किराँत समुदायको मुख्य पर्व उधौली आज मनाइँदै, राष्ट्रपतिद्वारा शुभकामना – Nepal Press

किराँत समुदायको मुख्य पर्व उधौली आज मनाइँदै, राष्ट्रपतिद्वारा शुभकामना

काठमाडौं । किराँत समुदायले आफ्नो मुख्य पर्वका रुपमा आज उधौली मनाउँदैछन् । खेतमा अन्नबाली पाकेपछि आफ्नो इष्ट देवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने मंसिर शुल्क पूर्णिमाको यो दिनलाई याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बुहरूले चासोक तङ्नाम भन्छन् ।

मंसिर शुक्ल पूर्णिमाका दिन उधौली पर्व मनाउने किराँत समुदायले बाली लगाउने बेला अर्थात वैशाख शुक्ल पूर्णिमाका दिन उभौली पर्व मनाउने चलन छ ।

आज भूमि पूजाका लागि बिहानैदेखि किँरात महिला तथा पुरुषहरू जातीय भेषभूषामा सजिएर च्याब्रुङ ढोल झ्याम्टासहित बाजाको तालमा नाच्दै पर्व मनाउने ठाउँमा पुग्छन् । पर्व र रीतिरिवाज एउटै भए पनि आ-आफ्नो भाषाअनुसार पर्वलाई पुकार्ने चलन छ ।

वैशाख पूर्णिमामा उभौली बाली लगाउनुअघि भूमिको पूजा गर्नुपर्ने सन्दर्भसँग जोडिएको छ भने आजको उधौली बाली उत्पादन गरिदिएकोमा भूमिप्रति कृतज्ञता ज्ञापन गर्ने सन्दर्भसँग जोडिएको मानिन्छ ।

यस्तै उधौली-उभौलीले ऋतु परिवर्तन र पर्यावरण अनुकुलता अनुरुपका कामका रुपमा समेत लिने गरिन्छ ।

आजै धानकाे पूजा गरी मनाइने धान्य पूर्णिमा र नेवार समुदायले याेमरी पुन्हि पनि मनाउँदैछन् ।  सरकारले पर्व मनाइने मुख्य स्थानहरुमा सावर्जनिक विदा दिएकाे छ ।

राष्ट्रपतिबाट शुभकामना

राष्ट्रपति विद्यादेवी भण्डारीले किराँत समुदायको महान् पर्व उधौलीका उपलक्ष्यमा शुभकामना सन्देश जारी गरेकी छन् । राष्ट्रपतिको सन्देशमा किराँत समुदायका मूलतः राई, लिम्बु, सुनुवार र याख्खाहरूको महान् चाड उधौली पर्व हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनबाट सुरु भई १५ दिनसम्म विभिन्न कार्यक्रमसहित मनाउने पर्वको महत्व र गरिमाबारे उल्लेख गरिएको छ ।

हिउँद सुरु भएपछि जाडो छल्न मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकबाट उँधो अर्थात् बेसीतिर बसाइँ सर्ने समयमा मनाइने उधौली पर्वका अवसरमा भित्र्याइएको नयाँ अन्नबाली पितृलाई चढाई पितृपूजा गरिनुका साथै राम्रो फसलका लागि भूमिप्रति आभार व्यक्त गर्दै अन्नको सह बसोस् भन्ने कामनासहित भूमिको पूजा गर्ने गरिन्छ ।

‘ऋतु परिवर्तनको प्राकृतिक चक्र सँगसँगै आफ्नो जीवन चर्यालाई एकाकार बनाउन अभ्यस्त प्रकृति र पितृपूजक किराँत समुदायको यो चाडले हाम्रो मौलिक सांस्कृतिक परम्परालाई समृद्ध तुल्याएको छ, यस उधौली पर्वले मानव जीवन र प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्दै मानव जातिको अस्तित्वको निरन्तरताका लागि प्रकृति र वातावरणको संरक्षण अपरिहार्य रहेको सन्देशसमेत दिएको छ भन्ने मलाई लागेको छ,’ सन्देशमा भनिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर