मेरो स्पष्टीकरण
म एलिसा पौड्याल, समाजशास्त्र केन्द्रीय विभाग त्रिभुवन विश्वविद्यालयकाे विद्यार्थी । अहिले भन्नुपर्दा ४७ औं दिक्षान्त समारोहमा सुमन रिजाल पदकका लागि छनौट भएकी विद्यार्थी, जुन पदक समाजशास्त्र/मानवशास्त्रमा सर्वप्रथम भएका विद्यार्थीलाई दिइने गरिन्छ।
मङ्सिर २८ गतेको गोरखापत्रमा मेरो नाम सो पदकका लागि प्रकाशित भएको खवर बेलुका साथीमार्फत् थाहा पाएँ। यो मेरो लागि खुसीको कुरा थियो। जो कुनै विद्यार्थीको सपना हुन्छ, पढाइमा उच्च स्थान हासिल गर्ने। मैले पनि सपना देखेकी थिएँ, आफ्नो सपनालाई भेट्न रातदिन मेहनत गरेकी थिएँ। गोरखापत्रमा नाम प्रकाशित भएसँगै ममाथि नातावादका आधारमा कसैले काखी च्यापेर सफलताको सिँढी चढाएको आरोप आइलाग्यो । कारण मसँगै पढेका मेरो साथी आमिर राजाको सिजिपिए ३.९४ थियो भने मेरो सिजिपिए ३.९३ थियाे।
मैले अवार्ड मलाई दिइयोस् भनेर कतै निवेदन दिएकी थिइनँ । कसैको सोर्सफोर्स लगाएकी थिइनँ। म विद्यार्थी हुँ र विद्यार्थी भएरै दिक्षान्त समारोहको लागि अनलाइन फर्म भर्न लगाएकी थिएँ । त्यसको लागि चाहिने डकुमेन्टहरु बुझाएकी थिएँ। यसर्थ गोरखापत्रमा मेरो नाम निस्किनुसँग मेरो कुनै नातागत, कृपागत, राजनीतिक कुनै सम्बन्ध छैन। यो मात्र विश्वविद्यालय र विद्यार्थीको सम्बन्ध हो।
समाजशास्त्रमा पहिलो सेमेस्टरमा ३.९४ ल्याउँदै म प्रथम भएकी थिएँ । त्रिवि समाजशास्त्र विभागले ‘Erasmus Programme’ को लागि समाजशास्त्रको पहिलो सेमेस्टरमा प्रथम हुने विद्यार्थीलाई एक सेमेस्टरका लागि जर्मनी पढ्न पढाउँथ्यो । मेरो पालामा थर्ड सेमेस्टरको रिजल्ट आइसकेपछि त्यो प्रोग्राम आयो । तत्कालीन डिपार्टमेन्ट हेड डा. टिकाराम गौतमले आमिर र म दुवैलाई कसको जिपिए बढी छ अहिलेसम्ममा ? भनेर सोध्नुभएको थियो । जसको जवाफमा आमिरले एलिसाले थोरै पोइन्टले मलाई जितेकी छिन् भन्ने जवाफ दिनुभयो । सो अनुसार नै मैले ‘एरास्मस ग्रान्ट’ पाएर फागुन २८, २०७६ मा जर्मनीको बेलिफिल्ड गएकी थिएँ ।
त्रिविको नियमअनुसार अवार्डमा क्लेम गर्ने विद्यार्थीले रिजल्ट भएको ९० दिनभित्र थेसिसको भाइबा सक्नुपर्ने थियो । जर्मनी जान पाउने अवसर पाएको कारणले मैले ९० दिन नपुग्दै भाइबा सकाएकी थिएँ। स्मरण रहोस्, भाइबा थेसिस नसकिकन हुँदैन । अपूर्ण थेसिसको भाइबा गरिएको भनेर जुन फेसबुक पोस्ट र समाचारहरुमा आएको थियो, यो गलत हो । प्रमाणका लागि, समाजशास्त्र विभागमा मैले थेसिसको भाइबाका लागि बुझाएको प्रिन्ट सुरक्षित छ । हेर्न सक्नुहुन्छ ।
कोरोनाकालमा एउटा विद्यार्थीको थेसिस भाइबा गरियो, अरुलाई कोरोनाको बहानामा मौका दिइएन भन्ने जुन आरोप नाम तोकेर ममाथि र त्रिवि समाजशास्त्र विभागमाथि लगाइएको छ, त्यो आरोप झुटो हो । किनकि नेपालमा चैत ११ गतेबाट लकडाउन सुरु भएको थियो । मैले फागुनमै भाइबा सकेर जर्मनी गएकी थिएँ । कोरोनाको समय अगावै मेरो भाइवा सकिएको थियो । प्रमाणका लागि मैले डिपार्टमेन्टसँग ‘अफिसियल लेटर’ मागेकी छु । भाइबाको प्रति डिपार्टमेन्टमा सुरक्षित नै होला ।
एलिसा पदकको लायक छैन, उसको सिजिपिए गोरखापत्रमा ३.८७ र ३.९३ दुइवटा आएको छ भन्नेमा पनि मेरो ध्यान गएको छ । गोरखापत्रमा आफ्नो नाममा भएको जिपिएभन्दा कम देखेपछि म परीक्षा नियन्त्रण कार्यालयमा गएकी थिएँ । त्यहाँ रजनी महर्जन म्यामसँग कुरा गर्दा यसले फरक नपार्ने धारणा पाएपछि म दिक्षान्तको गाउन, टोपी र मेडलिस्टको पास लिएर फर्किएकी हुँ । पछि फेसबुकमा एकजना दाइमार्फत् पाएको सूचनामा आफ्नो सही सिजिपिए ३.९३ देखें ।
तपाईं मङ्सिर २८ गते प्रकाशित र पुस २ गते प्रकाशित भएको गोरखापत्रको सूचना हेर्नुस् । त्यहाँ दुइथरि सिजिपिए भएका अरु विद्यार्थी पनि छन् । म नाम लिन चाहन्न । यसर्थ यो गल्ती डिन कार्यालयको हो वा गोरखापत्रमा प्रिन्ट मिस्टेक हो मलाई थाहा हुने कुरा भएन ।
यो पनि पढ्नुहोस् :
त्रिविको जालझेल : सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थी स्वर्णपदकबाट वञ्चित
अन्नपूर्ण पोस्टमा प्रकाशित “पदकमा टियुको बदमासी” शिर्षकको न्युजमा भनिएको छ – टियु मानविकी तथा सामाजिक शास्त्र शंकायका डीन प्रा.डा. कुसुम शाक्यले भने समयमा भाइवा नबुझाएका कारण समस्या भएको बताइन्। ‘समयभित्र भाइवा नबुझाएका कारण पदकमा नपरेको हुनसक्छ । त्यहि समाचारमा भनिएको छ । मानविकी तथा समाजशास्त्रीय संकाय डीन कार्यालयले भने तीन महिना अवधिको निर्णय फेर्न नसक्ने भन्दै जिम्मेवारीबाट पञ्छियो । ३ महिनाभित्र थेसिस बुझाउन नसकेको कारण कोरोनाको समयलाई ध्यानमा राख्नुपर्ने भन्ने आशयको पत्र डिपार्टमेन्टले असोज १३ मै मेरो साथीलाइ दिइएको थियो । यसबाटै स्पस्ट हुन्छ कि पदक दाबी गरिने कुरा नभै त्रिबिको आन्तरिक निर्णयबाट दिइने कुरा हो ।
यो सबै विवादमा एलिसा पौड्यालको स्थान र भूमिका के ? पढेकै कारण, त्रिविले समयमा भाइबा गरेर पदकको लायक ठानेकै कारण मैले किन सजाय भोग्नुपर्ने ? समाचार लेख्दा एउटा पक्षको मात्र कुरा सुनेर अर्को विद्यार्थीलाई खेदो खन्ने अधिकार कसले दियो नेपालको पत्रकारिता क्षेत्रलाई ? मेरो फेसबुकमा पब्लिक गरिएको फोटोलाई समाचारमा मलाई नसोधि राख्ने अधिकार कसले दियो ‘नेपाल प्रेस’ र यसका सम्पादकलाई ?
पढेकै कारण एउटी विद्यार्थीलाई ‘टर्चर’ दिने अधिकार नेपालको पत्रकारिता क्षेत्रलाई छ ? त्रिविले पदक नदिएकोमा लडाइँ कोसँग ? एलिसा पौडेलसँग कि त्रिवि प्रशासन, व्यवस्थासँग ? मलाई जवाफ चाहियो । कसैले बताइदेओस् मास्टर्सको समाजशास्त्र सर्वोत्कृष्ट हुनुसँग एमफिलको इन्ट्रान्समा नवौं स्थानमा नाम निस्किनुको सम्बन्ध के रहेछ ? लडाइँ त्रिविसँग हो भने एलिसाको एमफिल इन्ट्रान्समा नाम नवौं स्थानमा निस्कियो भन्ने ‘लजिक’ के हो ?