अल्लाेले धानेकाे खिमबहादुरकाे परिवार – Nepal Press

अल्लाेले धानेकाे खिमबहादुरकाे परिवार

चितवन । सिस्नोले पोल्छ ! तर, प्युठान स्याउलीवाङका चित्रकली र खिमबहादुर बुढामगरले धेरै परिवारलाई सिस्नोकै मलमपट्टी लगाएका छन् । ठूलो प्रजातीको सिस्नो अर्थात अल्लोको उत्पादन, संकलन, धागो निर्माण, कपडा बुन्ने, सिलाउने जस्ता काममा रोजगारी दिएर उनीहरुले मलमपट्टी लगाएका हुन् । कोठी हिमाल अल्लो कपडा उद्योगको अध्यक्ष चित्रकली र व्यवस्थापक खिमबहादुर श्रीमान– श्रीमति हुन् ।

अल्लोबाट बनेका टोपी, आस्कोट, कोट, जुहारी कोट, झोला, पर्स, सल लगायतका सामानहरु बेच्न बेलाबखत घुम्ती पसल चलाउँदै हिड्दै आएका छन् । भर्खरै सकिएको एमाले महाधिवेशन र कांग्रेस महाधिवेशनमा उनीहरु सडकपेटीमै घुम्ती पसल राखेर अल्लो चिनाउने अभियानमा सक्रिय बने ।

चित्रकली बुढामगर भन्छिन — अल्लोका कपडा धेरै नेताले किन्दा खुशी छौँ । अल्लोको महत्व जनतामाझ पुग्नेछ, अल्लो खेती विस्तार तथा यान्त्रिकरणमा राज्यकै ध्यान जाने आशा छ ।

दर्जनौँ हातको मिहनेतले अल्लोका तयारी पोशाकहरु बन्ने भएकाले लागत घटाउन नसकिएको दुखेसो पोखिन् । ‘धागो बनाउनेदेखि कपडा बनाउँदासम्म हातकै हुन्छ, यान्त्रिकरण गर्न सकिएको छैन’, उनी भन्छिन, ‘विदेशीले रुचाउँछन, नेपालीले महंगो भयो भन्छन्, लागत घटाउन अब राज्यलेनै सोचिदिनुपर्छ ।’

शुक्रबारदेखि भरतपुरमा सुरु भएको चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रर्दशनीमा रहेको उनको स्टलमा धेरैले चासो दिने गर्छन् । अल्लोबारे बुझ्ने र चिनोका रुपमा खरिद गर्ने क्रम बढ्दो छ । यो दम्पतीले प्युठानको नौ बहिनी गाउँपालिका–६ बहानेमा रहेको उद्योगलाई प्यूठान नगरपालिका–१० बडरमा पनि विस्तार गरेका छन् । तर, ती उद्योग र पसलबाट महिनामा मुस्किलले ५ लाखको कारोबार हुन्छ । मेला, महोत्सवका स्टल तथा घुम्ती पसलबाट भने मनग्ये आम्दानी हुनेगर्छ ।

‘कोरोनाका कारण होलसेल व्यापारीले अर्डर निकै कम गरेका छन्’, उनी भन्छिन्, ‘दुई ठुला पार्टीको महाधिवेशनको व्यापारले गर्दा महिनौँदेखि तलब नपाएका कर्मचारीलाई ज्याला दिन सकियो ।’

उनीहरुको उद्योगबाट १५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । तान बुन्ने मेसीन ५ वटा छन् भने सिलाउने मेसीन ४ वटा छन् । गत वर्ष ४ हजार केजी अल्लो संकलन गर्न इजाजत लिएका थिए ।

‘धेरैले बोराको कपडा हो भनेर सोध्थे, अल्लो भनेर चिनाउनै मुस्किल थियो’, विगत सम्झदै चित्रकलीले भनिन, ‘सिस्नोले पोलेजस्तै मन दुख्थ्यो, हरेश खाएनौँ, आज धेरै विपन्न समुदायको आयआर्जनको माध्यम बनेको छ ।’

प्युठानका विपन्न समुदायका महिलाहरु धागो बनाउने देखि कपडा निर्माणमा संलग्न भएर रोजगारी पाएकोे बताइन् । ‘२०५७ तिर धागो किनेर काठ्माण्डौ लगेर बेच्दा मैले मात्रै नाफा पाएँ’, उनी भन्छिन्, ‘अहिले गाउँतिरै कपडा तयार हुन्छन्, सबैले काम पाएका छन्, सबैलाई आम्दानी गर्न सहज बनेको छ ।’

अल्लो के हो ?

समुन्द्रसतहदेखि १२ सय मिटर देखि ३ हजार मिटरसम्मको उचाईमा पाइने सिस्नो प्रजातीको ठूला पात भएको चाल्ने सिस्नो अर्थात लेकाली सिस्नो नै अल्लो हो । यसलाई मगर भाषामा पुंगा पनि भनिन्छ ।
बोक्रामा भएका रेशाबाटै अल्लोको मजबुत धागो तयार हुनेगर्छ । ‘फल पाकेको अल्लोको बोक्रा (पाट) निकालिन्छ, ६ घण्टा खरानी पानीमा पकाएर पखाल्ने, कुट्ने गर्नुपछ’, चित्रकली भन्छिन्, ‘कमेरो माटो लगाएर एक हप्ता सुकाएपछि फेरी पखाल्नुपर्छ, धोएपछि बल्ल धागो निस्कन्छ ।’

उनका अनुसार अल्लोको धागोमा पोल्ने गुण हुने भएकाले यस्ता कपडा प्रयोग गर्दा प्रेसर, एलर्जी, सुगरका बिरामीलाई फाइदा पुग्छ ।

‘कपडा टिकाउ हुन्छ, केमिकल प्रयोग नहुने भएकाले स्वास्थ्यलाईपनि फाइदा गर्छ’, उनी भन्छिन्, ‘अन्य कपडा भन्दा महंगो पर्छ, तर बुझेपछि महंगो लाग्दैन ।’ अल्लोको कपडा गर्मीमा सितल र जाडोमा न्यानो हुने बताइन् ।

उद्यमशीलताको यात्रा

चित्रकलीले १० वषकै उमेरमा अल्लोबाट कछाड र भांग्रा बनाउन आमाबाट सिकेकी थिइन् । उनका अनुसार मगर समुदायमा त्यो बेला कछाड–भांग्रा बनाउन केटीले जानेको हुनुपर्ने चलन थियो ।

‘विहेपछि श्रीमानलाई कछाड–भांग्रा कम्मर तानमा बुनिदिनुपर्ने चलन थियो’, उनी भन्छिन, ‘त्यही भएर आमाले सिकाउनुभयो, सीपलाई मैले व्यवसायीकता बनाउने प्रयास गरेँ ।’ सानैमा गाइवस्तु चराउने, खेतबारीबाट फर्केपछिको फुर्सदको समयमा कम्मर तानमा उनले एउटा भांग्रा बनाउन ५ दिनसम्म लगाएकी थिइन् ।

सानैको सीपले उनलाई आयआर्जन गर्न सघाएको छ । २०५७ तिर अल्लोको धागो कारोबार गरेकी उनले २०६२ मा लघु उद्यम कार्यक्रमबाट कपडा बुन्ने तालिम लिइन् । २०६३ मा उद्योगनै दर्ता गरिन् । डेढ लाख लगानीमा खुलेको उद्योगमा अहिले ३५ लाख हाराहारीको लगानी छ । ‘कैयन वर्ष कुम्ला बोकेर मेला–महोत्सवमा जान्थ्यौँ, व्यापार थिएन, जहिल्यै खर्च थपिन्थ्यो’ उनी भन्छिन, ‘आजकल अल्लोको कपडाको माग बढ्दैछ ।’

उद्योगका व्यवस्थापक खिमबहादुर बुढामगर मंसीरदेखि माघसम्म अल्लोबाट धागो निकालिने बताउँछन् । ‘कलिला बिरुवाबाट बोक्रा निकाल्दा बिरुवा मर्न सक्छन्, त्यही भएर हुर्केर फल पाकेपछि बोक्रा निकाल्छौँ’, उनी भन्छन्, ‘खर जस्तै हो, १ वर्षमा उपयोग नगरे बिरुवानै खेर जान्छ, फल पाकेर झरेपछि फेरी त्यही उम्रिन्छ ।’

हिउँ नपर्ने ठाउँमा वनमाराका कारण हुर्किन नपाएकाले वनमाराबाट बिक्रेट बनाएर अल्लो हुर्काउनुपर्नेमा जोड दिन्छन् । उनीहरुले अंशवण्डाको ९ रोपनीमा अल्लो खेती गरेका छन् । अल्लो संकलनका लागि राजश्व तिरेर अनुमति लिने गरेको उनले बताए ।

‘स्थानीय उत्पादन प्रर्वद्धनमा सबैको साथ चाहिदो रहेछ’, उनी भन्छन्, ‘खेती विस्तार र यान्त्रीकरण विना निर्यात बढाउन कठिन छ ।’ उनी अल्लोको कपडालाई अझैपनि चिनोको वस्तु मानिएकोमा दुखी छन् । ‘यतिधेरै मिहेनत गरेका कपडालाई चिनो दिने–लिने वस्तुमात्रै ठानिनुहुदैन’, उनी भन्छन्, ‘अन्य पहिरनजस्तै अल्लोका कपडाको खपत हुनुपर्छ, स्थानीय उत्पादन प्रयोग बढाउनुपर्छ ।’

प्युठानको नौ बहिनी गाउँपालिका ४४ जना जनप्रतिनिधिले पोशाक स्वरुप अल्लोको कोटनै लगाइरहेकोमा उनी खुशी छन् ।

‘जनप्रतिनिधिले चिनाउने गरी अल्लोको कोट लगाउँदा खुशी छौँ’, उनी भन्छन्, ‘स्कुल, संघसंस्थाका पोशाक पनि अल्लोलाई बनाउन सके दुर्गम भेगका धेरै समुदाय आत्मनिर्भर बन्ने थिए ।’

अल्लोका तयारी पोशाक विदेशमा राम्रो माग भएपनि स्वदेशभित्रै सन्तोषजनक खपत नरहेको उनी बताउँछन् । उनीहरुका सबै परिवारनै अल्लोको कपडाको पेशामा सक्रिय छन् । पिमा रानामगर ६ वर्षयता तानमा अल्लोका कपडा बुन्ने गर्छिन् । उनका अनुसार दिनमा ५ मिटरसम्म कपडा तयार हुनेगर्छ । तान मेसीनमा धागो राख्न, बुन्न कम्तिमा २ जना लाग्छन् ।

‘काम सजिलो छैन, मिहेनत धेरै हुन्छ’, उनी भन्छिन्, ‘अत्याधुनिक तान मेसीन हुने भए धेरै काम पनि हुन्थ्यो, लागत पनि घट्थ्यो ।’ अल्लोको टोपीलाई ५ सय देखि ७ सय, क्यापटोपीलाई ७ सयदेखि १२ सयसम्म, झोला ५ सयदेखि २५ सयसम्म, पर्सलाई ३ सयदेखि १२ सयसम्म रुपैयाँ पर्छ । यस्तै आस्कोटलाई ३५ सयदेखि ४५ सयसम्म, जुहारी कोटलाई ४५ सयदेखि ५५ सयसम्म, फुलकोटलाई ८५ सयदेखि ९ हजारसम्ममा बेच्दै आइरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *