो, त्यसमा स्वेच्छाचारिता अपनाइनु हुँदैन । सबै भन्दा यो महत्वपुर्ण विषय हो ।’’ विद्यमान नेपाल स्काउटका ऐन, नियम र निर्देशिका हेरौँ । तिनका भाषा र आशय हेरौँ । लाग्छ, कन्फ्युसियसले हाम्रै ऐन, नियम र निर्देशिका हेरेर प्रतिक्रिया दिएका थिए ।

गर्नुपर्ने धेरै छन् तर प्राथमिकता व्यक्तिपिच्छे फरक छन् । एउटाले भनेको अर्कोलाई चित्त बुझ्दैन । सबैलाई चित्त बुझ्ने वस्तु त संसारमा सृष्टि भएकै छैन । प्रत्येकका कुरा सुन्दा लाग्छ ऊनै सर्वोत्कृष्ट हो । हिजोका हुक्के, चम्चे, धुपौरे, नन्दी, भृङ्गी सबैका मठाधीशका कुरा सुन्यो भने उनीहरूले गरेको त्यागको उत्कर्षले ऊबेला नेपाल स्काउट स्वर्ग थियो भन्ने बनाइदिन्छन् ।

यी भ्रमहरु भन्दा माथि उठेर छातीमा हात राखेर आफूले आफैँलाई सोधौँ – नेपाल स्काउट समयसापेक्ष अघि नबढ्ने र सबैको पहुँचमा पुग्न नदिने दुष्प्रयास गर्दै गर्दा आफ्नो स्थान कहाँ पुग्ला भनेर गरिएको हो ? आफ्नो अनुकूलतामा व्यक्तिलाई देवत्वको उपाधि दिने र प्रतिकूलताको कालान्तरमा खुइल्याउने प्रवृत्ति स्काउटको नियम बन्दै आएको छ । त्यो प्रवृत्तिको मतियारको भूमिका निर्वाह केही माफियाका अरौटेभरौटेले गर्दै आएका छन् ।

स्काउटमा खालखालको समूह छ । स्काउट बिग्रिएको चिन्ता तातो चियामा पोख्ने अनि सत्ताको अगाडि पुगेपछि सियाको तेल छर्किएर चितामा विर्सजन गर्नेको संख्या कम छैन ।

मानवीय कर्म नभएर राजनीतिको कार्डले पनि नभ्याएर जातजाति र क्षेत्रीयतालाई पनि गोटी बनाइयो । कार्पेट माथिको फोहोर मिल्काउने चेष्टा कसैले गरेन, बरु कार्पेटमुनिको फोहोर निकालेर आँखामा हाल्ने दुष्प्रयास गरियो ।

जेलमा बसेको एउटा कैदीलाई सिर्कनो र खुर्सानीमध्ये एक रोज्न लगाइएछ । खुर्सानीले राल सिंगान भएपछि उ भन्दो रहेछ, यो भन्दा त सिर्कनो बेस । अनि सिर्कनोले तिघ्राबाट छर्छरी रगत आएर पोल्न थालेपछि उसलाई फेरि लाग्दो रहेछ, यो भन्दा त खुर्सानी जाति । स्काउटमा भएको परिवर्तनको प्राप्ति यो सत्यभन्दा पर हुने अवस्था नै रहेन । मैमात्र ठीकको अन्त्य नै सुशासनको प्राप्ति हो । एउटा सपना भाँचिएसँगै अरु अनन्त सपना जोडिन्छन् । जसले मानिसलाई आशामुखी हुन प्रेरित गर्छ । एउटा सपना टुक्रिने अरु नजोडिने हो भने मानव सभ्यता उहिल्यै डाइनासोर भइसक्ने थियो । सुखद् भविष्यको त्यान्द्रोले मानिसलाई सत्कर्ममा डोर्याउने त हो ।

लैनो गाईको फाँचोमा पुगे पनि किर्नोले खाने रगत नै हो, दूध हैन । कानुन मान्ने र नमान्नेको भिन्नता पनि यही नै हो । प्रायः मानिसहरू टाकुरा चढ्ने सपना त देख्छन् तर घर अगाडिको तगारो नाघेर अघि बढ्ने हिम्मत गर्न सक्दैनन् । स्काउटहरुले सो हिम्मत गर्ने दिन गर्वका साथ भन्नैपर्छ – नेपाल स्काउट नयाँ कोर्समा प्रवेश गर्छ । हिम्मत गरेर स्काउटका माफियाहरुलाई परास्त गर्नै पर्छ ।

पोखरीमा पानी हुन्जेल माछाले कमिला सिध्याउँछ । जब पोखरीको पानी सुक्,छ त्यही कमिलाले माछा सिध्याउँछ । पर्खन सक्नुपर्छ । समयअनुसार पालो सबैको आउँछ । सत्तालाई पनि सिकारको बिलो ठानियो भने हविगत उही दोहोरिन्छ । पात खाइयो भने त अर्को वर्ष पिपिरा पिपिरी पलाउला तर जरै ढालियो भने ‘न रहे बाँस न बजे बाँसुरी’ हुन बेर लाग्दैन । स्काउटको जरो भन्नु नै अनुशासन र बिधि हो ।  स्काउटको जरै ढाल्दैछन् ।

आलोचना गर्न ज्ञान फराकिलो चाहिन्छ । प्रशंसा गर्न मन फराकिलो चाहिन्छ । तर नेपाल स्काउटमा पछिल्लो निणर्य आलोचनाको नाममा जे भइरहेको छ, त्यो ईष्याले भैरहेको छ । प्रशंसाको नाममा जे भइरहेको छ, त्यो चाकडीले भइरहेको छ । अनावश्यक बखेडा नगरी असाँचो नयाँ विकल्पहरुलाई छोड्नु पर्छ । संस्था युवाको हातमा पुग्नु जरुरी छ । त्यसको सम्भावना चाँदनीको घेरा देखिन थालेको छ । म नभए केही हुँदैन भन्ने मानसिकता र दम्भ अब कसैले नपाले हुन्छ । भाले नबासे पनि उज्यालो भएरै छाड्छ ।

भनाइ छ-

जो जान्दैन र जान्दिन भन्ने पनि जान्दैन, उ मूर्ख हो ! उसलाई छुट्याउ ।
जो जान्दछ तर जान्दछु भन्ने जान्दैन, ऊ सुषुप्त हो ! उसलाई ब्युँझाउ ।
जो जान्दैन तर जान्दिन भन्ने जान्दछ, ऊ साधारण हो ! उसलाई सिकाउ ।
जो जान्दछ र जान्दछु भन्ने पनि जान्दछ, ऊ विद्वान हो ! उसलाई पछ्याउ ।

– लेखक नेपाल स्काउटका सहायक राष्ट्रिय प्रशिक्षक हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *